जनकपुरधाम । संघर्ष–त्यो शब्द हो जसबाट जीवनको पहिचान सुरु हुन्छ । सामान्य देखिने तर गहिरो अर्थ बोकेको यो शब्द, वास्तवमा जीवनको मेरुदण्ड हो । संघर्ष बिना कुनै व्यक्तित्वको निर्माण सम्भव छैन, न कुनै इतिहास रचना नै । संघर्षको आफ्नै सत्ता हुन्छ–कहिलेकाहीँ मौन, कहिले आँधीझैँ चर्को; तर अन्ततः यही संघर्षले मानिसलाई आफ्ना उद्देश्यसम्म पु¥याउँछ ।
मानव इतिहास पल्टाउँदा देखिन्छ-जुन जुन व्यक्तित्वले समाजमा परिवर्तन ल्याए, ती सबैको जीवनमा संघर्षको अमिट छाया थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बाल्यकालमा चिया बेच्ने बालक थिए । तर, संघर्ष, संकल्प र निष्ठाको बलमा उनी आजको सर्वोच्च पदमा पुगेका छन् । त्यस्तै दशरथ माझीले एक्लै पहाड फोडेर बाटो बनाएर इतिहास रचे । यस्ता कथा केवल प्रेरणादायी होइनन्, जीवन परिवर्तनको बाटो देखाउने सूचक पनि हुन् ।
हाम्रो समाजमा पनि यस्ता कथा लुकेका छन्, जसको उज्यालो अझै पनि विस्तार पाउन बाँकी छ । तीमध्ये एक हो–जनकपुरधामका शिक्षाविद् वीरेन्द्र साहको जीवनगाथा । उहाँको कथा केवल सफलताको होइन, संघर्ष, समर्पण र सामाजिक उत्तरदायित्वको पनि हो ।
साहजीको प्रारम्भिक जीवन आर्थिक अभावमा बित्यो । तर त्यो अभावमा पनि आत्मबलको कुनै कमी थिएन । उनी खाली खुट्टा विद्यालय जान्थे । माटोले भरिएको सडकमा कसमका पाइला चापिएका हुन्थे । पुस्तामा उल्लेख छ–उहाँ बाल्यकालदेखि नै निडर, दृढ र उद्देश्यप्रति समर्पित हुनुहुन्थ्यो । व्यवहारमा सरल, तर सोचमा स्पष्ट र शक्तिशाली । लक्ष्यप्रति अडिग रहने र अवसर खोज्दै अघि बढ्ने उहाँको जीवनदर्शन प्रारम्भदेखि नै प्रस्ट थियो ।
उहाँको जीवनलाई उजागर गर्ने कृति हो–पत्रकार तथा साहित्यकार सुजित कुमार झाद्वारा लिखित पुस्तक ‘खुशी’। यो पुस्तक केवल आत्मकथा होइन, संघर्षबाट सफलता प्राप्त गर्ने एउटा जीवनदर्शन हो । पुस्तक पढ्दै जाँदा लाग्छ–यो केवल एउटा व्यक्तिको यात्रा होइन, मधेशको माटोबाट उठेको एउटा युगान्तकारी प्रयासको दस्तावेज हो ।
‘खुशी’ पुस्तक शिक्षाविद् वीरेन्द्र साहको प्रेरणादायी जीवनकथा हो, जसमा संघर्ष, समर्पण र सामाजिक उत्तरदायित्वको सशक्त प्रस्तुति गरिएको छ। पत्रकार सुजित कुमार झाद्वारा लिखित यो कृति केवल आत्मकथा नभई मधेशको माटोबाट उठेको परिवर्तनको दस्तावेज हो।
प्रोफेसर डा. सुरेन्द्र लाभ लेख्छन–“वीरेन्द्र साहलाई म २५ वर्षदेखि चिन्छु । उहाँमा सानैदेखि केही गर्ने जिद्दी, संघर्ष गर्ने सामथ्र्य र कहिल्यै नथाक्ने ऊर्जा थियो । जो कुरा सोच्नुहुन्थ्यो, त्यसलाई पुरा गर्न हिच्किचाउनु हुन्नथ्यो ।” प्रारम्भमा उहाँले ट्युशन पढाएर शैक्षिक यात्रा सुरु गर्नुभयो । केही समयपछि भाडामा लिएको कोठाबाट विद्यालय सञ्चालन गर्न थाल्नुभयो । शिक्षालाई धर्म मान्ने उहाँको सोचले विस्तार पाउँदै गयो, अनि स्थापना भयो–मोडेल क्याम्पस ।
आज मोडेल क्याम्पस केवल एउटा शैक्षिक संस्था होइन, त्यो त हजारौँ विद्यार्थीको सपना बोकेको थलो हो । दशतल्ले भवन, दक्ष व्यवस्थापन, गुणस्तरीय पठनपाठन र समयअनुसार विकास हुँदै गएको संरचनाले मोडेल क्याम्पसलाई राष्ट्रिय स्तरमै स्थापित गराएको छ । यो सब सहजै प्राप्त भएको होइन–यसको पछाडि छ वीरेन्द्र साहको दुःख, त्याग र अहोरात्रको समर्पण ।
