जनकपुरधाम। सातामा पाँच दिन काम र त्यसपछि वीकएन्डको रमाइलो। तर अर्को हप्तादेखि फेरि कामकै पुरानो दुनियाँमा फर्किनुपर्ने अवस्था। अब सोच्नुपर्ने प्रश्न उठ्छ—यदि यस्तो गर्नै नपरोस् भने के हुनेछ?
कम कार्यदिवसले स्वास्थ्य र खुशी बढाउँछ
नेचर ह्युमन बिहेवियर नामक जर्नलमा प्रकाशित एक अध्ययनले देखाएको छ कि कामकाजी हप्ता चार दिन मात्र भएमा मानिसहरूको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। यसले कर्मचारीहरूको खुशी मात्र नभई जागिरप्रतिको सन्तुष्टिमा पनि बृद्धि गरेको पाइएको छ।
बोस्टन कलेजका अनुसन्धानकर्ताहरूले अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, आयरल्यान्ड र न्युजिल्यान्डका १४१ कम्पनीका कर्मचारीहरूबीच बर्नआउट, शारीरिक तथा मानसिक स्वास्थ्य र जागिर सन्तुष्टि जस्ता पक्षमा विस्तृत अध्ययन गरेका थिए।
अनुसन्धानकी प्रमुख लेखिका वेन फ्यानले बीबीसीलाई भनिन–
“हामीले कर्मचारीहरूमा स्पष्ट सुधार देख्यौं। कम्पनीहरूको उत्पादन र आम्दानी दुवै बढ्यो। ट्रायल सकिए पनि सहभागी ९० प्रतिशत कम्पनीहरूले चार दिनको कार्यतालिका निरन्तर लागू गर्ने निर्णय गरेका छन्।”
यसअघि पनि कम कार्यदिवसले सकारात्मक प्रभाव पार्ने तथ्यहरू प्राप्त भएका थिए, र बोस्टन कलेजको अध्ययनले ती निष्कर्षहरूलाई अझ बलियो प्रमाणसहित पुष्टि गरेको छ।
लामो समयसम्म काम गर्ने संस्कृति र चुनौती
तर प्रश्न उठ्छ—जब कम कार्यदिवसले यति धेरै फाइदा दिन्छ, हामी किन अझै लामो समय काम गर्न बाध्य छौं?
चीनको ‘९९६’ वर्क कल्चरमा कर्मचारी बिहान ९ बजेदेखि राति ९ बजेसम्म हप्तामा ६ दिन काम गर्छन्। भारतमा पनि प्रविधि र वित्त क्षेत्रमा कर्मचारीहरू विश्वव्यापी माग पूरा गर्न लामो तथा अनियमित घण्टा काम गर्न बाध्य हुन्छन्। जापानमा त अतिरिक्त घण्टा काम नगरी बस्नु सामान्य मानिन्छ, र यसले ‘करोशी’ अर्थात कामकै कारण मृत्यु भन्ने शब्द जन्माएको छ।
हिरोशो ओनो, जापानी श्रमबजार विशेषज्ञ भन्छन्–
“तिनीहरूले कार्यालयमा समयमै पुग्छन् र अनावश्यक रूपमा ढिलोसम्म बस्छन्। चाहे काम होस् वा नहोस्, यसरी बस्नु सामाजिक प्रतिबद्धता र परफर्मिङ आर्टको हिस्सा हो।”
तर प्रोफेसर फ्यानका अनुसार, परम्परागत सोच भएका देशहरूमा पनि अब परिवर्तन देखा पर्न थालेको छ। आइसल्यान्डमा करिब ९० प्रतिशत मानिसले कम घण्टा काम गर्ने अवसर पाएका छन्। दक्षिण अफ्रिका, ब्राजिल, फ्रान्स, स्पेन, डोमिनिकन रिपब्लिक, बोत्स्वाना र जापानमा चार दिनको कार्यहप्ता ट्रायल भइसकेका छन्।
काम र जीवन सन्तुलनको खोजी
‘फोर डे वीक ग्लोबल’ की सीईओ क्यारेन लोवे भन्छिन–
“कोभिडपछि धेरैलाई लाग्न थालेको छ कि उनीहरूको काम र जीवनबीच सन्तुलन छैन। अब यो प्रवृत्ति उल्ट्याउन सकिँदैन।”
अमेरिकाको कोलोराडोस्थित ‘सिटी अफ गोल्डन’ प्रहरी विभागको उदाहरण सफल छ। चार दिनको कार्यहप्ता लागू भएपछि ओभरटाइम करिब ८० प्रतिशत घट्यो र राजीनामा आधा भयो।
दक्षिण अफ्रिकाको अनुभव
स्टेलनबोस विश्वविद्यालयको काउन्सलिङ सेन्टरका निर्देशक चार्ल डेभिड्सले चार दिनको कार्यहप्ता लागू गरेपछि कर्मचारीहरूको मानसिक स्वास्थ्य सुधार भएको बताए। ट्रायल अघि कर्मचारीहरूले वर्षमा ५१ पटक बिरामी विदा लिएका थिए, चार दिनको हप्तापछि यो घटेर ४ मा झ¥यो।
डेभिड्स भन्छन्–
“कर्मचारीहरूले राम्रो निद्रा पाए, व्यायाम गर्न थाले र आफ्ना शौक पूरा गर्ने समय पाए। यसले कामको गुणस्तर र संवेदनशीलता बढायो।”
समान समाधान सबै ठाउँमा लागू हुँदैन
तर यस्तो परिवर्तन सबै क्षेत्रमा सम्भव छैन। कृषि, खानी वा असंगठित क्षेत्रमा काम गर्नेहरू अझै लचकदार कार्यसमयबाट टाढा छन्। शारीरिक श्रम र कम सीप भएका क्षेत्रमा नियोक्ताले समय तालिका मिलाउनुभन्दा नाफा बढाउनेमा ध्यान दिन्छ।

युवा पुस्ता र कार्यसंस्कृति परिवर्तन
विशेषज्ञहरू भन्छन्—यो परिवर्तनको मुख्य शक्ति युवा पुस्ता हुनेछ। २०२५ मा गरिएको विश्वव्यापी सर्वेक्षणले देखायो कि वर्क–लाइफ ब्यालेन्सलाई तलबभन्दा बढी प्राथमिकता दिइन्छ। चीनमा ‘ल्याइङ फ्ल्याट’ र अमेरिका तथा युरोपमा ‘ग्रेट रिजाइन’ र ‘क्वाएट क्विटिङ’ जस्ता आन्दोलनहरूले युवा पुस्ताले नयाँ तरिकाले असन्तुष्टि व्यक्त गर्न थालेका छन्।
प्रोफेसर फ्यान भन्छन्–
“कोभिड पहिलो टर्निङ पोइन्ट थियो। अब अर्को टर्निङ पोइन्ट चार दिनको कार्यहप्ता हुनेछ।”
निष्कर्ष
चार दिनको कार्यसप्ताह केवल कामको समय घटाउनु मात्र होइन, यो स्वास्थ्य, खुशी र जीवन सन्तुलनको लागि एउटा नयाँ मार्ग हो। चुनौती र परम्परागत बाधाहरू भए पनि, युवा पुस्ताको दबाव, प्रमाणित सफल ट्रायल र बदलिँदो सोचले भविष्यमा कार्यसंस्कृतिमा ठूलो परिवर्तन ल्याउने स्पष्ट संकेत दिएका छन्। साभारः बीबीसी/हिन्दी

