जनकपुरधाम, ५ कात्तिक । जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न १३ वटा वडामा बसोबास गर्दै आएका दलित तथा सीमान्तकृत समुदायका महिलाहरूलाई उद्यमशीलता र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले सिलाइ मेशिन तथा आवश्यक सामाग्री वितरण गरिएको छ ।
मंगलवार जनकपुरधाममा जानकी महिला जागरण समाज (जवास)को आयोजनामा तथा स्ट्रीट चाइल्ड युकेको आर्थिक सहयोगमा ११९ जना महिलालाई सोम सामग्री वितरण गरिएको हो । कार्यक्रम अन्तर्गत पहिलो चरणमा ११७ जनालाई सिलाइ कटाइ मेशिन सेट तथा २ जनालाई पिके मेशिन हस्तान्तरण गरिएको छ ।

जानकी महिला जागरण समाजकी अध्यक्ष मन्दा कुमारी कर्णको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले दलित तथा सीमान्तकृत समुदायलाई आत्मनिर्भर बनाउने यस्ता कार्यक्रमले आर्थिक तथा सामाजिक सशक्तीकरणमा ठुलो योगदान पु¥याउने बताए ।
उनले भने, “गरिबी घटाउन र आत्मनिर्भर समाज निर्माण गर्न महिलाहरूलाई सीप सिकाएर उद्यमशील बनाउनु अत्यावश्यक छ । सिलाइ मेशिन महिलाहरूका लागि आम्दानीको एउटा प्रभावकारी साधन बन्न सक्छ ।”
त्यस्तै राष्ट्रिय दलित पत्रकार संघ, मधेश प्रदेशका अध्यक्ष कैलास दासले राज्यका नीतिगत स्तरमा दलित समुदायलाई अझै पनि उपेक्षा गरिएको बताए । प्रदेशमा करिब १८ प्रतिशत दलित जनसंख्या रहेको उल्लेख गर्दै उनले भने, “शिक्षा, स्वास्थ्य र रोजगारीमा सबैभन्दा कम पहुँच दलित समुदायको छ । यस्तो अवस्थामा गैरसरकारी संस्थाले गरेको यस्ता पहलले वास्तविक परिवर्तन ल्याउन सक्छ ।”
दासका अनुसार आर्थिक सशक्तीकरण र सीप विकास कार्यक्रमले दलित महिलाको जीवनस्तर उकास्न टेवा पु¥याउनेछ । उनले थपे, “जबसम्म दलित समुदाय शिक्षित र आर्थिक रूपमा सशक्त हुँदैन, तबसम्म अधिकार प्राप्त गर्न सकिँदैन । यस्ता कार्यक्रम शिक्षा र उद्यमशीलता जोड्ने पुलको रूपमा उपयोगी छन् ।”
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कुमार कर्ण, कार्यपालिका सदस्य मञ्जु दास लगायत सामाजिक तथा स्थानीय सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो ।

जवासकी अध्यक्ष मन्दा कुमारी कर्णका अनुसार कार्यक्रम वडा नं. १, १३, २४, १२, १७, १८, १९, २०, २१, २२, २३, २४ र २५ मा सञ्चालन भइरहेको छ । सहभागी महिलाहरूलाई सिलाइ कटाइ तालिमसँगै आधारभूत शिक्षा समेत प्रदान गरिँदै आएको छ । उनले भनिन्, “हामीले महिलालाई सीप मात्र होइन, आत्मविश्वास र आत्मनिर्भरता दिने प्रयास गरेका छौं ।”
यस कार्यक्रमबाट सहभागी महिलाहरूलाई परिवार र समाजमा आर्थिक भूमिकामा सशक्त बनाउन सकिने अपेक्षा गरिएको छ । दलित तथा सीमान्तकृत समुदायका महिलालाई लक्षित गरी गरिएको यस्ता सीप विकास कार्यक्रमलाई स्थानीय तहले नीतिगत रूपमा समर्थन गरेमा मधेश प्रदेशमा महिला सशक्तीकरणको नयाँ ढोका खुल्ने सरोकारवालाहरूको भनाइ छ ।



