जनकपुरधाम । चेन्नईकी सफ्टवेयर इञ्जिनियर वासुकीलाई लामो समयदेखि मांसपेशी दुख्ने र थकान हुने समस्या थियो। उनले सुरुमा यसलाई सधैंको मानसिक तनाव वा निद्राको अभावसँग जोडिन्। तर महिनौंसम्म समस्या नहटेपछि डाक्टरकोमा जाँदा रिपोर्टले गम्भीर संकेत देखायो—उनको शरीरमा भिटामिन डीको स्तर अत्यन्तै न्यून थियो।
वासुकीको अनुभव अपवाद होइन। भारतभरि हजारौं मानिसहरू भिटामिन डीको अभावको चपेटामा छन्। यो समस्या अझ बढी सहरका मानिसहरूमा देखिएको छ, जहाँ घाम हुँदाहुँदै पनि सूर्यको किरण छालामा पुग्न सक्दैन। आधुनिकता र जीवनशैलीको बदलिंदो स्वरूपका कारण भिटामिन डीजस्तो महत्वपूर्ण पोषकतत्वको निर्माण प्रक्रियामै अवरोध सिर्जना भएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्व एशिया पब्लिक हेल्थ जर्नलमा हालै प्रकाशित एक अध्ययनअनुसार भारतको राजधानी दिल्लीका शहरी क्षेत्रमा करिब ७० प्रतिशत मानिसमा भिटामिन डीको गम्भीर अभाव देखिएको छ। ग्रामीण क्षेत्रमा यो दर तुलनात्मक रूपमा कम, करिब २० प्रतिशत रहेको पाइयो।
उक्त अध्ययनमा रगतमा भिटामिन डीको सन्तुलन ३० न्यानोग्राम प्रति मिलिलिटर हुनुपर्ने मानक उल्लेख गरिएको छ। जब यो स्तर १० न्यानोग्रामभन्दा कम हुन्छ, तब गम्भीर कमीको रूपमा चिनिन्छ। अध्ययनमा समावेश शहरी बासिन्दाहरूको औसत भिटामिन डी स्तर ७.७ न्यानोग्राम थियो, जबकि ग्रामीणहरूमा यो १६.२ न्यानोग्राम रहेको पाइएको छ।
शहरहरूमा देखिएको यस्तो स्वास्थ्य संकट केवल दिल्लीमा सीमित छैन। चेन्नई, पुणे, तिरुपति, अमरावतीजस्ता अन्य सहरमा गरिएको अनुसन्धानले पनि यही समस्या देखाएको छ। दक्षिण भारतको चेन्नईमा गरिएको एक अध्ययन अनुसार त्यहाँका गर्भवती महिलामध्ये ६२ प्रतिशतमा भिटामिन डीको कमी पाइयो। कैम्ब्रिज विश्वविद्यालय प्रेसमा प्रकाशित एक अन्य अध्ययनमा चेन्नईका ६६ प्रतिशत शहरी बासिन्दामा भिटामिन डीको अभाव देखिएको छ, चाहे उनीहरू मधुमेहका बिरामी हुन् वा स्वस्थ मानिने सामान्य नागरिक।

अझ चिन्ताको कुरा के छ भने, महिला सहभागीहरूमा यो कमी पुरुषभन्दा बढी पाइयो। डब्लुएचओले आफ्नो प्रतिवेदनमा पनि भिटामिन डीको अभाव महिलाहरूमा बढी हुने उल्लेख गरेको छ। भारतमा प्रचलित लुगा ढाक्ने संस्कार, घरबाहिरको सीमित पहुँच, र सामाजिक–धार्मिक व्यवहारले महिलाहरूलाई सूर्यको किरणबाट वञ्चित बनाइरहेको विज्ञहरू बताउँछन्।
