जनकपुरधाम, १० असार । मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास तत्माले दलित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
दलित समुदायको हक, अधिकार, सशक्तीकरण तथा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दलित सशक्तीकरण तथा जागरण अभियानलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले समाजमा अझै विद्यमान विभेद, छुवाछुत तथा असमानताको अन्त्य गरी सबै नागरिकलाई समान अवसर सुनिश्चित गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । दलित समुदायको समग्र उत्थानका लागि राज्यका सबै निकाय, राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला पक्षबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उहाँले औल्याउनुभयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, युवा तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले दलित समुदायमाथि हुने विभेद र सामाजिक बहिष्करण अन्त्य गर्न व्यापक जनचेतना आवश्यक रहेकोमा जोड दिएका थिए।
अभियानअन्तर्गत सामाजिक जागरण, संवैधानिक अधिकार, शिक्षा, रोजगारी, आत्मनिर्भरता तथा समावेशी विकासका विषयमा छलफल गरिएको थियो। वक्ताहरूले दलित समुदायको सम्मानजनक जीवनयापन, समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्न सबै पक्षले साझा जिम्मेवारीका साथ काम गर्नुपर्ने बताएका थिए।
सहभागीहरूले यस्ता अभियानले दलित समुदायमा आत्मविश्वास वृद्धि गर्नुका साथै अधिकारप्रति सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।



