जनकपुरधाम, ११ असार । धनुषाको कमला नगरपालिका–६ सखुवा मरानमा देवनको घरदेखि विद्यालयसम्म निर्माण हुने आरसीसी सडक ढलान योजनाको शिलान्यास गरिएको छ ।
मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास तत्माले एक समारोहबीच सडक निर्माण योजनाको शिलान्यास गरेका हुन् । कार्यक्रममा स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी तथा भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री दासले सडकजस्ता आधारभूत पूर्वाधारको विकासले ग्रामीण क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताए । उनले सडक निर्माणले स्थानीयवासीको दैनिक जीवन सहज बनाउनुका साथै शिक्षा, स्वास्थ्य, कृषि तथा व्यापारिक गतिविधिलाई समेत गति दिने उल्लेख गरे ।
“विकासको आधार नै गुणस्तरीय पूर्वाधार हो । सडक निर्माण भएपछि स्थानीय नागरिकको आवागमन सहज हुनुका साथै गाउँको आर्थिक तथा सामाजिक विकासमा समेत सकारात्मक प्रभाव पर्नेछ,” मन्त्री दासले भने ।
उनले निर्माण कार्यलाई गुणस्तरीय, पारदर्शी र समयमै सम्पन्न गर्न सम्बन्धित निकाय तथा निर्माण व्यवसायीलाई निर्देशन दिँदै जनताको करबाट सञ्चालित विकास आयोजनामा कुनै पनि प्रकारको लापरवाही स्वीकार्य नहुने स्पष्ट पारे ।
मन्त्री दासले प्रदेश सरकार ग्रामीण भेगका नागरिकलाई विकासको प्रत्यक्ष अनुभूति दिलाउने उद्देश्यले सडक, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा विभिन्न योजनाहरू सञ्चालन गरिरहेको बताए ।
स्थानीयवासीका अनुसार लामो समयदेखि आवश्यक मानिएको उक्त सडक निर्माण भएपछि विद्यालय जाने विद्यार्थी, सर्वसाधारण तथा सवारी साधनको आवतजावत सहज र सुरक्षित हुनेछ । वर्षायाममा हिलो तथा जलजमावका कारण भोग्नुपरेको समस्या समेत समाधान हुने अपेक्षा गरिएको छ।
स्थानीय बासिन्दाले सडक निर्माणलाई गाउँको विकासतर्फको महत्वपूर्ण कदमका रूपमा स्वागत गर्दै निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।