भिटामिन डी शरीरलाई सूर्यको प्रकाशबाट प्राप्त हुने एक अत्यावश्यक पोषकतत्व हो। जब सूर्यको अल्ट्राभायोलेट किरण छालामा पर्दछ, तब छालाको माथिल्लो तहमा रहेको ‘७–डिहाइड्रोकोलेस्टेरोल’ नामक तत्वले प्रतिक्रिया जनाउँछ र भिटामिन डी–३ मा रूपान्तरण हुन्छ। त्यसपछि यो लिभर र मिर्गौलामार्फत प्रशोधित भएर सक्रिय भिटामिन डीमा रूपान्तरण हुन्छ। तर जब यो प्रक्रिया बाधित हुन्छ, तब शरीरमा थकान, मांसपेशी कमजोरी, हड्डी कमजोर हुनेजस्ता लक्षण देखिन थाल्छन्।
चेन्नईका छालारोग विशेषज्ञ डा. दक्षिणामूर्ति भन्छन्, “धेरैजसो मानिस सोच्दछन् कि केही मिनेट बाहिर हिँड्दा भिटामिन डी पर्याप्त मिल्छ, तर त्यो गलत हो। मोटा कपडा, झ्यालको सिसा, सनस्क्रिन, चश्मा र प्रदूषणजस्ता कारकहरूले सूर्यको किरणलाई छालासम्म पुग्नै दिँदैन।”
पुडुचेरीका सेवानिवृत्त चिकित्सक डा. पीटर थप्छन्, “सहरी जीवनशैली अब घामभन्दा सिसा, एसी र छाँयामा सीमित हुँदै गएको छ। मानिसहरू दिनभरि घर, अफिस, वा गाडीभित्र बस्छन्। यसरी घाम नपुग्दा शरीरले भिटामिन डी निर्माण गर्नै सक्दैन। आधुनिकताको सस्तो सुविधा महँगो स्वास्थ्य संकटमा परिणत हुन थालेको छ।”
त्यसैगरी, ग्रामीण क्षेत्रका मानिसहरू पनि पूर्णतः सुरक्षित भने छैनन्। यद्यपि उनीहरू खुला आकाशमुनि काम गर्ने सम्भावना बढी हुने भएकाले उनीहरूमा अभावको स्तर तुलनात्मक रूपमा कम देखिन्छ। तर सहरीकरणको लहरले अब ग्रामीण बानीहरू पनि शहरीकरणतिर मोडिँदै छन्, जसले भविष्यमा ग्रामीण समुदायलाई पनि जोखिममा पार्न सक्छ।
सवाल उठ्छ—के भारतजस्तो देशमा, जहाँ वर्षभरि राम्रै घाम लाग्छ, भिटामिन डीको यस्तो गम्भीर अभाव हुनु तर्कसंगत हो?
विज्ञहरू भन्छन्, समस्या घामको अनुपस्थितिमा होइन, घामबाट टाढिने बानीमा छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिहानको समयमा दैनिक १५ देखि ३० मिनेटसम्म खुला भागमा सूर्यस्नान गर्दा शरीरलाई आवश्यक भिटामिन डी प्राप्त गर्न सकिन्छ। यसमा पनि अनुहार, हात, खुट्टा जस्ता भाग खुलेका हुनुपर्छ, नकि कपडाले ढाकिएका।
खानपान पनि यो समस्याको समाधानको अर्को उपाय हो। दूध, अन्डा, माछा, च्याउ, र भिटामिन डी फोर्टिफाइड खानेकुरा सेवन गर्न सकिन्छ। तर गम्भीर कमी भएको अवस्थामा चिकित्सकको सल्लाहमा सप्लिमेन्ट लिनु आवश्यक हुन्छ।
भिटामिन डीको अभावले थकान, हड्डी दुख्ने, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने मात्र होइन, मधुमेह, मुटु रोग, मानसिक स्वास्थ्य जस्ता क्षेत्रमा पनि असर पार्ने पुष्टि भइसकेको छ।
आजको टेक्नोलोजीमैत्री, तर प्रकृतिविमुख जीवनशैलीले भोलिको पुस्तालाई कमजोर हड्डी, कम उर्जा, र उच्च जोखिमसहितको स्वास्थ्य बोझ दिने सम्भावना देखिएको छ।
यसैले समयमै चेतनाको विकास नगरे स्वास्थ्यमा आउने यो ‘मौन महामारी’ अझै गहिरिंदै जान सक्छ। बीबीसीबाट

