जनकपुरधाम ११ भदौ । तिब्बततर्फबाट आएको अचानकको बाढीका कारण रसुवा र नुवाकोट जिल्लामा ठूलो जनधन तथा भौतिक क्षति भएपछि मधेश प्रदेशका प्रदेशसभा सदस्य र कर्मचारीले बाढीपीडितको राहतका लागि एक दिनको तलब सहयोग गर्ने निर्णय गरेका छन् ।
मधेश प्रदेशका सभामुख रामअशिष यादवका अनुसार प्रदेशसभाका सदस्य तथा कर्मचारीको एक दिनको तलबबापत करिब २ लाख ३६ हजार ८ सय ८ रुपैयाँ राहत कोषमा जम्मा गरिनेछ । विपद्को यस कठिन घडीमा पीडित परिवारलाई सहयोग पु¥याउने उद्देश्यले प्रदेशसभा सदस्य र कर्मचारीको तर्फबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको हो ।
सभामुख यादवले प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को समयमा सम्पूर्ण नेपाली एकजुट भएर पीडितको साथमा उभिनुपर्ने बताएका छन् ।
‘घटना अत्यन्तै दुःखद र अप्रिय छ । यस्ता विपद्का बेला सम्पूर्ण नेपालीको साथ र सहयोग आवश्यक हुन्छ,’ उनले भने, ‘त्यसैले पहिलो चरणमा मधेश प्रदेशका प्रदेशसभा सदस्य तथा कर्मचारीले आफ्नो एक दिनको तलब सहयोग गर्ने निर्णय गरेका हौँ ।’
उनले विपद्को पीडामा रहेका नागरिकलाई तत्काल राहत तथा पुनःस्थापनाका लागि सबै तहका सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था तथा आम नागरिकले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्नेमा जोड दिए ।
अचानक आएको बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै घर, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ । विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटाउने क्रम जारी रहेको छ ।
मधेश प्रदेशसभा सदस्य तथा कर्मचारीबाट गरिएको यो सहयोगले विपद्का बेला प्रदेशबीचको मानवीय एकता, सहकार्य र पारस्परिक सहयोगको भावना थप बलियो बनाउने अपेक्षा गरिएको छ । हालसम्म सो घटनामा दुईसय जना शव बरामद भएको जनाइएको छ ।



