कैलास दास ।
मालती (परिवर्तित नाम) १७ वर्षकी हुँदा बलात्कारको सिकार भइन् । जन्मिएको एक वर्ष नपुग्दै आमाले उनलाई छाडेर अर्कैसँग गइन् । वैदेशिक रोजगारीका क्रममा बुवाको मृत्यु भयो । न आमाको नागरिकता छ, न बुवाको मृत्यु दर्ताको प्रमाणपत्र । विडम्बना, बलात्कारजस्तो जघन्य अपराधको पीडा भोगेकी उनी अहिले अदालतबाट पाएको न्यायको लाभ लिनसमेत असमर्थ छिन् ।
बुवाको विदेशमा मृत्यु भएपछि आमाले उनलाई छाडेर अर्कै व्यक्तिसँग गइन् । त्यसपछि फुपूले उनको पालनपोषण गरिन् । उमेर बढ्दै जाँदा आफ्नो पेट पाल्न आफैँ काम गर्नुपर्ने बाध्यता आइलाग्यो । फुपूले गाउँनजिकै रहेको एउटा कारखानामा काम लगाइदिए । उनी त्यहीँ मजदुरी गरेर जसोतसो जीवन गुजार्न थालिन् ।
तर गरिबी र असहायताले थिचिएको उनको जीवनमा अर्को भयावह घटना थपियो । राम्रो काम लगाइदिने प्रलोभन देखाएर स्थानीय एक व्यक्तिले उनलाई आफ्नो जालमा पारे । हातखुट्टा बाँधेर विद्युतको करेन्ट लगाउँदै बलात्कार गरेको घटनाले उनको जीवन नै बदलिदियो । प्रतिकारका क्रममा उनका हातका दुईवटा औँलासमेत काट्नुप¥यो । त्यसपछि सामान्य काम गर्नसमेत उनलाई कठिन हुन थालेको छ ।
यो घटना महोत्तरीको रामगोपालपुर नगरपालिका–३, दोलाठीको हो । अहिले मालती १८ वर्षकी भइसकेकी छन् । उनलाई बलात्कार गर्ने व्यक्ति पक्राउ परे । मुद्दा अदालतसम्म पुग्यो र अदालतले पनि फैसला सुनायो । दोषीलाई जेल सजायसँगै पीडितलाई अढाई लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने निर्णय भयो । लामो संघर्षपछि अदालतबाट न्याय पाउँदा मालतीले आफ्नो पीडाको सुनुवाइ भएको महसुस गरिन् होला । तर उनको दुःखको अध्याय त्यतिमै समाप्त भएन ।
अदालतको फैसला भएको कैयौँ महिना बितिसक्दा पनि उनले क्षतिपूर्तिबापत पाउनुपर्ने अढाई लाख रुपैयाँ प्राप्त गर्न सकेकी छैनन् । कारण एउटै छ—उनको नागरिकता छैन ।
आफ्नो पीडाविरुद्ध न्यायिक लडाइँ लडेकी मालती अहिले आफ्नै पहिचान प्रमाणित गर्नुपर्ने अर्को कठिन संघर्षमा छिन् । नागरिकता बनाउन सबैभन्दा पहिले उनले काकालाई आग्रह गरिन् । तर काकाले सहयोग गर्न मानेनन् । त्यसपछि गाउँसमाजका अगुवासँग हारगुहार गरिन् । जनप्रतिनिधिसमक्ष पुगेर आफ्नो समस्या सुनाइन् । कतैबाट पनि अपेक्षित सहयोग पाउन सकिनन् । उनलाई नागरिकता दिलाउन आवश्यक प्रमाण जुटाएर आउन भनियो । तर प्रमाण जुटाउने बाटो देखाउने र आवश्यक सहजीकरण गर्ने जिम्मेवारी कसैले लिएन ।
