काठमाडौँ, १० भदौ । तिब्बततर्फबाट अचानक आएको बाढीले रसुवा र नुवाकोटमा ठूलो जनधन तथा भौतिक क्षति पु¥याएको छ। भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीमा परी हालसम्म १७ जनाको शव फेला परेको छ भने नेपाल प्रहरीका २६ जना सम्पर्कविहीन छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, उपचार तथा राहत कार्य तीव्र पारिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार तीनमुरे, स्याफ्रुबेँसी, मैलुङ र रसुवागढीमा कार्यरत २६ जना प्रहरीको अवस्था अज्ञात छ। उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकायले आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गरेको छ।
बाढीले विशेषगरी टिमुरे, स्याफ्रुबेँसी र रसुवागढी क्षेत्रमा ठूलो क्षति पु¥याएको छ। स्थानीय जनप्रतिनिधिका अनुसार टिमुरे बजारका धेरै घर तथा संरचना बगेका छन्। सञ्चार सम्पर्क विच्छेद भएकाले प्रभावित क्षेत्रका नागरिकको अवस्था र क्षतिको पूर्ण विवरण संकलनमा कठिनाइ भइरहेको छ।
गोसाइँकुण्ड गाउँपालिका–२ का वडासदस्य पेमा दोर्जे घलेका अनुसार बिहान करिब साढे ८ बजे ठूलो आवाजसहित आएको बाढीले केही क्षणमै टिमुरे बजारमा ठूलो क्षति पु¥याएको थियो। बजारमा सयभन्दा बढी घर तथा अन्य संरचना रहेकामा धेरैजसो बाढीको चपेटामा परेको हुनसक्ने उनले बताए। ज्यान जोगाएका स्थानीय डाँडातर्फ आश्रय लिएर बसेका छन् भने उनीहरूलाई खानेपानी, खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीको आवश्यकता परेको छ।

गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेका वडाध्यक्ष दावा सिदार वाइबाले धुन्चेबाट स्याफ्रुबेँसी हुँदै टिमुरेसम्म सञ्चार सम्पर्क हुन नसकेको जानकारी दिए। टेलिफोन टावरलगायत सञ्चार संरचनामा क्षति पुगेका कारण प्रभावित क्षेत्रमा रहेका नागरिकको अवस्थाबारे तत्काल जानकारी लिन कठिन भएको उनले बताए।
रसुवागढी भन्सार र सुरक्षाकर्मी प्रभावित
बाढीले रसुवागढी भन्सार कार्यालय, यार्ड तथा आसपासका संरचनामा समेत ठूलो क्षति पु¥याएको छ। अर्थ मन्त्रालयका अनुसार भन्सार यार्डमा रहेका अधिकांश सवारीसाधन बाढीले बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ। ज्यान जोगाउन कर्मचारीहरू सुरक्षित स्थानतर्फ लागेकाले उनीहरूको अवस्थाबारे विवरण संकलनमा समय लागेको मन्त्रालयले जनाएको छ।
रसुवागढी भन्सारमा ३६ जनाको दरबन्दी रहेकामा दुई जना कर्मचारी बिदामा रहेको र बाँकी कर्मचारीको अवस्थाबारे विवरण संकलन भइरहेको जनाइएको छ।
बाढीले इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याफ्रुबेँसी र प्रहरी चौकी रसुवागढीमा समेत क्षति पु¥याएको छ। त्यहाँ कार्यरत प्रहरी कर्मचारीको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ। सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीतर्फका नौ जना पनि सम्पर्कविहीन रहेको जनाइएको छ।
३८४ पर्यटक सम्पर्कविहीन
बाढीपछि विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड तथा कैलाश मानसरोवर यात्रामा गएका ३८४ पर्यटक सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ। बोर्डका अनुसार सम्पर्कविहीनमध्ये २९१ विदेशी र ९३ नेपाली पर्यटक छन्।
बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरका अनुसार सम्राट टुर्स एण्ड ट्राभलमार्फत गएका ७१, काठमाडौँ होलिडे टुर्स एण्ड ट्राभलका १७, लिफ होलिडेका ५५, कैलाश जर्नीका ३१, एक्सप्लोर भ्याकेशनका सात र ट्रेकर सोसाइटीमार्फत गएका ९२ जना सम्पर्कविहीन छन्।
त्यस्तै, रिचा टुर्स एण्ड ट्राभलका १२, फिस्टेल टुर्स एण्ड ट्राभलका २७, हिमालयन ग्लेसियरका ५२ र अल्पाइन इको ट्रेकमार्फत गएका २० जना पर्यटक पनि सम्पर्कविहीन रहेको बोर्डले जनाएको छ।

