जनकपुरधाम, २२ साउन । नेपाल शिक्षक महासङ्घ धनुषाको आयोजनामा शुक्रबार बटेश्वर गाउँपालिकास्तरीय शिक्षकहरूको गुनासो सुनुवाइ तथा सम्बोधन कार्यक्रम सम्पन्न भएको छ।
नेपाल शिक्षक संघ बटेश्वर गाउँपालिका अध्यक्ष रामदुलार महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल शिक्षक संघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष मेघनाथ यादवले शिक्षकलाई राज्यका तीनै तहका सरकारले निरन्तर उपेक्षा गरेको आरोप लगाए।
उनले शिक्षक महासङ्घले शिक्षकहरूको हकहितका लागि महिनौँसम्म सडक आन्दोलन गरेको स्मरण गराउँदै सरकारले शिक्षकले पाउँदै आएका सुविधासमेत कटौती गर्न खोजेको तथा शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित भदौमा पुनः आन्दोलनको घोषणा गरिएको बताए।
यादवले बटेश्वर गाउँपालिकाले संघीय सरकारको परिपत्र र निर्णयविपरीत आइतबार पनि विद्यालय सञ्चालन गरिरहेको भन्दै उक्त निर्णय गैरकानुनी भएको दाबी गरे। उनले स्थानीय सरकारले यस विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा नेपाल शिक्षक महासङ्घ धनुषाका अध्यक्ष सुरेश कुमार यादवले संघीय सरकारको निर्देशनविपरीत बटेश्वर गाउँपालिकामा आइतबार सार्वजनिक बिदा लागू नगरिएकाले महासङ्घले यसको कार्यान्वयनका लागि पहल गर्ने बताए। उनले पालिकाले आइतबारको बिदा घोषणा नगरे कानुनी जटिलता उत्पन्न हुन सक्ने चेतावनी दिए।
महासङ्घ धनुषाका सहअध्यक्ष प्रमोद शरण केवटले शिक्षकहरूको पेशागत हकहितका लागि आफूहरू निरन्तर सक्रिय रहेको बताउँदै शिक्षकबीच आपसी समझदारी कायम हुनुपर्ने र आइतबारको बिदा कार्यान्वयन हुनुपर्नेमा जोड दिए।

नेपाल शिक्षक संघ धनुषाका अर्थ सचिव रामचन्द्र महतोले पालिकाले आइतबारको बिदा लागू नगरे विद्यालय बन्द गरी पालिकामा धर्ना बस्न बाध्य हुने चेतावनी दिए। उनले शिक्षकहरूको हकहितका लागि आफूहरू सधैं अग्रपङ्क्तिमा रहने बताए।
कार्यक्रममा सहभागी शिक्षकहरूले बटेश्वर गाउँपालिकाले बालविकास सहजकर्ता र कार्यालय सहयोगीलाई संघीय सरकारको निर्देशनविपरीत मासिक दुई हजार रुपैयाँ कम निकासा गर्दै आएको गुनासो गरेका थिए।
उनीहरूले पालिका अधिवेशनलगायतका कार्यक्रममा शिक्षकलाई सहभागी नगराइने, शिक्षकलाई कर्मचारीसरह व्यवहार नगरिने, शिक्षा क्षेत्रमा पर्याप्त लगानी नगर्ने तथा राजनीतिक पहुँचका आधारमा विद्यालयबीच विभेद गर्ने गरेको आरोप पनि लगाए।
कार्यक्रमले आइतबार सार्वजनिक बिदा कार्यान्वयनको माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा आइतबार गाउँपालिकामा ज्ञापनपत्र बुझाउने सर्वसम्मत निर्णय गरेको छ। साथै, आइतबारको बिदा घोषणा नगरिए धर्नालगायत थप आन्दोलनका कार्यक्रम सञ्चालन गरिने चेतावनी पनि दिइएको छ।
ज्ञापनपत्रमार्फत बालविकास सहजकर्ता र कार्यालय सहयोगीलाई संघीय सरकारको निर्णयबमोजिम उपलब्ध गराउनुपर्ने सम्पूर्ण रकम निकासा गर्न माग गरिने नेपाल शिक्षक संघ बटेश्वर गाउँपालिका अध्यक्ष रामदुलार महतोले जानकारी दिए।
शिक्षक दीपेन्द्र सिंहले सहजीकरण गरेको कार्यक्रममा बटेश्वर गाउँपालिकाका १६ वटै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, शिक्षिका तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।



