जनकपुरधाम । उखुको रसबाट बनाइने मिठा (गुड) स्वस्थ्यको लागि फाइदाजनक हुने गरेको बताइन्छ । तराई मधेशमा मिठालाई पर्व त्योहारमा बनाइने पकवानमा प्रयोग गरिन्छ र यसलाई शुद्ध पनि मानिन्छ । मिठाको धार्मिक, साँस्कृतिकको महत्वसँगै स्वस्थ्यसँगका लागि पनि अति उपयोगी रहने गरेको पाइन्छ । आधुनिक जीवनशैलीमा अत्यधिक प्रयोग हुने प्रशोधित चिनीका कारण स्वास्थ्यमा देखिन थालेका नकारात्मक असरहरूका बीच उखुको मिठा पुनः सुरक्षित, पोषिलो र औषधीय विकल्पका रूपमा चिनिन्छ ।
उखु किसान हरिनारायण साहका अनुसार चिनीभन्दा मिठा धेरै गुणाले स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । “मिठा प्राकृतिक रूपमा उखुको रसलाई पकाएर बनाइने भएकाले यसमा कुनै किसिमको केमिकल, रंग वा कृत्रिम पदार्थ मिसाइँदैन,” साह भन्छन्, “त्यसैले मिठाबाट बनेका खाद्य सामग्रीले शरीरलाई ऊर्जा दिनुका साथै पाचन प्रणाली मजबुत बनाउँछ ।”
किन स्वास्थ्यकर छ मिठा ?
स्वास्थ्य विज्ञहरूका अनुसार प्रशोधित चिनी उत्पादन गर्दा उखुमा रहेका अधिकांश खनिज तत्व नष्ट हुन्छन् । तर मिठामा भने आइरन, क्याल्सियम, पोटासियम, म्याग्नेसियम जस्ता आवश्यक तत्व केही मात्रामा सुरक्षित रहन्छन् । यही कारणले मिठा खाँदा शरीरमा तुरुन्त ऊर्जा प्राप्त हुनुका साथै रगतमा आइरनको मात्रा बढाउन सहयोग पुग्ने विश्वास गरिन्छ । विशेष गरी जाडो मौसममा मिठा सेवन गर्दा शरीर तातो रहने, रुघाखोकी कम हुने र रोगप्रतिरोधात्मक क्षमता बढ्ने चिकित्सकहरु सुझाउँछन ।
उखुलाई पेलेर निस्कने रसलाई चुल्होमा पकाएर बनाइने मिठा मुख्यतः चार प्रकारका हुन्छन् । यी सबैको रङ, स्वाद र प्रयोग फरक–फरक हुन्छ ।
पहिलो – सेतो मिठा
उखुको रसलाई हल्का आगोमा कम समयसम्म तताएर बनाइने यो मिठा सबैभन्दा स्वास्थ्यकर मानिन्छ । यसमा मिठास हल्का हुन्छ र रंग पनि सेतो–पहेंलो खालको हुन्छ । किसान साहका अनुसार यस्तो मिठा दैनिक चियासँग, बदाम वा च्युरासँग खानु स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । पाचन समस्या भएका, कमजोरी महसुस गर्ने र शारीरिक श्रम गर्ने व्यक्तिका लागि यो मिठा विशेष लाभदायक मानिन्छ ।
यद्यपि स्वास्थ्यका लागि उत्तम हुँदाहुँदै पनि यसको माग कम हुने भएकाले किसानहरूले कम मात्रामा उत्पादन गर्ने गरेका छन् ।
दोस्रो – हल्का कालो मिठा
उखुको रसलाई अलि बढी समयसम्म उबाल्दा यो किसिमको मिठा तयार हुन्छ । स्वादमा गाढा र रंगमा केही कालोपन देखिने यो मिठा घरायसी पकवानमा बढी प्रयोग गरिन्छ । तराई–मधेशमा मनाइने छठ पर्व, माघे सङ्क्रान्ति लगायतका चाडपर्वमा खिर, पुरी, लड्डु तथा अन्य परिकार बनाउन यही मिठाको प्रयोग गरिन्छ । यसले परिकारलाई स्वादिष्ट मात्र होइन, पोषणयुक्त पनि बनाउँछ ।
तेस्रो – कालो मिठा
उखुको रसलाई धेरै समयसम्म उच्च तापमा पकाउँदा बन्ने यो मिठा हेर्दा गाढा कालो र स्वादमा कडा हुन्छ । मानव उपभोगका लागि कम प्रयोग भए पनि यसको उपयोग पशुपालन क्षेत्रमा महत्वपूर्ण छ । गाई, भैंसी, बाख्रा जस्ता चौपायालाई औषधिसँग मिसाएर खुवाउँदा दूध उत्पादन बढ्ने र जनावर स्वस्थ रहने किसानहरूको अनुभव छ ।
चौथो – एकदमै कालो मिठा
अत्यधिक पकाइबाट बन्ने यो मिठा विशेष गरी मदिरा, पिनी (स्थानीय भाषामा हुक्कामा प्रयोग गरिन्छ ।) लगायतका औद्योगिक तथा परम्परागत प्रयोजनमा प्रयोग गरिन्छ । प्रत्यक्ष स्वास्थ्य उपयोगभन्दा परम्परागत उत्पादनमा यसको भूमिका महत्वपूर्ण छ ।
उखुको मिठा केवल मिठासको स्रोत मात्र होइन, हाम्रो परम्परागत ज्ञान र स्वास्थ्य चेतनाको प्रतीक पनि हो । आधुनिक बजारमा पाइने रसायनयुक्त चिनीको सट्टा प्राकृतिक मिठालाई दैनिक जीवनमा समावेश गर्न सके मधुमेह, मोटोपन र पाचनसम्बन्धी समस्यामा समेत सकारात्मक प्रभाव पर्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
स्थानीय उत्पादन, स्थानीय उपभोग र स्वस्थ जीवनशैलीको सन्देश बोकेको उखुको मिठा संरक्षण र प्रवद्र्धन गर्नु आजको आवश्यकता हो । परम्परागत स्वादसँगै स्वास्थ्यलाई जोगाउने यो प्राकृतिक उपजको महत्वलाई नयाँ पुस्तासम्म पु¥याउनु सबैको साझा दायित्व बन्ने देखिन्छ ।

