जनकपुरधाम, २३ असार । पत्रकार, मानव अधिकारकर्मी, कानून व्यवसायीलगायत सरोकारवाला समूहहरूको संयुक्त पहलमा ‘राइट्स क्लिनिक’ नामक संस्था गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को कार्यालयमा आइतवार बसेको बैठकबाट संस्थागत रुपमा क्लिनिकको घोषणा गरिएको हो ।
बैठकमा इन्सेक मधेश प्रदेश संयोजक राजु पासवान, राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण साहनी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजेश कुमार कर्ण, राष्ट्रिय दलित पत्रकार संघ मधेश प्रदेश अध्यक्ष कैलास दास, नेपाल वार एशोसिएशनकी केन्द्रिय सदस्य रिंकु यादव, जवासकी अध्यक्ष मन्दा कुमारी कर्ण, माइती नेपालका प्रदेश संयोजक पुरुषोत्तम कुमार यादवको उपस्थिति थियो ।

बैठकमा लोकतान्त्रिक अधिकार, विकास, सेवा प्रवाह, नीति निर्माण तथा कार्यान्वयनको तहमा रहेको असमानता, बेवास्ता र अपारदर्शिता जस्ता मुद्दामा खुला संवाद गर्ने उद्देश्यले राइट्स क्लिनिक गठन गरिएको जानकारी दिइएको छ ।
समितिका सदस्य एवं पत्रकार राजेश कुमार कर्णका अनुसार, “जसका आवाजहरू सुन्ने प्रयास गरिँदैन, तिनका समस्या सार्वजनिक बहसको एजेन्डा बन्दैनन् । यस्ता मौन आवाजहरूलाई बहसको मूलधारमा ल्याई न्यायपूर्ण र सबल नागरिक समाज निर्माण गर्ने साझा मञ्चको आज अत्यन्त आवश्यकता छ ।”
उनले राइट्स क्लिनिकमार्फत नागरिक, विज्ञ, मानव अधिकारकर्मी, राजनीतिज्ञ तथा सरोकारवाला निकायहरूबीच नियमित संवाद, विचार आदान–प्रदान र समाधानमुखी बहस गर्ने वातावरण बनाउने लक्ष्य लिएको स्पष्ट पारे ।

