भाद्र कृष्ण अष्टमीको रात सदियौँदेखि विशेष मानिन्छ । जब मध्यरातको अँध्यारो फैलिएको थियो, अन्याय र अत्याचारको साम्राज्य चलिरहेको थियो, त्यही क्षण मथुराको कारागारमा प्रकाश फैलियो—भगवान् श्रीकृष्णको दिव्य अवतार भयो । कारागारका ढोका आफैं खुल्न थाले, शृङ्खला आफैं टुट्न थाले, र संसारमा आशा, धर्म र सत्यको नयाँ प्रभात उदायो । यो केवल एक जन्म होइन, धर्म र अधर्मबीचको शाश्वत संघर्षमा सत्यको पक्षमा ईश्वरीय उद्घोष थियो । यही स्मरण र श्रद्धासहित प्रत्येक वर्ष हामीले श्रीकृष्ण जन्माष्टमीलाई उत्सवका रूपमा मनाउँछौँ ।
कृष्णको जीवन बहुआयामिक छ । उनी केवल भगवान् मात्र होइनन्, समाजलाई प्रेम, सद्भाव र सत्यको बाटो देखाउने अद्वितीय शिक्षक पनि हुन् । बाल्यकालमा माखन चोर्ने लीला गर्दै उनले जीवनलाई रमाइलो र आनन्दले भरिनुपर्छ भन्ने संदेश दिए । गोवर्धन पर्वत उठाएर उनले समाजलाई एकताबद्ध भई विपत्ति सामना गर्न सकिन्छ भन्ने पाठ सिकाए। कालिय नाग दमन गर्दै उनले साहस र निर्भीकताको आदर्श देखाए । यी सबै घटनाहरू केवल पौराणिक कथामात्र होइनन्, समाजलाई शिक्षित गर्ने सांस्कृतिक आख्यान हुन् ।
उनको जीवनमा प्रेम र भक्ति विशेष स्थानमा छन् । राधासँगको सम्बन्धलाई संसारले अद्वितीय प्रेमको प्रतिकका रूपमा सम्मान गर्छ । त्यो प्रेम भौतिक वा स्वार्थी थिएन, त्यो आत्मा र परमात्माको मिलनको प्रतीक थियो। यसैले आज पनि लोकगीत, मैथिली भजन र चित्रकलामा राधाकृष्णको प्रेम अमर छ। यसले सिकाउँछ—साँचो प्रेम भनेको समर्पण हो, त्याग हो, र आत्मिक बन्धन हो ।
महाभारत युद्धमा निराश अर्जुनलाई दिएको गीता उपदेश मानव सभ्यताको महान् सम्पत्ति हो । कृष्णले भने—कर्म गर, फलप्रतिको मोह नगर, सुखदुःखमा सम रह। यही दर्शनले मानिसलाई जीवनका संकटमा दृढ रहन, धर्म र सत्यबाट कहिल्यै विचलित नहुन प्रेरणा दिन्छ । आजको भोगवादी, प्रतिस्पर्धी र तनावग्रस्त समाजमा गीता अझै बढी आवश्यक छ। यसले शान्ति, आत्मसंयम र सद्भावको बाटो देखाउँछ ।
जन्माष्टमी केवल धार्मिक पर्व होइन, यो सांस्कृतिक पर्व पनि हो । नेपाल–भारतका गली–चोकमा यस दिन भजन–कीर्तन गुञ्जिन्छ, झाँकी सजाइन्छ, बालकृष्णलाई झुला झुलाइन्छ । गाउँ–सहरमा मेला लाग्छ, लोकनृत्य र नाटक प्रस्तुत हुन्छन् । मिथिला र जनकपुरधाममा त यो दिन विशेष रौनक हुन्छ । महिलाहरू समूह बनाएर मैथिली–ब्रज भजन गाउँछन्, बालबालिकाले कृष्ण बनेर माखन चोर्ने झाँकी प्रदर्शन गर्छन्, मठ–मन्दिर दीपमालाले झिलिमिली हुन्छ । यसरी जन्माष्टमीले धर्मसँगै हाम्रो संस्कृति र लोकपरम्परालाई पनि जीवन्त बनाइरहेको छ।
कृष्णको दर्शन सामाजिक मेलमिलापमा पनि केन्द्रित छ । उनले सबैलाई प्रेम र सम्मान गर्ने शिक्षा दिए । सुदामासँगको मित्रता, गोपिनीहरूसँगको आत्मीयता, र युद्धभूमिमा अर्जुनसँगको संवादले यही कुरा स्पष्ट गर्छ। जात, वर्ग वा धनसंपत्तिको आधारमा होइन, आत्मा र आत्माको सम्बन्धकै आधारमा साँचो सद्भाव जन्मन्छ भन्ने शिक्षा कृष्णले दिएका छन् ।
आज जब हाम्रो समाज भोगवाद, हिंसा र विभाजनको संस्कृतिमा अल्झिएको छ, त्यतिबेला कृष्ण जन्माष्टमीले हामीलाई स्मरण गराउँछ—जीवनमा प्रेम, सत्य, करुणा र सहिष्णुता अनिवार्य छन्। असत्य र अन्यायले केही समय प्रभुत्व जमाउन सक्छ, तर अन्ततः सत्य र धर्मको विजय हुन्छ। यही कृष्णको जीवनबाट पाइने अटल सन्देश हो।
त्यसैले जन्माष्टमी केवल भजन गाउने वा मेला मनाउने दिन होइन, यो आत्मा र समाजलाई शुद्ध गर्ने अवसर हो। कृष्णलाई केवल मन्दिरका मूर्तिमा नभई आफ्नै जीवनशैलीमा आत्मसात् गर्ने दिन हो। जब हामी सबैले धर्मलाई आचरणमा उतार्छौं, प्रेमलाई सम्बन्धमा बुनिन्छौं, र सहिष्णुतालाई व्यवहारमा ल्याउँछौं, तब मात्र कृष्ण जन्माष्टमीको वास्तविक अर्थ पूरा हुन्छ।
जनकपुरधाममा कृष्णजन्मोत्सव भव्य रुपमा मनाइन्छ । यहाँको रेल्वे स्टेशन, राधाकृष्णमन्दिर लगायतको ठाउँमा पाँच दशक बढीदेखि निरन्तर रुपमा मनाउँदै आएको छ । कृष्ण जन्मोत्सवले सामाजिक, धार्मिक एवं साँस्कृति सन्देश पनि दिइन्छ ।

