जनकपुरधाम, २८ साउन । युवाको सीप विकास, उद्यमशीलता प्रवद्र्धन तथा आर्थिक सशक्तीकरणमा केन्द्रित ‘युथ इकोनोमिक इम्पावरमेन्ट प्रोजेक्ट–२ (वाईईईपी–२)’ को सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सबैला नगरपालिकाका नगरप्रमुख करिराम यादवले परियोजनाबाट प्रदान गरिएको सीपमूलक तालिम युवाका लागि उपयोगी रहेको बताउनुभयो । उहाँले सिकेको सीपलाई निरन्तर अभ्यास र प्रयोगमार्फत आयआर्जनसँग जोड्न युवालाई आग्रह गर्नुभयो ।
त्यसैगरी, शहीदनगर नगरपालिकाका उपप्रमुखले परियोजनाले युवालाई उद्यम, व्यवसाय र आम्दानीमूलक गतिविधिसँग जोड्न महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो । परियोजनाका गतिविधिले युवामा सकारात्मक सोच र जिम्मेवारीबोधको विकास हुनुका साथै कुलत, बहुविवाह र बालविवाहजस्ता सामाजिक विकृतिलाई निरुत्साहित गर्न समेत सहयोग पुगेको उहाँको भनाइ थियो ।
परियोजनाबाट प्राप्त उपलब्धि, लाभग्राही युवाको आर्थिक अवस्थामा आएको परिवर्तन तथा परिवार र समाजमा परेको सकारात्मक प्रभावबारे समीक्षा र अन्तरक्रिया गरिएको थियो ।
परियोजना अन्तर्गत ७० जना युवा–युवती विभिन्न व्यावसायिक सीप तथा उद्यमशीलता विकास कार्यक्रमबाट लाभान्वित भएका छन् । तीमध्ये ७२ प्रतिशत महिला रहेका छन् भने तीन जना अपाङ्गता भएका युवा पनि सहभागी भएका थिए । परियोजनाले युवालाई सीप, रोजगारी र स्वरोजगारका अवसरसँग जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
परियोजनाअन्तर्गत सहभागी युवाले असिस्टेन्ट ब्युटिसियन, फेसन डिजाइन, हेभी इक्विपमेन्ट अपरेटर, असिस्टेन्ट अकाउन्टेन्ट, एसी मेकानिक तथा बिक्री, बजारीकरण र व्यवसाय विकाससम्बन्धी व्यावसायिक तालिम प्राप्त गरेका छन् ।
त्यसैगरी, व्यवसाय सञ्चालन तथा विस्तारका लागि १६ जना सहभागीलाई ४० हजारदेखि ५५ हजार रुपैयाँसम्म स्टार्टअप सहयोग प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागी युवाहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आम्दानी गर्न थालेको अनुभव सुनाएका थिए। केही सहभागीले आफ्नै व्यवसाय सञ्चालन गरिरहेका तथा केही व्यवसाय सुरु गर्ने तयारीमा रहेको बताएका छन् । तालिमले आफूहरूको आत्मविश्वास बढाउनुका साथै आर्थिक रूपमा आत्मनिर्भर बन्न महत्वपूर्ण सहयोग पुगेको उनीहरूको भनाइ थियो ।
सहभागी अभिभावकहरूले पनि तालिमपछि आफ्ना छोराछोरीको व्यवहार, जिम्मेवारीबोध र परिवारप्रतिको भूमिकामा सकारात्मक परिवर्तन आएको बताएका छन् । केही युवाले आफ्नै आम्दानीबाट परिवारको आर्थिक व्यवस्थापनमा सहयोग गर्न थालेको अभिभावकहरूको भनाइ थियो ।
कार्यक्रमको सहजीकरण गोरखापत्र दैनिकका धर्मेन्द्र झाले गर्नुभएको थियो । परियोजनाको हालसम्मको प्रगति, गतिविधि र उपलब्धिबारे परियोजना कार्यक्रम संयोजक विशालकुमार कर्णले जानकारी प्रस्तुत गर्नुभएको थियो । सहभागीबाट उठेका प्रश्न तथा जिज्ञासाको जवाफ परियोजनाका फोकल पर्सन दीपक श्रेष्ठले दिनुभएको थियो ।
कार्यक्रमको समापन गर्दै जनकी महिला जागरण समाजकी अध्यक्ष मन्दाकुमारी कर्णले परियोजना सञ्चालनका लागि सहयोग र स्वीकृति प्रदान गर्ने स्थानीय तहप्रति आभार व्यक्त गर्नुभयो। स्थानीय तहको सहयोग र सहकार्यकै कारण ७० जना युवा–युवतीलाई व्यावसायिक सीप र उद्यमशीलताको क्षेत्रमा अघि बढाउने अवसर सिर्जना भएको उहाँले बताउनुभयो।
सामाजिक लेखापरीक्षणमार्फत परियोजनाका उपलब्धि र प्रभावलाई प्रत्यक्ष लाभग्राही, अभिभावक, स्थानीय तह तथा अन्य सरोकारवालामाझ प्रस्तुत गरिएको थियो । साथै, आगामी दिनमा युवाले हासिल गरेको सीपलाई दीर्घकालीन रोजगारी, स्वरोजगार, उद्यमशीलता र आर्थिक आत्मनिर्भरतासँग प्रभावकारी रूपमा जोड्नुपर्ने आवश्यकता औँल्याइएको छ।
कार्यक्रममा सहभागीहरुबाट आएको जिज्ञासाहरुको जवाफ प्लान इन्टरनेशनल नेपालको परियोजना फोकल पर्सन दीपक श्रेष्ठले दिनु भएको थियो ।



