काठमाडौं १३ कात्तिक। भुटानको गासा जिल्लामा गएराति आएको आकस्मिक भीषण बाढीले जनजीवन प्रभावित बनाएको छ। बाढीले बस्ती, सडक तथा सिँचाइ संरचनामा क्षति पुर्याउनुका साथै केही क्षेत्रको सडक सम्पर्कसमेत विच्छेद गरेको छ। बाढीको कारण सिन्ताफु हिमताल विस्फोट भएको हुन सक्ने आशंका गरिए पनि यसको आधिकारिक पुष्टि भएको छैन।
मो छू नदीमा आएको बाढीले गासा जिल्लाको छाचु क्षेत्र प्रभावित भएको छ भने पुनाखा जिल्लास्थित सौर्य सिँचाइ प्रणालीमा समेत क्षति पुगेको छ। बाढीसँगै बगेर आएको ढुंगा, माटो र गेग्रानले जोमलिङथाङ क्षेत्रमा पुनाखा–गासा राजमार्गको एक खण्ड बगाएको छ।
त्यस्तै, लाया गेओगअन्तर्गत टोङचुद्राक सडकखण्डमा समेत क्षति पुगेपछि लाया क्षेत्रको अन्य भागसँगको सडक सम्पर्क टुटेको छ। भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस)का अनुसार रातिको समयमा बाढी आएकाले तत्काल क्षतिको यकिन विवरण संकलन गर्न कठिन भएको छ। हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।
हिमताल विस्फोटको आशंका
गासा जिल्लास्थित सिन्ताफु हिमताल विस्फोट भएर बाढी आएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ। उक्त हिमताल लाया गेओगको लुंगो क्षेत्रमा वाकिला हिमालको फेदीमा अवस्थित छ।
सिन्ताफु भुटानका १७ सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक हो। मो छू नदीको मुहान क्षेत्रमा रहेको यस तालबाट पानीको असामान्य बहाव आएको हुन सक्ने अनुमानका आधारमा हिमताल विस्फोटको आशंका गरिएको हो।
सामाजिक सञ्जालमा सार्वजनिक भएका केही तस्बिरमा हिमतालबाट पानी बाहिरिएको जस्तो देखिए पनि ती तस्बिरको आधिकारिकता पुष्टि हुन सकेको छैन। सम्बन्धित निकायले बाढीको वास्तविक कारण र अवस्थाबारे थप अध्ययन गरिरहेका छन्।
जोखिम क्षेत्रका बासिन्दा सुरक्षित स्थानमा
सम्भावित जोखिमलाई मध्यनजर गर्दै भुटानका सुरक्षा निकाय तथा सम्बन्धित प्रशासनले प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, सुरक्षाकर्मी र कर्मचारीलाई सुरक्षित स्थानमा सार्न थालेका छन्।
ताक्त्सिमाखाङमा खटिएका सैनिक, परियोजना कार्यालयका कर्मचारी तथा गासा छाचु क्षेत्रमा रहेका व्यक्तिलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। छाचुको तातोपानी कुण्डमा रहेका कर्मचारी र आगन्तुकलाई समेत अन्यत्र सारिएको छ।
पुनाखाको येबिसा क्षेत्रमा पनि बाढीको पानी प्रवेश गरेको छ। पुनाखा सेन्ट्रल स्कुलले आफ्ना सबै आवासीय विद्यार्थीलाई सुरक्षित रूपमा अग्लो स्थानमा स्थानान्तरण गरिएको जनाएको छ।
नदीको सतह निगरानी, जलविद्युत् आयोजना बन्द
बाढीको सम्भावित जोखिम नियन्त्रण तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित राख्न भुटानको राष्ट्रिय जलविज्ञान तथा मौसम विज्ञान केन्द्र (एनसीएचएम)ले मो छू नदीको तासिथाङ र येबिसा क्षेत्रमा पानीको सतह निरन्तर निगरानी गरिरहेको छ।
मो छू र पुनात्साङछु नदीको तल्लो तटीय क्षेत्रमा जडान गरिएका पूर्वसूचना साइरन प्रणालीसमेत सक्रिय पारिएको छ। सम्भावित जोखिममा रहेका छिमेकी जिल्लालाई पनि सतर्क रहन सूचित गरिएको छ।
बाढीसँगै ढुंगा, माटो तथा अन्य गेग्रान बगेर आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै पुनात्साङछु–२ जलविद्युत् आयोजनाले विद्युत् उत्पादनका युनिट बन्द गरेको छ। आयोजनाले बाँधका ढोका खोलेर जलाशयको पानीको सतह घटाएको जनाएको छ।
बाढीको पानी र त्यससँगै बगेर आउन सक्ने गेग्रानलाई सहज रूपमा निकास दिन यस्तो सावधानी अपनाइएको हो।
हिमताल विस्फोट भएको हो वा अन्य कारणले बाढी आएको हो भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन। सम्बन्धित निकायले नदीको बहाव, जलस्तर तथा प्रभावित क्षेत्रको अवस्था निगरानी गरिरहेका छन्।



