जनकपुरधाम, २१ भदौ । मधेश प्रदेश भलिबल संघको तेस्रो वार्षिक साधारणसभा शनिबार जनकपुरधाममा भव्यताका साथ सम्पन्न भएको छ । संघका अध्यक्ष तथा मधेश प्रदेश सरकारका पूर्वमन्त्री ज्ञानेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भलिबलका पूर्व खेलाडी विजय कुमार मण्डल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । सभामा विभिन्न खेलकर्मी, प्रशिक्षक, संघका पदाधिकारी, खेलप्रेमी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि विजय कुमार मण्डलले भलिबल मात्र खेल नभई मानिसलाई स्वास्थ्य र फिटनेसमा सहयोग गर्ने माध्यम भएको बताउँदै खेलकुदले अनुशासन, मर्यादा तथा समृद्धि ल्याउने धारणा राख्नुभयो । उहाँले नेपाल सरकार खेलकुदप्रति उदासीन भएको भन्दै यसलाई समृद्धिको बाधकका रूपमा चित्रित गर्नुभयो । उहाँले भन्नुभयो, “खेलकुदमा लगानी नगरी समृद्धि सम्भव छैन । खेलाडीलाई पनि आरक्षणको व्यवस्था गरिनुपर्छ, खेल तथा खेलाडीको सम्मान र विकासबिना देशको समृद्धि सम्भव छैन ।”
कार्यक्रमका अध्यक्ष ज्ञानेन्द्र कुमार यादवले खेलकुद युवालाई अनुशासित बनाउने, स्वास्थ्यप्रद विचार दिने र सामाजिक रूपमा जिम्मेवार बनाउने माध्यम भएको बताउँदै वर्तमान अवस्थामा खेलकुद क्षेत्र उपेक्षित भएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले लामो संघर्षपछि खेलकुदसम्बन्धी ऐन बने पनि हालसम्म नियमावली नबनेकाले खेल क्षेत्रमा विकास सन्तोषजनक रूपमा अघि नबढेको उल्लेख गर्नुभयो । खेलकुदले न केवल व्यक्तिगत स्तरमा स्वास्थ्य सुधार गर्छ, बरु सामाजिक प्रतिष्ठा, आर्थिक आम्दानी र राष्ट्रको समृद्धिमा पनि योगदान दिन्छ भन्ने धारणा उहाँले प्रस्तुत गर्नुभयो । उहाँले सरकारलाई उत्कृष्ट खेलाडीलाई निःशुल्क शिक्षा, नियमित प्रशिक्षण तथा भरणपोषणको जिम्मेवारी लिनुपर्ने माग गर्नुभयो ।
उहाँले अन्तर्राष्ट्रिय उदाहरण प्रस्तुत गर्दै जुन देशमा खेलकुदको विकास भएको छ, त्यहाँ सरकारको लगानी प्रभावकारी भएको र त्यसले मुलुकको चौतर्फी विकासमा टेवा दिएको स्पष्ट पार्नुभयो । उहाँले खेलकुदलाई विकासको मूलधार मान्नुपर्ने र खेलाडीहरूलाई रोजगार र सेवा सुविधा दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । साथै, खेलकुदसम्बन्धी क्यालेन्डर निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनमार्फत खेल क्षेत्रलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो। खेलाडीहरूको प्रतिभा विकासका लागि सबै खेलाडीहरू, संघसंस्था तथा सरकार एकजुट भएर अघि बढ्नुपर्ने उहाँको आग्रह थियो ।
कार्यक्रममा महासचिव रामाशंकर चौधरीले संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरी संघको आयव्यय विवरण र आगामी योजना सार्वजनिक गर्नुभयो।
सभामा प्रस्तुत प्रतिवेदनअनुसार मधेश प्रदेशमा खेलकुद विकासका क्रममा विभिन्न समस्याहरू देखिएका छन्, जसमा मुख्यतः नियमावली अझै निर्माण नभएको, विज्ञहरूसँग समन्वय र सहकार्यको अभाव, खेललाई व्यवसायिक रूपमा विकास गर्न नसकिएको, कर्भडहल तथा खेलकुद सामग्रीको व्यापक अभाव, प्रदेश तथा स्थानीय सरकारसँग खेलकुदको वार्षिक क्यालेन्डरको अभाव, र संघ तथा सरकारबीच समन्वयमा अझै सुधार आवश्यक रहेको उल्लेख गरिएको छ।
यसैगरी, सभामा खेलकुद क्षेत्रको समृद्धिका लागि विभिन्न मागहरू अघि सारिएका छन् । तीमध्ये प्रमुख मागहरूमा खेलकुद क्षेत्रका लागि आवश्यक बजेटको सुनिश्चितता, खेलाडीहरूको रोजगारको व्यवस्था, दक्ष मानव स्रोतको विकास, खेलकुदलाई व्यवसायिक रूपमा रूपान्तरण गर्ने नीति निर्माण, खेल मैदान, कर्भडहल तथा खेल सामग्रीको व्यवस्था, र वार्षिक खेलकुद क्यालेन्डरको निर्माण तथा कार्यान्वयनको माग प्रमुख छन्।
यस साधारणसभाबाट प्रदेशमा भलिबल खेलको मात्र नभई समग्र खेल क्षेत्रको विकासका लागि नीति, पूर्वाधार, स्रोत तथा सहकार्यमा स्पष्ट दिशा र दृष्टिकोण तय हुने विश्वास गरिएको छ ।

