काठमाडौं, १४ साउन । सुनसरी, सिराहालगायतका क्षेत्रमा देखिएको तनावप्रति चिन्ता व्यक्त गर्दै राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संघसंस्थाले सामाजिक सद्भाव कायम राख्न र संयमित हुन अपिल गरेका छन् ।
सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिनअघि नै आपसी संवाद र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको थियो । पार्टी सभापति रवि लामिछानेले वक्तव्य जारी गर्दै सम्पूर्ण पार्टीपंक्तिलाई शान्ति र सद्भाव कायम राख्न आग्रह गरेका थिए ।
‘साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पुर्याउने गरी कुनै पनि गतिविधि नगर्न/नगराउन हामी सम्पूर्ण आमनागरिक, अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्व र सरोकारवाला पक्षमा हार्दिक अपिल गर्दछौँ,’ रास्वपाको वक्तव्यमा भनिएको थियो । सद्भावका लागि अपिल गरेका लामिछानेले बिहीबार सर्वदलीय बैठक बोलाएर बढ्दो तनाव नियन्त्रणका विषयमा दलका नेताहरूसँग छलफल गरे । त्यसपछि उनले पार्टीका सांसदहरूसँग संवाद गर्नुका साथै कोशी र मधेश प्रदेशका रास्वपा सांसद तथा विभिन्न धार्मिक संस्थाका प्रतिनिधिसँग समेत छलफल गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले पनि सुरक्षा परिषद्को बैठक बोलाएर पछिल्लो परिस्थितिबारे छलफल गरेका छन् ।
सत्तारूढ रास्वपासँगै अन्य राजनीतिक दलले पनि सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले भिडियो सन्देशमार्फत सबै पक्षलाई संयमित हुन आग्रह गरेका छन् ।
‘परिस्थिति जसरी बिग्रँदै गएको छ, तपाईँ, म र हामी प्रत्येक जिम्मेवार बन्नुपर्नेछ । हामीले संयमता गुमायौँ र धैर्यता राख्न सकेनौँ भने हामी सबैले यसको धेरै ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ,’ थापाले भनेका छन्, ‘यो बेला अफवाह होइन, उत्तेजना होइन, प्रतिशोध होइन, संयमता चाहिएको छ ।’
उपसभापति शर्माले सामाजिक सद्भाव कायम गर्नु सरकारको मात्र जिम्मेवारी नभएको बताएका छन् । ‘द्वन्द्व चर्किन नदिने जिम्मेवारी सरकारको मात्र होइन, हामी सबैको हो । सबैले ऐक्यबद्धता राखौँ,’ उनले भनेका छन्, ‘सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गरौँ ।’
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि वक्तव्यमार्फत आपसी सद्भाव कायम राख्न आग्रह गरेका छन् । जनतालाई विभाजित गरेर अवाञ्छित उद्देश्य पूरा गर्ने षड्यन्त्र हुन सक्नेतर्फ सचेत रहन आग्रह गर्दै उनले राजनीतिक दलका नेता–कार्यकर्ता, नागरिक समाज, सञ्चारकर्मी तथा आमनागरिकलाई भ्रामक प्रचारको पछि नलाग्न र सामाजिक सद्भाव तथा एकता कायम राख्न सक्रिय हुन आग्रह गरेका छन् ।
विपक्षमा रहेको नेपाली कम्युनिष्ट पार्टीले पनि मंगलबार वक्तव्य जारी गर्दै संवेदनशील अवस्थामा सबै पक्षलाई थप संयमित हुन आग्रह गरेको थियो । पार्टी प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको वक्तव्यमा थप दुर्घटना र क्षति हुन नदिन तथा सामाजिक सद्भाव र एकता कायम राख्न स्थानीय समुदायलाई आग्रह गरिएको थियो ।
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारको सर्वदलीय बैठकमा पनि सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका छन् । ‘यो राजनीतिक तिक्तता बढाउने समय होइन, राष्ट्रिय जिम्मेवारी प्रदर्शन गर्ने समय हो,’ उनले भनेका छन्, ‘घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ । सबै राजनीतिक दल, सरकार र सरोकारवाला पक्षले सामाजिक सद्भाव, शान्ति र आपसी विश्वासलाई केन्द्रमा राखेर एकजुट रूपमा अघि बढ्नुपर्छ ।’
