जनकपुरधामं, २१ साउन । एकीकृत भएर गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टी पुनः अलग–अलग रूपमा सञ्चालन गर्ने सहमति भएको छ । पार्टीका अध्यक्ष परिषद् सदस्य दुर्गा सोवे र सन्तोष पुरीबीच बुधबार सहमतिपत्रमा हस्ताक्षर गर्दै दुवै पक्षले स्वतन्त्र राजनीतिक यात्रा अघि बढाउने निर्णय गरेका हुन् ।
सहमतिपत्रअनुसार २०८२ मंसिर ७ गते नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, राष्ट्रिय स्वतन्त्र पार्टी (बिद्रोही समूह) तथा जन–जी समूहबीच भएको एकीकरणबाट प्रगतिशील लोकतान्त्रिक पार्टी गठन भएको थियो । तर निर्वाचनपछि उत्पन्न वैचारिक, राजनीतिक तथा संगठनात्मक मतभेदका कारण एकीकृत संरचनालाई निरन्तरता दिन कठिन भएको निष्कर्ष निकाल्दै दुवै पक्ष छुट्टाछुट्टै रूपमा अघि बढ्न सहमत भएका हुन् ।
सहमतिअनुसार हालको प्रगतिशील लोकतान्त्रिक पार्टी २०८३ साउन २० गतेदेखि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील लोकतान्त्रिक पार्टीका रूपमा अलग–अलग सञ्चालन हुनेछन् । यसका लागि आवश्यक कानुनी प्रक्रिया निर्वाचन आयोगमा अघि बढाइने उल्लेख गरिएको छ ।
सहमतिपत्रमा दुर्गा सोवेको नेतृत्वमा रहेको पक्षले पार्टीको नाम, झण्डा परिवर्तन गरी निर्वाचन आयोगमा आवश्यक प्रक्रिया पूरा गर्ने तथा सन्तोष पुरीको नेतृत्वमा रहेको पक्षले ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ नाम र ‘आँखा’ चुनाव चिह्नसहित तीन रङको झण्डा प्रयोग गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।
दुवै पक्षले आ–आफ्नो नाम, कार्यालय, विधान, संगठनात्मक संरचना, निर्वाचन चिह्न र झण्डा प्रयोग गर्दै स्वतन्त्र राजनीतिक गतिविधि सञ्चालन गर्ने सहमति गरेका छन्। एक–अर्काको नाम, लेटरप्याड, चुनाव चिह्न, झण्डा वा संगठनात्मक पहिचान प्रयोग नगर्ने पनि सहमतिमा उल्लेख छ ।
सहमतिपत्रमा एकीकृत पार्टी अवधिमा रहेका चल–अचल सम्पत्ति, आर्थिक स्रोत, बैंक मौज्दात, ऋण, दायित्व तथा अन्य वित्तीय हिसाब–किताब पारदर्शी र न्यायोचित ढंगले मिलान गरी सम्बन्धित पक्षले जिम्मेवारी बहन गर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, यो अलगावलाई विभाजन वा आपसी विरोधका रूपमा नलिई समयको आवश्यकता, वैचारिक स्वतन्त्रता र संगठनात्मक पुनर्संरचनाका रूपमा स्वीकार गर्ने सहमति भएको छ । भविष्यमा सुशासन, संविधानको संरक्षण, सामाजिक सद्भाव, राष्ट्रिय स्वाधीनता, समृद्धि र लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा आवश्यकताअनुसार सहकार्य र संवाद जारी राख्ने प्रतिबद्धता पनि दुवै पक्षले जनाएका छन् ।
सहमतिपत्रमा दुर्गा सोवे र सन्तोष पुरीका साथै दुवै पक्षका तीन–तीन जना रोहवरको समेत हस्ताक्षर रहेको छ। सहमतिपत्र २०८३ साउन २० गते हस्ताक्षर गरिएको हो ।
यता नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का पूर्व उपाध्यक्ष उमेश साहले सामाजिक सञ्जालमा पार्टी विघटन चरम स्वार्थी र पदलोलुपहरुको झुन्ड बीच प्रलोपाको गठन नै पतनको बीजारोपण भएको बताएका छन् । अपशब्द प्रयोग गर्दै अगाडि लेखेका छन ‘जनताबाट बहिष्कृत थुक्क…..’



