वीरेन्द्र कर्ण
जनकपुरधाम, १४ असार । ‘राष्ट्रको समृद्धि, किसानको पहिचान—धान हाम्रो शान’ भन्ने नारासहित मनाइने असार १५ अर्थात् धान दिवसको पूर्वसन्ध्यामा मधेशका किसान भने चिन्तित छन्। पर्याप्त मात्रामा वर्षा नहुनु र सिंचाइ सुविधा नहुँदा धनुषा र महोत्तरीका अधिकांश किसानले अझैसम्म धान रोप्न सकेका छैनन्।
सामान्यतः असार दोस्रो सातासम्म खेतमा रोपाइ सकिनुपर्ने हो। तर यस वर्षको असमान मौसमी अवस्थाका कारण धानको बेर्ना समेत सुक्न थालेको छ। जनकनन्दिनी गाउँपालिका–३, महुवाका किसान सतो मण्डल भन्छन्, “आकाशे पानीको भरमा खेती हुँदै आएकोमा यसपालि पानी नपर्दा धान रोप्न सकिएको छैन। खेत चिराचिरा परेको छ, धूलो उडेको छ।”
किसान हरिदेवका अनुसार, पहिलोपटक आकाशे पानीको भरमा थोरै बेर्ना लगाइएका थिए, तर ती अत्यधिक गर्मीका कारण डढेर सखाप भए। “अब समय बितिसक्यो, अर्को बेर्ना राख्न पनि सकिने अवस्था छैन,” उनी भन्छन्।
मनसुन सक्रिय भइ फाटफुट वर्षा सुरु भए पनि सिंचाइको व्यवस्था नहुँदा खेतमा पानी पु¥याउन सकिएको छैन। किसान मनोज साह भन्छन्, “एकातिर गर्मीको कारण बेर्ना डढ्दै छन्, अर्कोतिर पानीको अभावमा दोहो¥याएर लगाउन सकिएको छैन।”
आ.व. २०८०÷८१ मा धनुषा जिल्लामा ४२ हजार ८५० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो र १ लाख ६५ हजार मेट्रिक टन उत्पादन भएको थियो। यस वर्षको हालसम्मको अवस्थाले उत्पादनमा भारी गिरावट आउने संकेत देखिएको छ।
कृषक रामचन्द्र यादव भन्छन्, “२०३४ र २०५० सालमा पनि यस्तै सुख्खा परेको थियो, तर यो वर्ष झनै कठिन देखिन्छ।”
धनुषा जिल्लामा ६५ हजार हेक्टर सिंचित क्षेत्र भए पनि यति नै क्षेत्र अझैपनि आकाशे पानीमै निर्भर छ। मधेश प्रदेश सरकारले ‘खेत–खेतमा पानी’ भन्ने नारासहित कृषि क्षेत्रमा बजेट घोषणा गरे पनि त्यो व्यवहारमा लागू हुन नसकेको किसानहरूको गुनासो छ।
सिंचाइ नहुँदा कतिपय किसानहरूले खोला र नालाबाट पम्पसेटमार्फत पानी तानेर धान रोप्ने प्रयास गरे पनि पानीको निरन्तरता नहुँदा खेत सुकेर चिरा परेको छ। कतिपय खेतमा गवारो किरा लाग्न थालेको पनि किसानहरूले बताएका छन्।
तराई मधेशको प्रमुख बाली धान भए पनि अहिले यो संकटमा परेको छ। यस्तो विषम अवस्थामा धान दिवस मनाउनु किसानहरूका लागि विडम्बनापूर्ण भएको छ।
यता, मलको आपूर्ति भने पर्याप्त रहेको कृषि सामग्री कम्पनी लिमिटेड, जनकपुर शाखाले जनाएको छ। शाखा प्रमुख बेचन कुमार साहका अनुसार जनकपुरस्थित गोदाममा हाल ६९७ मेट्रिक टन युरिया, १७२ मेट्रिक टन डिएपी, ८२ मेट्रिक टन पोटास र २१ मेट्रिक टन कृषिचुन मौज्दात छ।
उनले भने, “दैनिकरूपमा मल आइरहेको छ, यसपाली मल अभाव हुने छैन।”
कम्पनीले चालु आ.व.को असार १५ गतेसम्म ३९ करोड १८ लाख रुपैयाँभन्दा बढीको १४ हजार १७८ मेट्रिक टन मल बिक्री गरिसकेको छ।
कम्पनीका अनुसार, २७ पालिकाका २११ सहकारीमार्फत किसानसम्म मल आपूर्ति भइरहेको छ। तर सिंचाइको अभावले बेर्ना राख्नै नसकिएकाले मल वितरणको पूर्ण लाभ लिन किसानहरू असमर्थ छन्।
धान दिवसमा किसानको वास्तविक अवस्था झल्काउने हो भने, नारा मात्र होइन, व्यवहारमै किसानका समस्या समाधान गर्ने नीति र योजना जरुरी देखिन्छ। नत्र धानको उत्पादन मात्र होइन, कृषकको भविष्य नै संकटमा पर्नेछ।

