जनकपुरधाम, १८ असार । मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) की केन्द्रीय सदस्य ललिता दासमाथि सिराहाको लहानमा गएराति लुटपाट तथा हमलाको प्रयास भएको छ । सांसद दासले सामाजिक सञ्जालमार्फत घटनाबारे जानकारी दिँदै आफू भागेर ज्यान जोगाउन सफल भएको उल्लेख गरेकी छन् ।
जनकपुरधामबाट पार्टी अध्यक्ष उपेन्द्र यादवसँगको भेटपछि फर्किँदै गर्दा राति साढे १२ बजे लहान चोक नजिकै दुई अपरिचित युवाले उनलाई पछ्याउँदै हातपातको प्रयास गरेका थिए । दासका अनुसार, घर नजिकैको एनएमबी बैंकको गल्लीमा ती युवाहरू अचानक आइलागे।
“डरले चिच्याउँदै भागेँ, भाग्यले घर पुगेपछि परिवारले ढोका खोलिदिए र म ज्यान जोगाउन सफल भएँ,” उनले सामाजिक सञ्जालमा लेखेकी छन्।
दासले आक्रोश व्यक्त गर्दै भनेकी छन्, “के हुँदैछ हाम्रो देशमा? किन यस्तो भय र त्रास फैलाइएको छ हामीमाथि?”
उनका अनुसार घटनापछि लहानका डीएसपी कैलाश राई र जिल्ला प्रहरी कार्यालय सिरहाका एसपीलाई जानकारी गराइएको थियो। तर प्रहरीको प्रतिक्रिया ढिलो र संवेदनशीलता विहीन रहेको भन्दै उनले गुनासो गरेकी छन्।
“प्रहरी थानाको नजिकै घर हुँदाहुँदै पनि असुरक्षित महसुस गर्नु परेको छ। केही महिनाअघि पनि मेरै घर अगाडि चक्कु प्रहारको घटना भएको थियो,” उनले भनिन्।
उक्त रात सांसद दाससँगै जनकपुरधामबाट जसपाका सांसद राजकुमार गुप्ता, जिल्ला समन्वय समितिका सभापति दिनेशकुमार महतो, लहान नगर कमिटी अध्यक्ष रामउद्गार महतो र इन्जिनियर बैजनाथ प्रसाद साह पनि फर्किरहेका थिए। तर उनीहरू गाडीमै थिए, दासमात्र लहान चोकमा ओर्लिएर पैदल घरतर्फ गएकी थिइन्।
प्रहरीले घटनाको छानबिन भइरहेको जनाएको छ। सांसदमाथिको यस्तो घटनाले स्थानीय सुरक्षाप्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ।

