जनकपुरधाम, २८ असार । राष्ट्रिय मुक्ति पार्टी नेपाल राजनीतिक समिति सदस्य तथा सामाजिक अभियन्ता संजय चौधरीले मधेश प्रदेश सरकारका मुख्यमन्त्री र शिक्षामन्त्रीमाथि सामाजिक सञ्जालमार्फत कडा आरोप लगाएका छन् ।
उहाँले आफ्नो फेसबुक पोस्टमार्फत शिक्षा मन्त्रालयलाई “विचौलियाको सेटिङमा चलेको संस्थान” को संज्ञा दिँदै, विद्यालय सुधारभन्दा पनि बजेट दोहनलाई मुख्य उद्देश्य बनाएको टिप्पणी गरेका छन् ।
“१२ महिना कानमा तेल हालेर सुत्ने मुख्यमन्त्री र मन्त्रीहरू परीक्षा चल्दा मात्रै अनुगमनको नाममा सक्रिय देखिन्छन्,” चौधरीले लेखेका छन् । “शिक्षा मन्त्रालयको नाममा विचौलियासँग मिलेर नाङ्गो व्यापार भइरहेको छ ।”
चौधरीका अनुसार जनताले अब बुझ्न थालेका छन् कि शिक्षा क्षेत्रलाई गोरखधन्धा बनाउने कार्य प्रणाली मौलाउँदै गएको छ । उनले विद्यालयमा आधारभूत पूर्वाधार — शौचालय, पिउने पानी, डेस्क–बेंच, पुस्तकालय, खेल मैदान — को अभाव रहेपनि बजेट शिक्षा सम्मेलन, तालिम र वितरणमुखी कार्यक्रमहरूमा खर्चिने प्रवृत्तिको आलोचना गरेका छन् ।
चौधरीले यस वर्षको एसईई परीक्षामा मधेश प्रदेशबाट मात्र २८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको तथ्यलाई स्मरण गराउँदै भनेका छन्, “शिक्षा सुधार होइन, सम्मेलन र वितरणको नाममा रकम उठाउने खेल मात्र चलिरहेको छ ।”
अन्त्यमा चौधरीले चेतावनी दिँदै भनेका छन्, “यदि यसरी नै गोरखधन्धा गरिरहने हो भने मधेश प्रदेशमा शिक्षा सुधार सम्भव छैन ।”