मधेशकेन्द्रित दलहरूले पनि बिहीबार साँझ संयुक्त वक्तव्य जारी गर्दै आमनागरिकलाई संयम र धैर्य अपनाउन आग्रह गरेका छन् । महन्थ ठाकुर, राजेन्द्र महतो, सीके राउत, समिम अन्सारी र रामकुमार शर्माले संयुक्त रूपमा जारी गरेको वक्तव्यमा घटनाको छानबिन, पीडितलाई क्षतिपूर्ति तथा दोषीमाथि कारबाहीको माग गरिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले पनि छुट्टै वक्तव्यमार्फत सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि सामाजिक सञ्जालमार्फत लगातार शान्ति र सद्भाव कायम राख्न आग्रह गर्दै आएका छन् । उनले हिन्दू र मुस्लिम समुदायबीच आपसी एकता कायम हुनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पनि मंगलबार वक्तव्य जारी गर्दै हिंसा, अराजकता र साम्प्रदायिक द्वेषको राजनीति कुनै पनि रूपमा स्वीकार्य नहुने बताएका छन् ।
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले सामाजिक सद्भाव कायम राख्दै पीडितलाई न्याय, घाइतेको उपचार तथा प्रभावित क्षेत्रमा सर्वपक्षीय संवादको व्यवस्था गर्न माग गरेको छ । पार्टीका मुख्य सचिव डा. राजु थापाले विज्ञप्ति जारी गर्दै स्थानीयस्तरमा प्रभावकारी संयन्त्र निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रपति, पूर्वराष्ट्रपति र पूर्वराजाको पनि अपिल
राजनीतिक दलसँगै राष्ट्रपति, पूर्वराष्ट्रपति तथा पूर्वराजाले पनि पछिल्लो परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सदियौँदेखि कायम रहेको सामाजिक, धार्मिक तथा जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नेपालको पहिचान र परम्परा भएको बताएका छन् ।
‘यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई आग्रह गर्दछु,’ राष्ट्रपति पौडेलको वक्तव्यमा भनिएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि वर्तमान संवेदनशील परिस्थितिमा सबैलाई उच्च संयमता अपनाउन आग्रह गरेकी छन् । उनले अफवाह, घृणात्मक अभिव्यक्ति तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन आग्रह गर्दै राजनीतिक दलहरूलाई केन्द्र तथा प्रदेशस्तरमा सामाजिक सद्भाव कायम गर्न पहल लिन आग्रह गरेकी छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता बोकेको देश भएकाले यही विविधता नेपालको गौरव र पहिचान भएको उल्लेख गर्दै उनले यसमा कसैले खलल पार्न नहुने बताएका छन् ।
‘जुनसुकै भूभागमा रहे बसेका जो कोही पनि हामी नेपाली मिलौँ । हाम्रो यही आग्रह हो । यही आजको आवश्यकता हो,’ शाहको विज्ञप्तिमा उल्लेख छ ।
प्रदेशदेखि स्थानीय तहसम्म संवाद र सद्भावका पहल
केन्द्रमा जस्तै प्रदेश, जिल्ला तथा स्थानीय तहमा पनि सामाजिक सद्भाव कायम गर्न संयुक्त वक्तव्य जारी गर्ने, सद्भाव र्याली आयोजना गर्ने तथा विभिन्न समुदायबीच संवाद गर्ने गतिविधि भइरहेका छन् ।
राजनीतिक दल, धार्मिक संस्था, नागरिक अगुवा, पेशागत संगठन तथा जातीय संस्थाहरूले आ–आफ्ना तर्फबाट वक्तव्य जारी गर्दै उत्तेजित नहुन, अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले पनि पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै शान्ति र सद्भाव कायम राख्न अपिल गरेको छ । महासंघले सामाजिक अशान्ति, झडप, हिंसा र मुठभेडले कसैको हित नगर्ने भन्दै यस्ता घटनाले सर्वसाधारणको दैनिक जीवन, उद्योग–व्यापार तथा समग्र आर्थिक गतिविधिमा गम्भीर असर पार्ने जनाएको छ ।
‘सामाजिक सद्भाव र शान्ति नै मुलुकको समृद्धि र आर्थिक विकासको पूर्वसर्त हो,’ महासंघले भनेको छ ।
नेपाल बार एसोसिएसनले पनि पूर्वी नेपाललगायतका क्षेत्रमा शान्ति बहाली चुनौतीपूर्ण बन्दै गएको भन्दै सबै पक्षलाई संयमित भएर आपसी सद्भाव र सहिष्णुताका लागि सहज वातावरण निर्माण गर्न आग्रह गरेको छ ।