आफन्तले सहयोग नगर्नुको पछाडि सम्पत्तिसम्बन्धी स्वार्थ जोडिएको आशङ्का मालतीको छ । काकाले नागरिकता बनाइदिए आफ्नो बुवाको अंशमा पर्ने सम्पत्ति उनीसँग बाँड्नुपर्ने चिन्ता गरेको हुन सक्ने उनको बुझाइ छ । यही आशङ्काले उनी आफ्नै परिवारभित्र पनि असहाय बनेकी छन् ।

अन्ततः सबैतिरबाट निराश भएपछि मालती मानव अधिकारकर्मीहरूको सम्पर्कमा पुगिन् । उनको नागरिकता प्राप्तिका लागि मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्था इन्सेकले पहल गरिरहेको छ । वडा कार्यालयबाट सिफारिससमेत भइसकेको छ । तर जिल्ला प्रशासन कार्यालय महोत्तरीमा प्रक्रिया अघि बढ्न सकेको छैन । आफन्तको सिफारिस आवश्यक परेको र काकाले सहयोग गर्न नमानेको अवस्थाले उनको नागरिकता प्राप्तिको बाटो थप कठिन बनेको छ ।
मालतीको समस्या केवल एउटा कागजको अभाव होइन । यो राज्यको नागरिकका रूपमा आफ्नो पहिचान स्थापित गर्न नपाएकी एउटी युवतीको अस्तित्व, अधिकार र सम्मानसँग जोडिएको प्रश्न हो । नागरिकता नहुँदा उनी अदालतले तोकेको क्षतिपूर्ति पाउनबाट वञ्चित छिन् । शारीरिक रूपमा अशक्त बनेपछि काम गरेर जीवन चलाउनसमेत कठिन भइरहेको छ । यस्तो अवस्थामा न्याय पाइसकेपछि पनि त्यसको लाभ लिन नसक्नु उनको पीडामाथि अर्को पीडा थपिनु हो ।
कहिलेकाहीँ उनी आफैँसँग प्रश्न गर्छिन—के गरिब परिवारमा जन्मिनु अपराध हो ? वैदेशिक रोजगारीमा रहेका बुवाको मृत्यु हुनु उनको गल्ती हो ? काखमै हुँदा आमाले छाडेर जानु उनको दोष हो ? यीमध्ये कुनै पनि घटनामा उनको कुनै भूमिका थिएन । तर तिनै परिस्थितिको मूल्य उनले आजसम्म चुकाइरहेकी छन् ।
जन्मिनु उनको अपराध थिएन । आमाबुवाको अवस्था उनको नियन्त्रणमा थिएन । तर अहिले नागरिकता नहुँदा उनी आफ्नै अधिकारका लागि अरूको मुख ताक्न बाध्य छिन् । अदालतले न्याय दिएको छ, तर त्यो न्यायको प्रतिफल प्राप्त गर्न पनि उनले अरूको सहयोग कुर्नुपरेको छ ।
मालतीको जीवनले एउटा गम्भीर प्रश्न उठाएको छ—राज्यले नागरिकलाई अधिकार दिने हो कि कागजको अभाव देखाएर अधिकारबाट वञ्चित गर्ने हो ? नागरिकता प्राप्तिको प्रक्रिया पूरा गर्न आवश्यक कानुनी प्रमाण जुटाउनु महत्त्वपूर्ण भए पनि असहाय र अभिभावकविहीन व्यक्तिको हकमा राज्यका निकायले सहजीकरण गर्नु उत्तिकै आवश्यक छ ।
त्यस रात मालतीमाथि के भएको थियो ?
