जनकपुरधाम, २७ असोज । मधेश प्रदेशमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिता जस्ता महत्वपूर्ण विषयमा सोमवार जनकपुरधाममा विस्तृत छलफल गरिएको छ । कृषि प्रदेशको रुपमा परिचित मधेशमा राज्यको दीर्घकालीन उदासिनताका कारण कृषि उत्पादनमा समस्या देखिँदै आएको सहभागीहरूले उल्लेख गरेका छन् ।
कार्यक्रममा जलवायु परिवर्तनका कारण कृषि उत्पादन प्रभावित भइरहेको अवस्थालाई ध्यानमा राख्दै कृषिको क्षेत्रमा सञ्चारमाध्यमको भूमिका कति महत्त्वपूर्ण हुनसक्छ भन्नेबारे गम्भीर बहस भएको थियो । सहभागीहरूले सञ्चारमाध्यमलाई चौथो अंगको मान्यता दिइँदै आए पनि कृषिको क्षेत्रमा यसको भूमिका अझै प्रभावकारी नबनेको गुनासो गरेका छन् ।
सिआइएन, एफएओ र एकोर्यापको संयुक्त आयोजनामा सम्पन्न छलफल कार्यक्रममा मधेश प्रदेशका आठवटै जिल्लाका सञ्चारकर्मीहरूको उपस्थिति थियो । कृषि प्रधान प्रदेशमा कृषि पत्रकारिताको अभाव हुनु दुःखद रहेको सहभागीहरूले औल्याए ।
तराई(मधेशमा उत्पादित अन्नले देशलाई भरणपोषण गर्न सक्ने सम्भावना रहे पनि तीनै तहका सरकार यसतर्फ पर्याप्त गम्भीर नदेखिएको आरोप सहभागीहरूले लगाएका छन् । कृषिमा राज्यको लगानी र प्राथमिकता कमजोर रहेकोले सञ्चारमाध्यमहरूले यस क्षेत्रमा बढी ध्यान दिनुपर्ने आवाज उठाइएको छ ।
कार्यक्रममा सिआइएनका प्रतिनिधि लिलप्रसाद चन्द्र, एफएओकी प्रतिनिधि रञ्जिता मिश्र र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा. सरोज चौधरीले कृषि पत्रकारिता, खाद्य सुरक्षा र कृषि प्रसारसँग सम्बन्धित विषयमा डिजिटल प्रस्तुति दिएका थिए ।

छलफलमा कृषि क्षेत्रमा प्रचार(प्रसारको कमी, कृषि प्रसार संरचनाको अभाव, कृषि पत्रकारिताको आवश्यकता, कृषि समाचार स्रोतको सुदृढीकरण, समयमै मल, बीउ तथा प्राविधिक सहयोग नपाउनु, जटिल प्रक्रिया, अनुसन्धानको कमी, किसानलाई प्रोत्साहन नहुने, कृषि बीमाको सीमित प्रयोग लगायत विषयमाथि व्यापक बहस भयो ।
कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघ धनुषा अध्यक्ष पुरण गुप्ता, पिपल प्रमोट सेन्टरका प्रोराइटर कमलेश मण्डल सहितका व्यक्तिहरुले आफ्ना विचार राखेका छन् ।
कार्यक्रममा वरिष्ठ बागवानी विकास अधिकृत प्रदीप कुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा. सरोज चौधरी लगायतका व्यक्तित्व तथा कृषि क्षेत्रमा सक्रिय सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

