जनकपुरधाम, ३ चैत । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले मधेश प्रदेशका जिल्लाहरुबाट समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याए पनि मधेशी दलित समुदायबाट एक जनालाई पनि समानुपातिक सांसद नबनाएको भन्दै दलित समुदाय आन्दोलित बनेको छ ।
दलित अगुवाहरूको बैठकले उक्त निर्णयप्रति गम्भीर असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । उनीहरूले समानुपातिक प्रणालीको मूल मर्म समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नु भए पनि दलित समुदायलाई पूर्ण रूपमा उपेक्षा गरिएको आरोप लगाएका छन् ।
बैठकमा सहभागी वक्ताहरूले समानुपातिकतर्फ सबैभन्दा बढी मत प्राप्त गर्ने दलले नै दलित समुदायलाई प्रतिनिधित्व नदिनु लोकतान्त्रिक मूल्य र समावेशीताको सिद्धान्तविपरीत भएको बताएका छन् । उनीहरूले तत्काल त्रुटि सच्याउँदै दलित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
दलित अधिकारकर्मीहरूले आफ्ना माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । आन्दोलनअन्तर्गत विरोध सभा, ज्ञापनपत्र बुझाउनेदेखि सडक संघर्षसम्मका कार्यक्रम सार्वजनिक गरिने जनाइएको छ ।
जनकपुरधाममा मंगलवार दलित अगुवा प्रथमलाल रामको अध्यक्षतामा बसेको बैठकमा दलित अगुवा रामो महरा, विनोद महरा, सुनिता मेस्तर्नी, रामेश्वर महरा, रामसोगारथ राम, इनरजीत मेस्तर, सिजेन्द सदा, राजेश सक्सेना लगायत नेताहरुले दलितहरुबीचकै संघर्ष समिति गठन गरी आन्दोलन गर्ने निर्णय गरृको छ ।
उनीहरूले राज्यका सबै निकायमा समावेशी प्रतिनिधित्व सुनिश्चित नभएसम्म संघर्ष जारी रहने स्पष्ट पारेका छन् ।