रातको सन्नाटा गहिरिँदै थियो । दिनभरि काम गरेर थाकेकी मालतीका लागि त्यो पनि अरू रातजस्तै सामान्य रात हुनुपर्ने थियो । तर उनलाई के थाहा, राम्रो काम दिलाइदिने प्रलोभनबाट सुरु भएको सम्पर्कले उनको जीवनकै सबैभन्दा भयावह अनुभवको रूप लिनेछ ।
उपलब्ध प्रहरी अनुसन्धान तथा अभियोगपत्रमा उल्लेख भएअनुसार, आरोपित व्यक्तिले फोन गरेर उनलाई बोलाएका थिए । विभिन्न प्रलोभन देखाएर आफ्नो घरमा बोलाइएकी मालतीमाथि त्यहीँ जबर्जस्ती करणी गरिएको पीडितको बयानमा उल्लेख छ । घटनासम्बन्धी कागजात अनुसार, त्यो रात उनीमाथि पटकपटक जबर्जस्ती करणी भएको आरोप लगाइएको छ ।
आफ्नो शरीर र अस्मिताको रक्षा गर्न उनले प्रतिकार गर्ने प्रयास गरिन् । तर त्यो प्रतिकार नै उनका लागि थप शारीरिक पीडाको कारण बन्यो । उपलब्ध कागजातमा उल्लेखित विवरणअनुसार, विद्युतको करेन्टका कारण उनी गम्भीर रूपमा घाइते भइन् । उपचारका क्रममा उनका हातका केही औँला काट्नु प¥यो ।
उनको शरीरमा लागेको चोट देख्न सकिन्थ्यो । तर मनमा परेको चोट कति गहिरो थियो भन्ने कुरा बाहिरबाट अनुमान गर्न सहज थिएन । आफ्नै जीवनको सुरक्षाका लागि संघर्ष गर्नुपर्ने उमेरमा उनले हिंसा, भय र शारीरिक क्षतिको सामना गर्नुप¥यो । त्यस घटनाले उनको आत्मविश्वास र भविष्यप्रतिको आशामा समेत गहिरो असर पारेको छ ।
घटनापछि आरोपित व्यक्तिले उनलाई उपचारका लागि अस्पताल पु¥याएका थिए र त्यसपछि फरार भएका थिए । प्रहरी अनुसन्धानका क्रममा विभिन्न व्यक्तिका भनाइ, घटनास्थलको मुचुल्का तथा अन्य प्रमाण संकलन गरिएको छ ।
घटनापछि मालतीका लागि उपचार गराउनु मात्र चुनौती थिएन । आफूले भोगेको हिंसाबारे बोल्नु, प्रहरीलाई बयान दिनु र न्यायका लागि कानुनी प्रक्रिया अघि बढाउनु पनि कम कठिन थिएन । हिंसापीडितले आफ्नो पीडा सार्वजनिक गर्दा समाजले उल्टै उनीमाथि प्रश्न उठाउने र दोष थोपर्ने जोखिम रहन्छ । यस्तो अवस्थामा आफ्नो अनुभव सुनाउनु र न्यायका लागि निरन्तर लागिरहनु साहसकै काम हो ।
मालतीले भने आफ्नो पीडालाई मौनताभित्र दबाएर राखिनन् । उनले न्यायका लागि कानुनी बाटो रोजिन् । प्रहरी अनुसन्धानबाट सङ्कलित बयान, स्वास्थ्य परीक्षण प्रतिवेदन, घटनास्थल मुचुल्का तथा अन्य प्रमाणका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले महोत्तरी जिल्ला अदालतमा अभियोगपत्र पेस गरेको उपलब्ध कागजातबाट देखिन्छ ।
अभियोगपत्रमा आरोपित व्यक्तिमाथि जबर्जस्ती करणी र अङ्गभङ्गसम्बन्धी कसुरको आरोप लगाइएको थियो । पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसमेत गरिएको थियो । यी विवरण अभियोजन पक्षका दाबी हुन ्। आरोपितको दोष तथा कानुनी दायित्वका सम्बन्धमा अदालतको फैसला नै आधार मान्नुपर्छ ।