पुस्तकमा साहजी स्वयं लेख्नुहुन्छ–“कलेज स्थापनादेखि हालसम्मको यात्रा कुनै सहज यात्राजस्तो थिएन । शिक्षालाई पहिलो प्राथमिकता दिएँ, र जीवनका धेरै उतारचढाव पार गर्दै आज मोडेल क्याम्पसको उचाइसम्म आइपुगेको छु ।” उहाँले आफ्ना बाबुआमालाई आफ्नो जीवन निर्माणका प्रेरणास्रोतको रूपमा सम्झनुहुन्छ । विशेषगरी आफ्नी आमाको सम्झना भावुक बनाउने खालको छ– “उहाँहरू बित्नुभयो, तर उहाँहरूले देखाएको बाटोमा म अझै पनि अगाडि बढिरहेछु ।”
पुस्तकले जीवनमा आत्मबल, उद्देश्यप्रतिको प्रतिबद्धता र समाजप्रतिको कर्तव्यलाई प्राथमिकतामा राख्न प्रेरित गर्छ। ‘खुशी’ केवल सफलताको कथा नभई, सपना देखेर त्यसलाई साकार पार्ने साहस र समाजलाई फर्काइदिने भावनाको जीवित उदाहरण हो।
पुस्तकका पानामा साहजीका आदर्श, दर्शन र समर्पण झल्किन्छ । उहाँ लेख्नुहुन्छ–“खुशीबाट सन्तुष्टि पाउन सकिन्न; सन्तुष्टिबाट खुशी आउँछ । ठोकर नखाई मंजिलको महत्त्व हुँदैन । जसले ठोकर खान्छ, उही अगाडि बढ्छ ।” यस्तो सोच, यस्तो आत्मबल कुनैपनि संघर्षशील मानवका लागि अमूल्य शिक्षा हो ।
पुस्तकमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तीर्थ खनियाँ, प्रा.डा. सुरेन्द्र लाभ लगायतका व्यक्तित्वहरूले साहजीको प्रशंसा गरेका छन् । त्यो प्रशंसा औचित्यपूर्ण छ । तर, पुस्तकमा एउटा पक्ष छुटेको अनुभव हुन्छ–वीरेन्द्र साहले विपन्न, गरिब, असहाय र ग्रामीण पृष्ठभूमिका विद्यार्थीहरूका लागि गरेका मौन योगदानहरूको विस्तृत चित्रण छैन ।
साहजीले विगत दुई दशकभन्दा बढी समयदेखि सयौँ होनहार तर आर्थिक रूपले कमजोर विद्यार्थीलाई छात्रवृत्तिमा पढाउँदै आउनुभएको छ । यी मौन योगदानहरू साहजीको चरित्रको अभिन्न अङ्ग हुन् । पुस्तकले त्यसलाई समेटेको भए, ‘खुशी’ अझ समग्र र सशक्त बन्न सक्थ्यो ।

‘खुशी’को मूल सन्देश छ–संघर्ष गरेर लक्ष्य हासिल गर्न सकिन्छ, तर त्यो संघर्ष आत्मकेन्द्रित नभई सामाजिक उत्तरदायित्वसहितको हुनुपर्छ । वीरेन्द्र साहले आफ्नो जीवनबाट यही सन्देश दिनुभएको छ–सपना देख्न कन्जुस्याइँ गर्नु हुन्न, तिनलाई साकार पार्न तयार हुनुपर्छ । र, साकार पारिसकेपछि समाजलाई केही फर्काइदिनुपर्छ ।
साहजीको मोडेल क्याम्पस अहिले केवल मधेशमा होइन, देशैभर एउटा उदाहरणीय संस्थाका रूपमा चिनिन्छ । यस क्याम्पसले मधेशमा गुणस्तरीय शिक्षाको नयाँ आयाम दिएको छ । विद्यार्थीहरू पढेर विदेश पुगेका छन्, जागिर खाएका छन्, समाजमा योगदान दिइरहेका छन् । यिनको जीवनको जरा कतै न कतै साहजीको मेहनतसँग गाँसिएको छ ।
यसकारण, ‘खुशी’ पुस्तक केवल शिक्षाविद् वीरेन्द्र साहको आत्मकथा होइन, यो त संघर्षशील जीवनको धड्कन हो । यो पुस्तकले जीवनमा विश्वास राख्न सिकाउँछ, लक्ष्यप्रति प्रतिबद्ध हुन प्रेरित गर्छ, र समाजप्रति उत्तरदायी बन्न पनि अभिप्रेरित गर्छ ।
‘खुशी’ पढिसकेपछि पाठकको मनमा एउटा प्रश्न निश्चित रूपमा उठ्छ–के म पनि जीवनमा यति दृढ भएर अघि बढ्न सक्छु ? के मेरो संघर्षको अर्थ समाजको लागि केही दिन सक्छ ? यदि यी प्रश्न उठे भने, त्यो पुस्तक सफल मान्न सकिन्छ ।
यस पुस्तकलाई विद्यार्थी, शिक्षक, अभिभावक, नीति निर्मातादेखि समाजका सबै तहमा पुगेका व्यक्तिहरूले पढ्नुपर्छ । किनकि यो आत्मकथा जस्तो देखिए पनि यो हाम्रो समाजको यथार्थ चित्र हो, जसले देखाउँछ–गरिबीले होइन, आत्मबलले मान्छे ठूलो हुन्छ ।
पुस्तक ‘खुशी’ ले हामीलाई सम्झाउँछ– ठूलो मान्छे बन्न महल होइन, दृष्टिकोण चाहिन्छ । अवसरको पर्खाइमा नबसिकन अवसर सिर्जना गर्न सकिने आँट चाहिन्छ । र त्यो आँट, त्यो दृष्टिकोण, त्यो संघर्षको क्षमताको प्रतिरूप हुन– शिक्षाविद् वीरेन्द्र साह ।

