काठमाडौं, १३ असोज । चीनका पूर्व कृषिमन्त्री ताङ रेनजियानलाई भ्रष्टाचार प्रकरणमा मृत्युदण्डको सजाय सुनाइएको छ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार ताङले सन् २००७ देखि २०२४ सम्म विभिन्न पदमा रहँदा ५ अर्ब ७ करोड रुपैयाँभन्दा बढी नगद र सम्पत्ति घुसस्वरूप लिएका थिए।
अदालतले उनलाई मृत्युदण्ड सुनाए पनि दुई वर्षको समयावधि (suspended death sentence) दिइएको छ। फैसला अनुसार ताङका सम्पूर्ण राजनीतिक अधिकारहरू खोसिने, सम्पत्ति जफत हुने र घुसमार्फत संकलित सम्पत्ति राष्ट्रकोषमा जम्मा गरिनेछ।
अदालतले यो प्रकरणले देश र जनताको हितमा ठूलो क्षति पुर्याएको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको जनाएको छ। सिन्ह्वाका अनुसार ताङले आफ्ना अपराध स्वीकार गर्दै पश्चाताप प्रकट गरेका छन्।
यो सजायलाई राष्ट्रपति सी जिनपिङको भ्रष्टाचारविरोधी अभियानको हिस्सा मानिएको छ। यसअन्तर्गत चीनका उच्चपदस्थ नेताहरूलाई पनि कारबाही हुँदै आएको छ। समर्थकहरूले यसलाई स्वच्छ शासनतर्फको कदम भनेका छन् भने आलोचकहरूले यसलाई राजनीतिक प्रतिद्वन्द्वी हटाउने हतियारका रूपमा वर्णन गरेका छन्।
ताङ यसअघि गान्सु प्रान्तका गभर्नर र ग्वाङ्सी स्वायत्त क्षेत्रका उपाध्यक्षसमेत रहिसकेका थिए। उनका पछि पूर्व रक्षा मन्त्री ली शाङफु र वेई फेङहे पनि भ्रष्टाचार अनुसन्धानको दायरामा परेको समाचार छ।

