जनकपुरधाम, ४ असार । मधेश प्रदेशसभा सचिवालय परिसरमा निर्माण गरिएको पुस्तकालय भवनको उद्घाटनसँगै बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
पुस्तकालय भवनको उद्घाटन गर्दै मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवले ज्ञान, अध्ययन र अनुसन्धानको प्रवद्र्धनका लागि पुस्तकालय महत्वपूर्ण माध्यम भएको बताउनुभयो । उहाँले अब प्रदेशसभा सदस्य, कर्मचारी तथा सञ्चारकर्मीहरूले पुस्तकालयका स्रोत–सामग्रीको उपयोग गर्दै अध्ययन तथा अनुसन्धान गर्न सक्ने जानकारी दिनुभयो ।
सभामुख यादवले ज्ञानलाई सबै मौसममा फल्ने अमूल्य सम्पत्तिको संज्ञा दिँदै भन्नुभयो, “ज्ञान यस्तो फल हो, जुन सधैँ फलिरहन्छ । ज्ञान आर्जनका लागि विवेक र अध्ययन आवश्यक पर्छ, र त्यसको प्रमुख आधार पुस्तकालय हो ।”

उहाँका अनुसार पुस्तकालयमा हाल १ हजार १ सय २९ वटा पुस्तक सङ्कलन गरिएको छ । आगामी दिनमा पुस्तकहरूको संख्या थप विस्तार गरिनेछ । पुस्तकालयमा राजनीति, संविधान, संङ्घ तथा प्रदेशका कानुन, नियमावली, कार्यविधि, धार्मिक तथा ऐतिहासिक विषयवस्तु, सर्वोच्च अदालतका नजिर, कथा, कविता तथा अंग्रेजी भाषाका विभिन्न पुस्तकहरू उपलब्ध छन् ।
सभामुख यादवले पुस्तकालयले प्रदेशसभा सदस्य, सचिवालयका कर्मचारी तथा अनुसन्धानमा रुचि राख्ने व्यक्तिहरूलाई आवश्यक अध्ययन सामग्री उपलब्ध गराउँदै ज्ञान र सूचनामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री सुरिता साहले पुस्तकालय स्थापनाले अध्ययन, अनुसन्धान तथा संसदीय गतिविधिलाई थप प्रभावकारी र परिणाममुखी बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो।
उद्घाटन कार्यक्रममा उपसभामुख बबिता राउत ईश्वर, प्रदेशसभा सदस्यहरू, सचिवालयका कर्मचारी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



