जनकपुरधाम, असार ३ गते । जनकपुरधाम–८ स्थित याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयमा प्रविधिको सुरक्षित तथा जिम्मेवार प्रयोगसम्बन्धी विद्यालयस्तरीय सचेतना कार्यक्रम सम्पन्न भएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), आफन्त नेपाल जनकपुरधाम तथा जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त आयोजनामा भएको कार्यक्रममा कक्षा ८ मा अध्ययनरत ७२ जना विद्यार्थीलाई प्रविधिको सही प्रयोग, साइबर सुरक्षा तथा अनलाइन जोखिमबारे जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक संजयकुमार झाले विद्यार्थीहरूलाई प्रविधिको सदुपयोगबारे विद्यालयमै पुगेर सचेतना प्रदान गर्नु सराहनीय कार्य भएको बताउँदै आयोजक संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो।
जनकपुरधाम उपमहानगरपालिका–८ की वडा सदस्य मुन्नी दासले मोबाइल तथा सामाजिक सञ्जालको दुरुपयोगका कारण बालबालिका विभिन्न समस्यामा पर्ने गरेको उल्लेख गर्दै अभिभावक र शिक्षकहरू थप जिम्मेवार बन्नुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई अध्ययनमा केन्द्रित हुन आग्रह गर्दै प्रविधिको प्रयोगमा सचेत रहन सुझाव दिनुभयो।
जिल्ला प्रहरी कार्यालय धनुषाका वरिष्ठ प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीले साइबर अपराधसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराउँदै विद्युतीय अपराधमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताउनुभयो।
इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले बालअधिकार र प्रविधिको सदुपयोग विषयमा कार्यपत्र प्रस्तुत गर्दै प्रविधिको दुरुपयोगले समाजमा नकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभयो। उहाँले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, व्यक्तिगत सूचनाको सुरक्षा, अनलाइनमा अपनाउनुपर्ने सावधानी तथा साइबर अपराधका जोखिमबारे विद्यार्थीहरूलाई सचेत गराउनुभयो।
आफन्त नेपाल, शाखा कार्यालय धनुषाकी जिल्ला संयोजक अमृता घिमिरेले “प्रविधि र मानव बेचबिखन” विषयमा सहजीकरण गर्दै डिजिटल माध्यमबाट बढ्दै गएको मानव बेचबिखनको जोखिमबारे जानकारी दिनुभयो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले साइबर सुरक्षा, प्रविधिको सुरक्षित प्रयोग तथा अनलाइन जोखिमबाट बच्ने उपायबारे उपयोगी जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका थिए।



