रामजानकी विवाहोत्सव केवल एक धार्मिक पर्व मात्र होइन; यो इतिहास, संस्कृति र अस्मिताको पुनर्जागरण पनि हो । प्रत्येक वर्ष जनकपुरधाममा मनाइने यस पर्वले हजारौँ वर्षअघिको दिव्य विवाहलाई पुनर्जीवित गराउँछ ।
रामजानकी विवाहोत्सवमा जन्तीको आगमन, दुलहादुलहीको स्मरण, मण्डपको ऐतिहासिक पुनर्संरचना, यी सबै धार्मिक अनुष्ठान मात्र होइनन, यिनले जनकपुरधामलाई विश्वका प्रमुख धार्मिक गन्तव्यहरूमध्ये अग्रस्थानमा उभ्याउने क्षमता राख्छन् । रामसीताको विवाह कुनै साधारण कथा होइन, यो दक्षिण एशियाको साझा संस्कृति र भावनाको केन्द्र हो । यही कारण नेपाल, भारत, श्रीलंका, थाइल्याण्ड, कम्बोडिया, इन्डोनेशियासम्म यसको सांस्कृतिक प्रभाव देखिन्छ । यति गहिरो सांस्कृतिक कडी बोकेको जनकपुरधाम पर्यटनका दृष्टिले किन आज पनि उपेक्षित छ ? यही प्रश्न राज्य र समाज दुवै सामु उठिरहेको छ ।
विवाहोत्सव पहिले एक महिनासम्म मनाइन्थ्यो । त्यो समयमा शहर उत्सवमै डुबेको जस्तो देखिन्थ्यो । रीतिथिति, सांस्कृतिक प्रदर्शन, जन्तीको स्वागत यात्रा सबैले जनकपुरधामलाई आध्यात्मिक उज्यालोले नंघार्थे । तर समयसँगै महोत्सव १५ दिनमा झ¥यो र आज केवल एक साताकै औपचारिकतामा सीमित भएको छ । भीड त अझै आउँछ, तर त्यही उत्साह, उमंग र उज्यालो पहिलेजस्तो छैन । महोत्सव त छ, तर व्यवस्थापन, संरचना, प्रचारप्रसार र पर्यटनमैत्री वातावरण अझै पनि अधुरै छन् ।
जनकपुरधामले विवाहोत्सवका माध्यमबाट विश्वभरका हिन्दू धर्मावलम्बीलाई तान्ने शक्ति राख्छ । भारतको अयोध्यामा राज्यले व्यापक लगानी गरेर राम मन्दिरलाई विश्व धार्मिक गन्तव्य बनाइरहेको छ । त्यहाँ दैनिक हजारौँ दर्शनार्थी भित्रिन्छन्, स्थानीय अर्थतन्त्र फस्टाइरहेको छ । तर जनकपुरधाममा राज्यको ध्यान अझै प्रतीक्षाको रूपमा देखिन्छ । धार्मिक मार्ग अव्यवस्थित छन्, आवास व्यवस्था अन्तर्राष्ट्रिय स्तरमा कमजोर छ, सूचनाको अभाव छ, पर्यटन पूर्वाधार न्यूनतम छन् । परिणामस्वरूप, विवाहोत्सवजस्तो विश्वस्तरीय सांस्कृतिक सम्पदा पनि सीमित दायराभित्रै कैद हुन्छ ।
ज्ञानभूमि, तपोभूमि र मोक्षभूमिका रूपमा मानिने जनकपुरधाम अध्यात्मिक गहिराइले भरिएको छ । यहाँ ऋषिमुनिहरूले तप गरेर सिद्धि प्राप्त गरेको भनाइहरू प्रचलित छन् । अष्टावक्रले शंकराचार्यजस्ता विद्वानलाई ज्ञानशास्त्रमा पराजित गरेको कथा आज पनि जीवित परम्पराजस्तै छ । ‘यहाँ अन्यत्र गरेको पाप कट्छ, तर यहाँ गरेको पाप अन्यत्र कतै कट्दैन’ भन्ने उक्ति यस भूमिको नैतिक गाम्भीर्यको प्रतिरूप हो । यस्ता आध्यात्मिक सम्पदाहरू धार्मिक यात्रुका लागि स्वतः आकर्षण हुन्, र यिनले अपार पर्यटन सम्भावना बोकेका छन् ।
तर सम्भावना र यथार्थबीचको दूरी अझै लामो छ । राज्यको उदासीनता र समाजको चेतनाको कमीका कारण जनकपुरधामका धार्मिक शक्तिलाई पर्यटनको वास्तविक आधारमा परिणत गर्न सकिएको छैन । यहाँका धार्मिक मार्ग, जन्ती चल्ने परम्परागत बाटो, तपस्थल, साधनास्थल र विदेह राज्यका ऐतिहासिक अवशेष यी सबै चिन्हित, संरक्षित र विश्वस्तरमा प्रस्तुत गर्न सकिने खजाना हुन् । तर अहिले पनि जनकपुरधामको विकास धार्मिक गहिराइमै सीमित छ, पर्यटनका आधुनिक आवश्यकता भने ओझेलमै छन् ।