उनीहरूको अवस्था पत्ता लगाउन पर्यटन प्रहरी, स्थानीय प्रशासन तथा अन्य सुरक्षा निकाय परिचालन गरिएको छ। पर्यटन बोर्डले आवश्यक जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन ११४४ तथा पर्यटन प्रहरीको ९८५१२८९४४५ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।
१९ भन्दा बढी पुल र ४० किलोमिटर सडकमा क्षति
बाढीका कारण त्रिशूली नदीमाथिका १९ भन्दा बढी पुलमा क्षति पुगेको सडक विभागले जनाएको छ। विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार चीनतर्फको सीमाबाट आएको बाढीले करिब ४० किलोमिटर सडकसमेत अवरुद्ध भएको छ।
बाढी प्रभावित क्षेत्रमा सडक खुलाउन तथा उद्धार कार्यमा सहयोग पु¥याउन आवश्यक मेसिन तथा उपकरण परिचालन गरिएको विभागले जनाएको छ। पुल र सडकमा क्षति पुगेका कारण प्रभावित क्षेत्रमा स्थलगत उद्धार तथा राहत सामग्री पु¥याउन चुनौती देखिएको छ।
नुवाकोटसम्म फैलियो प्रभाव
रसुवाबाट तल्लो तटीय क्षेत्रमा आएको बाढीले नुवाकोटका विभिन्न स्थानमा समेत क्षति पु¥याएको छ। विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठका अनुसार प्रारम्भिक विवरणमा वेत्रावती बजारमा ठूलो क्षति पुगेको छ। त्रिशूली बजार र देवीघाट क्षेत्रमा पनि बाढीको असर परेको छ भने सेन्ट्रल जेलसमेत डुबानमा परेको छ।
बाढीको प्रभाव धादिङतर्फसमेत पर्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
जलविद्युत् तथा विद्युत् संरचनामा क्षति
बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजना तथा विद्युत् प्रसारण संरचनामा समेत क्षति पु¥याएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। रसुवागढी जलविद्युत् आयोजना, चिलिमे जलविद्युत् केन्द्र, त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबअन्तर्गतको २२० केभी सबस्टेसनमा असर परेको छ। त्रिशूली र देवीघाट जलविद्युत् केन्द्र तथा विद्युत् वितरणसँग सम्बन्धित संरचनामा समेत क्षति पुगेपछि रसुवा, नुवाकोट र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ। सेवा नियमित गर्न प्राविधिक टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
उद्धारमा सेना, प्रहरी र ड्रोन परिचालन
उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालले जनशक्ति तथा आवश्यक स्रोतसाधन परिचालन गरेका छन्। नेपाली सेनाले काठमाडौंस्थित आधार क्षेत्रबाट एआई–१७ हेलिकप्टरमार्फत आपत्कालीन चिकित्सकीय उद्धार टोली प्रभावित क्षेत्रमा पठाएको छ। धुन्चे र त्रिशूलीबाट पनि उद्धार टोली परिचालन गरिएको छ।
बाढीमा फसेका तथा सम्पर्कविहीन नागरिकको अवस्थाबारे जानकारी लिन सशस्त्र प्रहरीले ड्रोन प्रयोग गरिरहेको छ। ड्रोनबाट प्रभावित क्षेत्रको अवस्थाको निरीक्षण तथा क्षतिको प्रारम्भिक मूल्याङ्कनसमेत भइरहेको छ।
रसुवागढी भन्सार तथा यार्ड क्षेत्रमा बाढी र पहिरोमा पुरिएका व्यक्तिको खोजीका लागि विशेष उद्धार टोली परिचालन गरिएको छ। जोखिमयुक्त तथा भग्नावशेषयुक्त क्षेत्रमा सम्भावित रूपमा पुरिएका व्यक्तिको खोजी तथा पहिचानलाई प्राथमिकता दिइएको छ।
गम्भीर घाइतेको उपचारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीसहितको टोली प्रभावित क्षेत्रमा खटाइएको छ। आपत्कालीन सडक उद्धारका लागि ‘मास क्याजुअल्टी भेइकल्स’ सहितको मेडिकल उद्धार टोली तयारी अवस्थामा राखिएको छ। आवश्यकताअनुसार देशका अन्य स्थानमा रहेका डिजास्टर रिलिफ सिस्टम (डीआरएस) कन्टेनरसमेत प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाइएको छ।
निजी हेलिकप्टर परिचालनमा सहजीकरण
सरकारले उद्धार कार्यलाई तीव्र बनाउन आवश्यकताअनुसार निजी हेलिकप्टर परिचालनमा सहजीकरण गर्ने निर्णय गरेको छ। तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ। सम्भावित उद्धार तथा राहतका लागि हेलिकप्टरलाई तयारी अवस्थामा राख्नसमेत भनिएको छ।

जोखिम अझै कायमै
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी अत्यन्तै अप्रत्याशित रूपमा आएको हो। नेपाली भूभागमा ठूलो वर्षा नभए पनि तिब्बततर्फबाट आएको पानीका कारण भोटेकोशीमा अचानक ठूलो बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ।
नदी थुनिएको स्थानमा पानीको ताल अझै पूर्ण रूपमा नभरिएको भन्दै भोटेकोशी र त्रिशूली नदी आसपासका तटीय क्षेत्रमा जोखिम कायमै रहेको जनाइएको छ। अर्को सूचना जारी नभएसम्म नदी तथा खोलाको किनारबाट टाढा सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई आग्रह गरिएको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसम्मका नदी तथा खोलाका तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। सञ्चार तथा सडक संरचना अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा उद्धार टोली पुगेर स्थलगत निरीक्षण गरेपछि मात्रै मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण आउने अपेक्षा गरिएको छ।



