“विद्या ददाति विनय” विद्याले मानिसलाई विनम्र बनाउँछ । संस्कृतको यो श्लोक शास्त्रीय ग्रन्थमा सीमित कुनै अमूर्त दर्शन मात्र होइन, जीवन र आचरणमा उतारिन सके त्यसको अर्थ पूर्ण हुन्छ । मधेश प्रदेशका नवनिर्वाचित सभामुख रामअशिष यादवले यही श्लोकलाई व्यवहारमा प्रमाणित गरिरहेका देखिन्छन् । पद, प्रतिष्ठा र शक्तिले मानिसलाई समाजबाट टाढा लैजान्छ भन्ने आम धारणा बीच उहाँको जीवनशैली भने त्यसको ठीक उल्टो सन्देश दिइरहेको छ ।
सभामुखमा निर्वाचित भएपछि धेरैको दिनचर्या बदलिन्छ । सुरक्षाकर्मीको घेरा, औपचारिकता, पहुँचको दूरी र आम नागरिकसँगको सम्बन्ध औपचारिक भाषणमा सीमित हुने परिपाटी हामीले देख्दै आएका छौँ । तर रामअशिष यादवको बिहान अझै उस्तै छ — पुरानै साथीभाइ, उही मोर्निङ वाक, उही खुला संवाद र समाजप्रतिको उही चासो । पदले उहाँलाई समाजभन्दामाथि उठाएको छैन, बरु समाजप्रतिको जिम्मेवारी अझ गहिरो बनाएको छ ।
एक बिहानको भेटमा सहजै उठेको जिज्ञासा थियो-‘अब तपाईंमाथि ठूलो जिम्मेवारी थपिएको छ । यसरी बिना सुरक्षा, पुरानै प्रवृत्तिमा हिँडडुल गर्नु कतिको उपयुक्त होला ? प्रश्न सामान्य थियो, तर उत्तर गहिरो । मुस्कानसहित उहाँले भन्नुभयो- “म यही समाजको छोरा हुँ । यही समाजमा हुर्किएँ, यही समाजले मलाई यहाँसम्म ल्याएको हो । आज म सभामुख बनेको छु, तर समाजबाट टाढा भएँ भने, समाजका कुरा नसुनेँ भने, राज्यसँग समाजको आवाज नपु¥याएँ भने त्यो पदको अर्थ के रहला ?”
यो उत्तर केवल व्यक्तिगत आत्मविश्वासको अभिव्यक्ति मात्र होइन, यो लोकतान्त्रिक चेतनाको उद्घोष हो । लोकतन्त्रमा पद जनता बाट आउँछ र जनताकै बीच रहनु त्यसको आत्मा हो । तर दुर्भाग्य, हाम्रो राजनीतिक संस्कृतिमा पद प्राप्त गरेपछि जनता बिर्सने प्रवृत्ति हावी हुँदै गएको छ । यस्तो अवस्थामा सभामुखजस्तो गरिमामय पदमा पुगेको व्यक्तिबाट आएको यस्तो सोच आफैंमा सामाजिक जनचेतनाको सन्देश हो ।

रामअशिष यादवको यात्रा कुनै एकाएकको राजनीतिक उदय होइन । उहाँको जीवन बहुआयामिक छ । कहिले शिक्षक भएर कक्षाकोठामा युवाहरूको भविष्य उज्यालो पार्ने प्रयास, कहिले पत्रकार भएर समाजका पीडा, विभेद र अन्यायलाई कलममार्फत उजागर गर्ने साहस । नेपाल पत्रकार महासंघ धनुषाको अध्यक्ष हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियासँगको सक्रिय संलग्नता-यी सबै उहाँका जीवनका अध्याय हुन् । पत्रकारितासँगै सामाजिक सेवामा सक्रियता, समुदायसँग प्रत्यक्ष संवाद र सहभागिता उहाँको पहिचान बनेको छ ।
त्यही यात्राबारे प्रश्न गर्दा उहाँको जवाफ अझ स्पष्ट थियो- “काम गर्ने तरिका फरक हुन सक्छ, तर गर्ने त यही समाजका लागि हो । शिक्षक हुँदा युवालाई चेतनशील बनाउने प्रयास गरेँ । पत्रकार हुँदा समाजका व्यथाहरू बाहिर ल्याएँ । सामाजिक सेवामा लाग्दा प्रत्यक्ष रूपमा मानिसको पीडासँग उभिएँ । त्यतिले नपुग्दा यही समाजले मलाई प्रदेश सभासम्म पठायो, कानून निर्माणका लागि । आज सभामुख छु, तर उद्देश्य एउटै छ-समयअनुसार सामाजिक परिवर्तन, शान्ति, सुरक्षा र सुशासन ।”
यो भनाइले राजनीति केका लागि भन्ने प्रश्नको उत्तर दिन्छ । राजनीति केवल सत्ता, पद र लाभका लागि होइन, समाज रूपान्तरणको माध्यम हो भन्ने विश्वास यसमा झल्किन्छ । आजको नेपाली राजनीतिमा सबैभन्दा ठूलो अभाव नै यही दृष्टिकोणको छ । सत्ता परिवर्तन त भइरहन्छ, तर सामाजिक परिवर्तन किन ढिलो छ ? किन जनताको जीवनस्तर उस्तै छ ? किन दलित, विपन्न, महिला र सीमान्तकृत समुदाय अझै पनि राज्यको प्राथमिकतामा पर्दैनन् ? यी प्रश्नहरूको उत्तर व्यवहारमै खोजिनुपर्छ ।
मधेशजस्तो भेग, जहाँ सामाजिक विभेद, गरिबी, बेरोजगारी र जलवायु परिवर्तनका असर गहिरिँदै गएका छन्, त्यहाँ नेतृत्वको संवेदनशीलता झनै महत्वपूर्ण हुन्छ । सभामुखजस्तो पदले कानून निर्माणको प्रक्रियालाई मार्गदर्शन गर्ने मात्र होइन, लोकतान्त्रिक अभ्यासलाई संस्कारित गर्ने जिम्मेवारी पनि बोकेको हुन्छ । सभामुख यदि समाजसँग जोडिएको छ भने संसद् पनि जनजीवनसँग जोडिन सक्छ ।
रामअशिष यादवको विनम्रता, खुलापन र समाजप्रतिको लगाव केवल व्यक्तिगत गुणको विषय होइन । यो राजनीतिक संस्कारको आवश्यकता हो । यसले राजनीतिलाई जनतासँग पुनः जोड्ने आशा जगाउँछ । सामाजिक जनचेतनाको दृष्टिले हेर्दा, यस्ता उदाहरणहरूले युवालाई राजनीतिप्रति निराश होइन, सचेत र सहभागी बन्न प्रेरित गर्न सक्छ ।
अन्ततः “विद्या ददाति विनय” भन्ने श्लोकको सार यही हो - ज्ञान, अनुभव र पदले मानिसलाई अहंकारी होइन, जिम्मेवार र विनम्र बनाओस् । यदि हाम्रो राजनीतिक नेतृत्वले यही भाव आत्मसात् गर्न सके, मधेश मात्र होइन, सिंगो देशमा सुशासन, सामाजिक न्याय र लोकतान्त्रिक मूल्यहरू बलियो बन्नेछन् । सभामुखको बिहानको मोर्निङ वाक केवल हिँडडुल होइन, त्यो समाज र राज्यबीचको सेतु हो । यही सेतु बलियो बनाउन सके, राजनीति फेरि जनताको भरोसाको विषय बन्न सक्छ ।
- भिडियो भिडयो साइडमा

