जनकपुरधाम, १२ कात्तिक । जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक गर्मी र जनस्वास्थ्यसम्बन्धी जोखिम न्यूनीकरण गर्न मधेश प्रदेशका सभामुख रामअशिष यादवले विद्यार्थीलाई सचेत र सक्रिय बनाउन थालेका छन् । जलवायु परिवर्तनको प्रभाव कम गर्न राज्य, समाज र नागरिकले निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी गराउने उद्देश्यले उनी क्याम्पसका विद्यार्थीमाझ पुगेर ‘जलवायु संवाद’ सञ्चालन गरिरहेका छन् ।
सभामुख यादवले वन विनाश, बढ्दो प्रदूषण, जनसंख्याको चाप र वातावरणीय सचेतनाको कमीलाई जलवायु परिवर्तनसँग जोडिएका प्रमुख चुनौतीका रूपमा औँल्याएका छन् । प्रकृति संरक्षणबिना मानव जीवन सुरक्षित हुन नसक्ने उल्लेख गर्दै उनले वातावरणीय सन्तुलन कायम गर्न युवा पुस्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् ।
जनकपुरधामस्थित सिद्धार्थ कलेजका विद्यार्थीहरूसँग डिजिटल माध्यमबाट जलवायु संवाद गर्दै सभामुख यादवले भने, “प्रकृतिलाई बचाएर मात्रै मानव जीवन बचाउन सकिन्छ र मानवको सक्रियताबाटै प्रकृतिको संरक्षण सम्भव हुन्छ ।”
उनले वातावरणीय विनाशका कारण प्राकृतिक विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै वनजंगल संरक्षण र प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।
उनले गत असोज १० गते रसुवा जिल्लामा आएको बाढीको प्रसङ्ग उल्लेख गर्दै प्राकृतिक विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि वातावरण संरक्षणमा गम्भीर हुनुपर्ने बताए । वन विनाश र प्रदूषणले जलवायु तथा पर्यावरणीय जोखिम बढाउन सक्ने भएकाले विकास निर्माणका काम गर्दा प्रकृतिको संरक्षणलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने उनको भनाइ थियो ।
“कलकारखाना र उद्योगधन्दा देशको विकासका लागि आवश्यक छन् । तर, औद्योगिक विकाससँगै वनजंगल पनि जोगाउनुपर्छ,” उनले भने । नेपालमा करिब ४३ प्रतिशत र भुटानमा करिब ७० प्रतिशत भूभाग वनले ढाकेको उल्लेख गर्दै उनले वन संरक्षण, वृक्षरोपण र वातावरणमैत्री व्यवहारलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

जलवायु परिवर्तनको असर बाढीपहिरोमा मात्र सीमित नरहेको उल्लेख गर्दै सभामुख यादवले अत्यधिक गर्मी, तापक्रममा हुने असामान्य वृद्धि र त्यसबाट उत्पन्न हुन सक्ने स्वास्थ्य समस्याप्रति पनि सचेत रहन विद्यार्थीलाई आग्रह गरे । उनका अनुसार जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न सरकारी नीति र कार्यक्रमसँगै नागरिकको व्यवहारमा परिवर्तन आउनु आवश्यक छ ।
“युवामा काम गर्ने ऊर्जा र परिवर्तन ल्याउने क्षमता हुन्छ । यही शक्तिलाई वातावरण संरक्षणमा लगाउन सके जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुग्छ,” उनले भने । विद्यार्थीले आफ्नो परिवार, समुदाय र समाजमा वातावरण संरक्षणको सन्देश फैलाउन सक्ने भएकाले उनीहरूलाई यस अभियानको अगुवा बनाउनुपर्ने उनको धारणा छ ।
सभामुख यादवले यसअघि यदुकुहा, जनकपुरधाम उपमहानगरपालिकालगायतका क्षेत्रमा रहेका क्याम्पसका विद्यार्थीमाझ पनि जलवायु परिवर्तनसम्बन्धी डिजिटल प्रस्तुति र संवाद सञ्चालन गरिसकेका छन् । युवा र महिलाको सोच, व्यवहार तथा दायित्वमा सकारात्मक परिवर्तन ल्याउन सके वातावरण संरक्षणको अभियानलाई प्रभावकारी बनाउन सकिने उनको विश्वास छ ।
सिद्धार्थ कलेजका संस्थापक राजु साहले विद्यार्थीलाई वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी विषयमा थप जानकारी दिने उद्देश्यले आगामी दिनमा बिदाको समयमा समेत छुट्टै अध्ययन तथा छलफलको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।



