काठमाडौं, १३ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा आज सार्वजनिक गरिएको छ । राष्टिूय परीक्षा बोर्डका अनुसार यस वर्ष कुल १ लाख ६७ हजार ५९७ जना परीक्षार्थी अनुत्तीर्ण भएका छन्।
गत चैत ७ गतेदेखि सञ्चालन भएको एसईईमा ५ लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ४ लाख ३८ हजार ८९६ जना नियमिततर्फका विद्यार्थी थिए।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार, यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। उनी अनुसार, केही विद्यार्थीको परीक्षा रद्द भएको र केही अनुत्तीर्ण भएकाले समग्र नतिजा अपेक्षाअनुसार सन्तोषजनक नरहेको देखिन्छ।
यसका अतिरिक्त १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।
नतिजाले एकातर्फ केही विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरेका छन् भने अर्कातर्फ ठूलो संख्यामा विद्यार्थी असफल भएको देखिन्छ। यसले शिक्षण गुणस्तर, तयारीको अवस्था र मूल्यांकन प्रणालीप्रति गम्भीर प्रश्न खडा गरेको छ ।
शिक्षाविद्हरूले बोर्ड र सरोकारवालाहरूलाई नतिजा विश्लेषण गरी सुधारका उपायहरू अवलम्बन गर्न सुझाव दिएका छन्। परीक्षामा अनुत्तीर्ण भएका विद्यार्थीहरूका लागि वैकल्पिक प्रणाली, थप सहजीकरण र परामर्श सेवाको आवश्यकतामाथि पनि बल दिइएको छ ।
जीपीए अनुसार विद्यार्थीको विवरणः
– ३.६ देखि ४.० जीपीएः ४८,१७७ जना
– ३.२ देखि ३.६ जीपीएः ८१,३८५ जना
– २.८ देखि ३.२ जीपीएः ९९,१२४ जना
– २.४ देखि २.८ जीपीएः ४८,४७९ जना
– २.० देखि २.४ जीपीएः ४,१२६ जना
– १.६ देखि २.० जीपीएः ८ जना
यसपटक पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सबैभन्दा धेरै गणित विषयमा परीक्षार्थी अनुत्तीर्ण भएका छन्। आज सार्वजनिक गरिएको नतिजा अनुसार गणित विषयमा १ लाख २८ हजार २१५ परीक्षार्थी अनुत्तीर्ण भएका छन्। अंग्रेजीमा ८० हजार ६७२ विद्यार्थी अनुत्तीर्ण भए ।
कुन विषयमा कति अनुत्तीर्ण ?
गणित : १ लाख २८ हजार २१५
अंग्रेजीमा : ८० हजार ६७२
साइन्स एण्ड टेक्नोलोजी : ७९ हजार २७१
नेपाली : ५४ हजार ७३५
सामाजिक : ५३ हजार १८६
अर्थशास्त्र: ४२ हजार १५०
ऐच्छिक गणित : १८ हजार २२२



