जनकपरधाम, ३१ साउन । अमेरिका र रूसबीच युद्धविरामबारे भएको वार्ता नतिजाविहीन टुंगिएसँगै रूस–युक्रेन युद्ध अझ चर्किएको छ। युक्रेनले डोनेट्स्कका केही गाउँ पुनः आफ्नो नियन्त्रणमा ल्याएको दाबी गरेको छ।
युक्रेनी सेनाले जनाएको छ कि डोनेट्स्कको पूर्वी क्षेत्रमा रहेका ती गाउँहरू रूसी सेनाले हालै मात्र कब्जा गरेका थिए। पोक्रोभ्स्क जिल्लास्थित डोब्रोपिलियाको आसपास भएको भिडन्तमा सयौँ रूसी सैनिक हताहत भएको युक्रेनको दाबी छ।
यसअघि युक्रेनी अधिकारीहरूले सुमी लगायतका क्षेत्रमा पनि लगातार रूसी हवाई आक्रमण भइरहेका जानकारी दिएका थिए।
त्यसैबीच, अलास्कामा भएको भ्लादिमिर पुटिन र डोनाल्ड ट्रम्पबीचको भेटवार्ता तीन घण्टाभन्दा बढी चले पनि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। सभार ः बीबीसी हिन्दी



