जनकपुरधाम, १७ माघ । ब्याहुत सेवा समिति (कलवार कुट्टी) को नयाँ कार्य समितिको ‘सपथ ग्रहण तथा पद हस्तान्तरण’ कार्यक्रम जनकपुरधाममा भव्य रूपमा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष श्याम प्रसाद साहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल कलवार कल्याण महासंघ, काठमाडौंका अध्यक्ष ई. रामचन्द्र साहले कलवार समुदायको राजनीतिक पहुँच कमजोर भएकै कारण राज्यको उच्च तहसम्म पुग्न नसकेको उल्लेख गर्नुभयो ।
“कलवार समुदाय केवल मत दिने समूहका रूपमा सीमित हुन हुँदैन, एकजुट भएर मतको सदुपयोग गर्दै राजनीतिक रूपमा अगाडि बढ्नुपर्छ,” उहाँले भन्नुभयो ।
एकतामै सबैभन्दा ठूलो शक्ति रहेको उल्लेख गर्दै उहाँले सबै एकढिक्का भएर अघि बढे जातीय उत्थानसँगै राज्यका हरेक निकायमा पहुँच विस्तार गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा निर्वाचन समितिका प्रमुख उमेश साहले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ गराउँदै इमान्दारिता, निष्ठा र निर्भिकता सार्वजनिक जीवनका अनिवार्य मूल्य भएको धारणा राख्नुभयो ।
“राज्यका सबै निकाय इमान्दार भए राज्य विकसित हुन्छ, र राज्य विकसित भए समाज स्वतः अघि बढ्छ,” उहाँले स्पष्ट गर्नुभयो ।

साथै उहाँले नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गर्दै उनीहरूको भूमिका स्वजातीय विकासमा मात्र सीमित नराखी देशव्यापी पहुँच विस्तारतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । समाजमा स्थापित हुन आपसी सहयोग, सहकार्य र ईष्र्या–द्वेष त्याग आवश्यक रहेको उहाँको भनाइ थियो ।
त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाका पूर्व मेयर लालकिशोर साहले सामाजिक उत्थानमा सामाजिक नेतृत्वको भूमिका निर्णायक हुने बताउनुभयो । निर्वाचन समितिको निष्पक्षताप्रति धन्यवाद व्यक्त गर्दै उहाँले भने, “मुलुकको निर्वाचन प्रणाली पनि यस्तै निष्पक्ष हुनुपर्छ । निर्वाचन नजिकिँदै गर्दा असल उम्मेदवार छनोट गर्नु हाम्रो सामूहिक दायित्व हो । यस समुदायबाट पनि राजनीतिक नेतृत्व अघि आउन आवश्यक छ ।”
कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, पूर्व अध्यक्ष निर्मल चौधरी, शिवशंकर साह हिरा, रमेश साह, ई प्रकाशचन्द्र साह, बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी लगायतले नवनिर्वाचित कार्य समितिलाई शुभकामना व्यक्त गरेका छन्।
कार्यक्रमका अवसरमा कलवार समुदायको विकासमा योगदान पु¥याएका व्यक्तिहरूलाई सम्मान समेत गरिएको छ ।