पर्यटन केवल दर्शनको यात्रा होइन; त्यो अनुभव, व्यवस्था र अर्थतन्त्रको संयोजन हो । अयोध्याको उदाहरण स्पष्ट छ, त्यहाँ राज्यले अर्बौँ लगानी गर्दै धार्मिक पर्यटनलाई आर्थिक रूपान्तरणमा बदलेको छ । जनकपुरधाम पनि यदि राज्यको प्राथमिकतामा पर्न सक्यो, दीर्घकालीन गुरुयोजना बनाउन सकियो, संरचना र प्रचारको एकीकृत मोडेल अवलम्बन गर्न सकियो भने दक्षिण एशियाको प्रमुख धार्मिक पर्यटन केन्द्र बन्न सक्छ ।
विवाहोत्सवको सांस्कृतिक विविधता विश्वभर प्रदर्शनयोग्य हो । जन्ती आगमन, मण्डपपूजन, पारम्परिक गीत–भजन, मिथिला परम्पराको स्वागत विधि यी दृश्य व्यवस्थित रूपमा प्रस्तुत गरिए हजारौँ विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ । यस्ता सांस्कृतिक चित्रण ‘रामायण–सर्किट’ को केन्द्रीय शक्ति बन्न सक्छन् । तर अहिले त्यो सम्भावना व्यवस्थापनहीनताले कमजोर पारीदिएको छ । यसका लागि जनकपुरवासीको भूमिका पनि महत्त्वपूर्ण छ । उनीहरूले आफ्नो शहरलाई धार्मिक तथा पर्यटन राजधानीकै रूपमा बुझेर स्वच्छता, सौन्दर्यकरण, व्यवहार र समन्वयमा सक्रियता देखाउन सके यसको प्रत्यक्ष प्रभाव पर्यटनमा पर्छ । तर शहरको गतिविधि जानकी मन्दिर वरपर सीमित हुने, अन्य क्षेत्रहरू अँध्यारो देखिनु, व्यापारिक चहलपहल न्यून हुनु यी सबैले विवाहोत्सवको प्रभावलाई सीमित बनाइदिन्छ ।
यहाँको विकासका योजना केवल कागजमै सीमित भएर हुँदैनन् । ऐतिहासिक मार्ग पुनर्जीवन, विवाहोत्सवको आधुनिक व्यवस्थापन, डिजिटल प्रचार, अन्तर्राष्ट्रिय सहकार्य, धार्मिक–सांस्कृतिक पर्यटन पूर्वाधार यी सबै कार्यक्रम व्यवहारमै लागू गर्न आवश्यक छ । विवाहोत्सवलाई विश्वका प्रमुख सांस्कृतिक उत्सवमध्ये उभ्याउन दीर्घकालीन नीति अपरिहार्य छ ।
रामजानकी विवाहोत्सव नेपालका पहिचानहरूमध्ये एक अनमोल सांस्कृतिक धरोहर हो । यसले नेपाललाई विश्वसामु आध्यात्मिक राष्ट्रका रूपमा उजागर गर्न सक्छ । यसको शक्ति केवल धार्मिक आस्थामा होइन; सांस्कृतिक कूटनीति, पर्यटन अर्थतन्त्र र क्षेत्रीय सम्बन्ध विस्तारमा पनि छ । जनकपुरधाम आफ्नो इतिहास लिएर विश्वसामु चम्किन आतुर छ, तर त्यसका लागि राज्य, समाज र स्थानीय समुदायको साझा प्रतिबद्धता आवश्यक छ ।
अन्ततः प्रश्न एउटै छ, इतिहासले दिएको यस्तो अनुपम अवसरलाई हामी कति मूल्य दिन सक्छौँ ? विवाहोत्सवको दिव्य उज्यालोलाई पर्यटनको उज्यालोमा बदल्ने काम अब ढिलाइ गरेर हुँदैन । यदि आजैदेखि दूरदृष्टियुक्त निर्णय र लगानी भयो भने रामजानकी विवाहोत्सव केवल जनकपुरधामको उत्सव रहने छैन; यो विश्वभरका श्रद्धालु र पर्यटकका लागि नेपालको प्रमुख सांस्कृतिक पहिचान बन्न सक्छ ।
अवसर हामीसँग छ । हामीले यसलाई पहिचान गर्छौँ कि फेरि पनि परम्परागत बेवास्ताको अँध्यारोमै गुमाउँछौँ ?

