नेपाली कांग्रेसको पुनर्जीवनका लागि विशेष महाधिवेशन आज अपरिहार्य आवश्यकता बनेको छ। समयको घडी हरेक दिन हामीलाई सचेत गराइरहेको छ कि अब ढिला गरियो भने कांग्रेस मात्र होइन, देशकै भविष्य जोखिममा पर्नेछ। हामी सबैलाई थाहा छ, नेपाली कांग्रेस केवल एउटा पार्टी होइन, यो देशको लोकतान्त्रिक यात्राको मेरुदण्ड हो, यो नेपाली जनताको आशा र सपना हो। जब नेपालले स्वतन्त्रताको खोजी गरिरहेको थियो, त्यसबेला यो पार्टीले बाटो देखाएको थियो। जब पञ्चायतको अँध्यारोमा जनता घुटमुटिएका थिए, यसै पार्टीले बिहानको पहिलो रश्मि भित्र्याएको थियो। जब गणतन्त्रको सपना असम्भव देखिन्थ्यो, यसै पार्टीले जनतालाई सडकमा ल्याएर त्यसलाई सम्भव बनाएको थियो। तर विडम्बना के छ भने, आज यो गौरवमय संगठन आफ्नै छायामा हराइरहेको छ, आफ्नै जरा काटिरहेको छ।
यथास्थितिवादको जालले काँग्रेसलाई बाँधेको छ। नयाँ विचार, नयाँ सपना र नयाँ पुस्ताको आकांक्षालाई अँगाल्न नसक्ने बानीले यसलाई पुरानो किताबझैँ बनाइदिएको छ—जसलाई पुस्ताले पढ्दैन, तर बिर्सन पनि सक्दैन। बीपी कोइरालाले कल्पना गरेको समाजवाद आज केवल भाषणको बुँदा बनेर सीमित छ, प्रदीप गिरीले देखाएको नैतिक आदर्श केवल श्रद्धाञ्जलि सभामै सम्झिने शब्दमा सीमित छ। तर कांग्रेस त जीवित पार्टी हो, यसलाई केवल स्मृति र श्रद्धाञ्जलिमा सीमित गर्न मिल्दैन। यसलाई फेरि जीवन्त बनाउन आवश्यक छ—विशेष महाधिवेशन, जसले पुरानो भित्तामा नयाँ रंग हाल्ने मात्र होइन, पुरानो जगलाई बलियो बनाउने काम गर्नेछ।
नयाँ पुस्ता हाम्रो ढोकामा दस्तक दिइरहेको छ। उनीहरूले हरेक दिन हामीलाई प्रश्न गरिरहेका छन्—कांग्रेस त हामीकै लागि हो भने किन हामीलाई प्रवेशद्वारमै रोकिन्छ? किन नेतृत्व सधैं पुरानै अनुहारले भरिन्छ? किन युवाको सपना र आवाजलाई सुन्ने साटो, पाखा लगाइन्छ? आजको युवा पुस्ता इन्टरनेटमा संसार नाप्ने पुस्ता हो। उनीहरूले दुनियाँको राजनीति र प्रवृत्तिलाई हेरेर नेपालको राजनीति पनि तुलना गर्छन्। उनीहरूलाई पुरानो आदत, भाषण र भाषणको खोक्रोपनाले आकर्षित गर्दैन। उनीहरूलाई परिणाम चाहिन्छ, नीति चाहिन्छ, कार्यशैलीमा परिवर्तन चाहिन्छ। यदि कांग्रेसले उनीहरूको भाषा बोल्न सकेन भने, उनीहरू पार्टीको ढोका छोडेर जानेछन्। यही कारण विशेष महाधिवेशन हाम्रो लागि नयाँ पुस्तासँग संवाद सुरु गर्ने सेतु हो, जसले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा मिलाएर नयाँ बाटो खोल्छ।
तर हामीलाई यो पनि स्वीकार्नैपर्छ कि कांग्रेसलाई केवल पुस्तान्तरणको प्रश्नले मात्र कमजोर बनाएको होइन। भ्रष्टाचार र असक्षम नेतृत्वको छायाँले यसलाई रोगी बनाएको छ। जनताले कांग्रेसलाई हेर्दा अझै आशा गर्छन्, तर विश्वास भने हराइसकेको छ। टिकट बिक्रीको कथा, पदव्यापारको हल्ला, पहुँचवादी चलन, र राज्य शक्तिको दुरुपयोगका घटनाले आम नागरिकको मनमा कांग्रेसप्रति वितृष्णा जन्माएको छ। यो केवल प्रतिपक्षीको आरोप होइन, यो हाम्रो आफ्नै कार्यशैलीको नतिजा हो। यस्तो अवस्थामा पार्टीलाई शुद्धीकरण गर्नुपर्ने हुन्छ, नयाँ नेतृत्व ल्याउनुपर्ने हुन्छ, अनुशासनमा बाँध्नुपर्ने हुन्छ। र त्यो काम नियमित बैठक वा साना सुधारले सम्भव हुँदैन, त्यसका लागि विशेष महाधिवेशन आवश्यक हुन्छ, जसले रोगलाई जरा समेत उखेल्ने साहसिक निर्णय लिन्छ।
