काठमाडौं, २५ फागुन । यसपटकको प्रतिनिधिसभा निर्वाचनले नेपाली राजनीतिमा ठूलो उलटफेर ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिक पुग्दा देशका धेरैजसो प्रमुख दलका शीर्ष नेताहरू पराजित भएका छन्। तीन जना बाहेक अधिकांश पार्टी अध्यक्ष तथा सभापतिहरू चुनाव हार्दा नेपाली राजनीतिमा नयाँ पुस्ताको उभार स्पष्ट देखिएको छ।
निर्वाचनमा रास्वपाका सभापति रवि लामिछाने, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मात्र विजयी हुन सके। तर अन्य धेरै प्रभावशाली नेताहरू मतदाताबाट अस्वीकार भए।
सबैभन्दा ठूलो राजनीतिक घटना झापा–५ मा देखियो। त्यहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रास्वपाका वरिष्ठ नेता बालेन शाहले फराकिलो मतान्तरले पराजित गरे। बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओली १८ हजार ७३४ मतमा सीमित भए। करिब ५० हजार मतान्तरको हारसँगै लामो समयदेखि आफ्नो राजनीतिक आधार क्षेत्र मान्दै आएका ओलीलाई ठूलो धक्का लागेको छ।
काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाह केही वर्षअघिसम्म ¥याप संगीतका कारण युवापुस्तामा चिनिन्थे। इन्जिनियरिङ पृष्ठभूमिका उनी अहिले नयाँ राजनीतिक पुस्ताको प्रतिनिधि पात्रका रूपमा उदाएका छन्।
यसैगरी नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पनि सर्लाही–४ मा पराजित भए। रास्वपाका अमरेश सिंहले ३५ हजार ६८८ मत ल्याएर विजयी हुँदा थापाले २२ हजार ८३१ मत मात्र पाए। यसले कांग्रेसभित्र नेतृत्व परिवर्तनपछि पनि जनमत आकर्षित गर्न कठिनाइ रहेको संकेत दिएको छ।
झापा–३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि पराजित भए। रास्वपाका प्रकाश पाठकले ३८ हजार ६७४ मत ल्याउँदै लिङ्देनलाई २१ हजारभन्दा बढी मतान्तरले हराए। पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका पाठकले शिक्षा, स्वास्थ्य र कृषि सुधारलाई प्राथमिकता बनाउने बताएका छन्।
काठमाडौं–३ मा नवगठित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पनि सफल हुन सकेनन्। रास्वपाका राजुनाथ पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी हुँदा घिसिङ दोस्रो स्थानमा सीमित भए। ऊर्जा क्षेत्रको सफल नेतृत्वका कारण चर्चित बनेका घिसिङलाई संसदीय राजनीतिमा पहिलो प्रयासमै झट्का लागेको हो।
मधेशमा पनि पुराना नेताहरूलाई मतदाताले चुनौती दिएका छन्। सप्तरी–३ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव रास्वपाका अमरकान्त चौधरीसँग पराजित भए। चौधरीले ३२ हजार ८७५ मत ल्याउँदा यादव १५ हजार २३९ मतमै सीमित भए।
सर्लाही–२ मा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो पनि रास्वपाका रविन महतोसँग पराजित भए। रविनले ४२ हजारभन्दा बढी मत ल्याएर जित्दा महतो पाँच हजार मतमै सीमित भए।
त्यस्तै सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पनि रास्वपाका युवा उम्मेदवार रामजी यादवले पराजित गरे। रामजीले २८ हजार ४०४ मत ल्याएर जित्दा राउत तेस्रो स्थानमा झरे।
यसरी हेर्दा यसपटकको निर्वाचनले नेपाली राजनीतिमा स्पष्ट सन्देश दिएको छ—मतदाताले परम्परागत नेतृत्वभन्दा नयाँ अनुहार र वैकल्पिक राजनीतिक शक्तिलाई प्राथमिकता दिएका छन्। पुराना दलका प्रभावशाली नेताहरू पराजित हुनु र नयाँ पुस्ताका उम्मेदवारहरूको उदय हुनु नेपाली राजनीतिमा परिवर्तनको संकेतका रूपमा हेरिएको छ।


