जनकपुरधाम, २० भदौ । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा गत भदौ १० गते आएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूको सम्झनामा मानव अधिकारकर्मी तथा विभिन्न सामाजिक संघसंस्थाले जनकपुरधाममा श्रद्धाञ्जली सभा आयोजना गरेका छन् ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलको अध्यक्षतामा आयोजित सभालाई सम्बोधन गर्दै मधेश प्रदेशका सभामुख रामअशिष यादवले मुलुक अहिले प्राकृतिक विपद्को गम्भीर संकटमा रहेको भन्दै पीडितको उद्धार, राहत र पुनःस्थापनामा सबैले मानवीय दायित्व निर्वाह गर्नुपर्ने बताए ।
“यो संकटको घडी हो । बाढीपहिरोबाट प्रभावित नागरिकलाई हाम्रो साथ र सहयोग आवश्यक छ,” उनले भने, “उद्धार र राहतका लागि हामी सबै मिलेर हातेमालो गर्नुपर्छ ।”
मृतकहरूको सम्झनामा दीप प्रज्वलन गर्दै सभामुख यादवले विपद्का बेला मानव अधिकारकर्मी तथा सामाजिक संघसंस्थाले सक्रियतापूर्वक मानवीय सेवा गरिरहेको उल्लेख गरे । उनले विपद्पीडितको सहयोगमा भइरहेको यस्तो मानवीय अभियानलाई निरन्तरता दिन आग्रह गरे ।
श्रद्धाञ्जली सभामा राष्ट्रिय मानव अधिकार आयोगका बुद्धनारायण सहनी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का राजु पासमान, आफन्त नेपालकी अमृता घिमिरेलगायत मानव अधिकारकर्मी तथा इम्नेष्टी, कायापलटसहित विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
भोटेकोशी बाढी तथा त्यसपछिको बाढीपहिरोमा परी हालसम्म १ हजार २५० जनाको मृत्यु भएको जनाइएको छ । मधेश प्रदेशका मात्रै १६२ जना अझै सम्पर्कविहीन रहेको बताइएको छ ।