नेपाल अहिले आन्तरिक मात्र होइन, बाह्य चुनौतीमा पनि घेरिएको छ। भूपरिवेष्ठित राष्ट्रको हैसियतमा हाम्रो राष्ट्रियता संवेदनशील विषय हो। दक्षिण र उत्तर दुबै दिशाबाट बढ्दो दबाब, असमान विकास, सामाजिक विभाजन र जातीय तनावले राष्ट्रिय एकतालाई कमजोर पारिरहेको छ। यस्तो बेलामा राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई मजबुत बनाउने जिम्मा कांग्रेसकै काँधमा पर्छ। तर जब पार्टी आफैं किचलोमा फस्छ, आन्तरिक गुटमा अल्झिन्छ, त्यस्तो पार्टी राष्ट्रको मेरुदण्ड कसरी बन्न सक्छ? त्यसैले विशेष महाधिवेशन केवकक संगठनात्मक अभ्यास होइन, राष्ट्रिय जिम्मेवारी पनि हो। यो महाधिवेशनले विचारमा स्पष्टता ल्याएर कांग्रेसलाई पुनः अग्रपंक्तिमा ल्याउने हो।
कांग्रेस आज गुटगत स्वार्थको मैदान बनेको छ। कुन नेता कुन पक्षमा भन्ने आधारमा निष्ठा मापन हुन्छ, विचारभन्दा बढी व्यक्तिको वरिपरि घुम्ने प्रवृत्ति बढेको छ। तर कांग्रेस कुनै व्यक्तिको सम्पत्ति होइन, यो जनताको सम्पत्ति हो। यो त लाखौं नेपालीले दिएको पसिना, आँसु र रगतको स्मारक हो। यसलाई स्वार्थको व्यापारमा बेच्न मिल्दैन। कांग्रेसलाई पुनः विधि र मूल्यमा आधारित, पारदर्शी, स्वाभिमानी र समावेशी संगठन बनाउन आवश्यक छ। विशेष महाधिवेशन त्यसको ढोका हो, जसले काँग्रेसलाई फेरि आफ्नो घर बनाउन जनतालाई आमन्त्रण गर्नेछ।
आज हामीले बुझ्नैपर्छ—विशेष महाधिवेशनको माग कुनै विद्रोह होइन। यो त हाम्रो प्रेमको भाषा हो, हाम्रो आस्थाको स्वर हो, हाम्रो जिम्मेवारीको आह्वान हो। हामी पार्टीलाई कमजोर पार्न चाहेका होइनौं, बरु पार्टीलाई बलियो बनाउन चाहेका हौं। हामी नेताको कुर्सी खोस्न चाहेका होइनौं, बरु कुर्सीलाई नै जनताको भरोसामा टिकाउन चाहेका हौं। यो आन्दोलन नेतृत्वलाई अपमानित गर्न होइन, बरु जनतालाई सम्मानित बनाउन हो।
समय कुनै पनि कुराको लागि पर्खंदैन। आज हामीले निर्णय ग¥यौं भने मात्र भोलि कांग्रेस बलियो हुनेछ। आज हामीले विशेष महाधिवेशनलाई अंगाल्यौं भने मात्र भोलि कांग्रेस फेरि जनताको मनमा बस्नेछ। नत्र भने इतिहासले कांग्रेसलाई केवल एउटा गौरवशाली तर समाप्त भइसकेको अध्यायको रूपमा मात्र सम्झनेछ। त्यो हाम्रो लागि, हाम्रो भविष्यका लागि र हाम्रो पार्टीप्रति जनताको प्रेमका लागि असह्य हुनेछ।
तसर्थ, आउनुहोस्, हामी सबै व्यक्तिगत स्वार्थ, गुटगत सोच र पुरानो आदतको बन्धनबाट माथि उठौं। देश र जनताको भविष्यलाई सोचौं। लोकतन्त्रलाई जीवन्त बनाउन, समाजवादलाई व्यवहारमा उतार्न, राष्ट्रियतालाई मजबुत बनाउन र कांग्रेसलाई फेरि जनताको पहिलो रोजाइ बनाउन, हामी सबै एकताबद्ध होऔं।
विशेष महाधिवेशनले कांग्रेसलाई नयाँ श्वास दिनेछ। यो श्वासले पार्टीलाई फेरि जागृत बनाउनेछ। यो जागरणले लोकतन्त्रलाई बचाउनेछ। र यो लोकतन्त्रले नेपाललाई नयाँ दिशा दिनेछ।
उहाँ धनुषा क्षेत्र नं. १ को महाधिवेशन प्रतिनिधि हुन ।

