जनकपुरधाम, १२ माघ । भारतको ७७औँ गणतन्त्र दिवस २६ जनवरीका दिन भारतको महावाणिज्य दूतावास, वीरगञ्ज (नेपाल) ले भव्यताका साथ मनाएको छ ।
समारोहमा महावाणिज्यदूत डी. एस. मीनाले राष्ट्रिय झण्डा (तिरंगा) फहराउनुका साथै भारतका राष्ट्रपतिको सन्देश वाचन गर्नुभएको थियो । उहाँले आफ्नो सम्बोधनमा भारतको लोकतान्त्रिक मूल्य, संविधानको महत्व र राष्ट्रिय एकताबारे प्रकाश पार्नुभएको थियो ।

गणतन्त्र दिवसको अवसरमा शिक्षा विद्यालयसहित १२ वटा विभिन्न विद्यालयका विद्यार्थीहरूले गीत, नृत्य तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यार्थीहरूको प्रस्तुतिले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाउँदै देशभक्तिको भावना अभिव्यक्त गरेको थियो ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पूर्व केन्द्रीय मन्त्री, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बलका उपरीक्षक, वीरगञ्ज उद्योग वाणिज्य संघ तथा नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

दूतावासका अनुसार समारोहमा कविगण, स्थानीय व्यापारी, नेपाल–भारत मैत्री संघका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरू सहित विभिन्न क्षेत्रका करिब पाँच सय जनाको सहभागिता रहेको थियो ।
गणतन्त्र दिवस समारोहसँगै दूतावास परिसरभित्र भारतको राष्ट्रिय गीत ‘वन्दे मातरम्’ को १५०औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय गीत प्रदर्शनी पनि आयोजना गरिएको थियो । उक्त प्रदर्शनीमा विद्यार्थी, शिक्षक–शिक्षिका तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति देखिएको थियो ।
दूतावासले यस्ता कार्यक्रमहरूले नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, सांस्कृतिक सम्बन्ध र जनस्तरको आपसी समझदारीलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।