अन्ततः मालतीको मुद्दामा अदालतले फैसला सुनायो । दोषीलाई कैद सजाय र पीडितलाई अढाई लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने निर्णय भयो । तर अदालतको फैसला कार्यान्वयनको चरणमा उनको नागरिकता अभाव बाधक बन्यो । हिंसाविरुद्ध न्यायको ढोका ढकढक्याएकी उनी अहिले आफ्नै पहिचान स्थापित गर्न नसक्दा क्षतिपूर्तिसमेत प्राप्त गर्न नसक्ने अवस्थामा छिन् ।
मालतीको कथा एउटा व्यक्तिको पीडामा मात्र सीमित छैन । यसले हिंसापीडितले न्याय खोज्ने क्रममा भोग्नुपर्ने कठिनाइ र न्याय प्राप्त गरिसकेपछि पनि अधिकार उपभोग गर्न नसक्ने अवस्थालाई उजागर गर्छ । शारीरिक चोटको उपचार हुन सक्छ, तर हिंसाले मनमा पारेको असरबाट मुक्त हुन समय, साथ र संवेदनशील व्यवहार आवश्यक हुन्छ । त्यसका साथै पीडितलाई आर्थिक, सामाजिक र कानुनी रूपमा पुनःस्थापित गर्न राज्यका निकायको सक्रिय भूमिका अपरिहार्य हुन्छ ।
यस्तो अवस्थामा परिवार, समुदाय, प्रहरी, स्वास्थ्यकर्मी, सरकारी वकिल र अदालत सबैको जिम्मेवारी महत्त्वपूर्ण हुन्छ । पीडितको गोपनीयता कायम राख्ने, सम्मानजनक व्यवहार गर्ने, आवश्यक उपचार तथा मनोसामाजिक सहयोग उपलब्ध गराउने र कानुनी प्रक्रियामा सहज पहुँच सुनिश्चित गर्ने काम राज्य र समाज दुवैले गर्नुपर्छ । न्याय मागेकै कारण पीडितले थप अपमान, सामाजिक बहिष्कार वा दोषारोपण सहनुपर्ने अवस्था आउनु हुँदैन ।
मालतीको कथा समाजको संवेदनशीलता र राज्यको जवाफदेहिताको परीक्षा पनि हो । हिंसाका घटनामा निष्पक्ष अनुसन्धान र न्यायिक प्रक्रिया आवश्यक हुन्छन् । त्यत्तिकै महत्त्वपूर्ण कुरा, पीडितलाई न्यायको अनुभूति हुने गरी फैसला कार्यान्वयन गर्नु र उनको जीवन पुनःस्थापनाका लागि आवश्यक सहयोग उपलब्ध गराउनु हो ।
न्यायको अर्थ दोषीलाई सजाय दिनुमा मात्र सीमित हुँदैन् । पीडितले पाउनुपर्ने क्षतिपूर्ति उपलब्ध गराउनु, उनको पहिचान र अधिकार सुनिश्चित गर्नु तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिनु पनि न्यायका अभिन्न पक्ष हुन् ।
मालतीले अदालतबाट न्याय पाइसकेकी छन्। तर नागरिकता नहुँदा उनको न्याय अधुरो छ। अब प्रश्न जिल्ला प्रशासन कार्यालय, स्थानीय जनप्रतिनिधि र सम्बन्धित निकायसामु छ—कानुनी प्रक्रिया पूरा गर्न आवश्यक सहजीकरण गरेर उनलाई नागरिकता दिलाउने र अदालतले तोकेको क्षतिपूर्ति प्राप्त गर्ने बाटो खोल्ने कि उनलाई अझै अनिश्चितताको अँध्यारोमा छाडिरहने ?
जन्मिनु उनको अपराध थिएन । आमाबुवाको परिस्थितिका लागि उनी दोषी थिइनन् । हिंसाको सिकार हुनु पनि उनको गल्ती थिएन । तैपनि आज उनी आफ्नै पहिचान र अधिकारका लागि संघर्षरत छिन् । मालतीलाई नागरिकता दिलाउनु केवल एउटा प्रमाणपत्र उपलब्ध गराउनु होइन; उनलाई सम्मानपूर्वक बाँच्ने, आफ्नो अधिकार उपभोग गर्ने र न्यायको वास्तविक अनुभूति गर्ने अवसर प्रदान गर्नु हो ।
नोट : यो लेख वास्तविक घटनामा आधारित छ । पात्रहरूको नाम परिवर्तन गरी र केही विवरण गोप्य राख्दै यसलाई कथाका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ।



