कैलास दास ।
संघर्षले भाग्यको दिशा बदल्न सक्छ । दृढ इच्छाशक्ति, निरन्तर परिश्रम र अटुट आत्मविश्वासले जीवनका हरेक बाधा छिचोल्दै सफलताको शिखरमा पुग्न सकिन्छ । अभाव र विभेदका पर्खाल भत्काएर आफ्नो पहिचान स्थापित गर्न सकिन्छ । यसको उदाहरण हुन-मधेश प्रदेशमा दलित समुदायबाट मन्त्री बन्न सफल लखन दास तत्मा । उनको जीवनयात्रा व्यक्तिगत सफलता मात्र होइन, सामाजिक विभेद, गरिबी र अभावसँग जुधिरहेको एउटा समुदायको आशा, साहस र आत्मसम्मान पनि हो ।
२०७४ सालको निर्वाचनमा संवैधानिक व्यवस्था अनुसार मधेश प्रदेशमा ७ वटा प्रदेश सभा भएको थियो । तर एउटा पनि मन्त्री बनाएन । २०७९ सालको आम निर्वाचनमा पहिलो पटक दास प्रत्यक्ष निर्वाचित भयो र खेलकुद तथा समाज कल्याण मन्त्री बन्न सफल हुनुभयो ।
मधेश प्रदेशमा दलित समुदायको जनसंख्या करिब १८ प्रतिशत छ । तर यो समुदाय अझै पनि अशिक्षा, बेरोजगारी, आर्थिक विपन्नता, राजनीतिक पहुँचको अभाव र सामाजिक विभेदको मारमा छ । संविधानले सबै जातजाति र समुदायको समावेशी सहभागिताको व्यवस्था गरे पनि समाज र राजनीतिक दलभित्र जरा गाडेर बसेको विभेदकारी मानसिकताका कारण मधेशी दलित समुदायले लामो समयसम्म राज्यसत्ताको निर्णायक तहमा पुग्ने अवसर पाउन सकेन । यस्तो प्रतिकूल परिस्थितिमा दलित समुदायबाट मन्त्री बन्न सफल हुनु दासको व्यक्तिगत उपलब्धि मात्र नभई समग्र समुदायका लागि गौरवको विषय बनेको छ ।
अभावले घेरिएको सानो झुपडीमा जन्मिएका दासको बाल्यकाल निकै कष्टपूर्ण थियो । धनुषाको विदेह नगरपालिका–५ मा आमा रामपरी देवीको कोखबाट जन्मिएका उनको परिवारमा बिहान–बेलुका चुल्हो बल्ने निश्चित हुँदैनथ्यो । उनका बुवा स्वर्गीय जोलहा दास तत्मा अरूको खेतमा मजदुरी गरेर परिवारको गुजारा चलाउँथे । आमाबुवाको दिनभरको पसिनाले जुटाएको अन्नले परिवारको भोक मेटाउनसमेत मुस्किल पथ्र्यो । जाडोमा शरीर ढाक्ने न्यानो कपडाको अभाव थियो । कतिपय दिन उनी भोकै विद्यालय जान बाध्य हुन्थे । कहिलेकाहीँ ढिकीमा धान कुटेर चामल निकाली खाना पकाएपछि मात्र विद्यालय पुग्ने अवस्था हुन्थ्यो ।
तर अभावले उनको सपना मार्न सकेन । बरु, कठिन परिस्थितिले नै केही गरेर देखाउने अठोटलाई थप बलियो बनायो । गरिबी र सामाजिक विभेदको घेराभित्र हुर्किएका दासले शिक्षालाई जीवन बदल्ने सबैभन्दा प्रभावकारी माध्यमका रूपमा आत्मसात् गरे । यही विश्वास र संघर्षले उनलाई आजको अवस्थासम्म पु¥याएको हो । उनी मन्त्री बन्नु व्यक्तिगत सफलतामा मात्र सीमित रहेन, दलित समुदायको आत्मसम्मान र राजनीतिक प्रतिनिधित्वको दृष्टिले पनि महत्त्वपूर्ण उपलब्धि बन्यो ।
दासले श्री राष्ट्रिय प्राथमिक विद्यालय, धबौलीबाट कक्षा १ देखि ५ सम्मको अध्ययन पूरापछि एसएनआर जनता माध्यमिक विद्यालय, धबौलीबाट कक्षा ६ देखि १० सम्म अध्ययन गरे । उच्च शिक्षाका क्रममा सिरहास्थित श्री सूर्यनारायण सत्यनारायण मरबैता क्याम्पसबाट आईएड र बीएड पूरा गरे । त्यसपछि त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट गणित विषयमा एमएससी र एमएड तहसम्मको अध्ययन गरे ।
आफ्नो बाल्यकाल सम्झँदै उनी भन्छन्, “कहिलेकाहीँ विद्यालय जानुअघि पेटमा अन्न हुँदैनथ्यो। भोक र समाजका विभेदकारी व्यवहारले मलाई पढेर केही गरेर देखाउनुपर्छ भन्ने सोच दियो। शिक्षालाई नै परिवर्तनको हतियार बनाउन सकिन्छ भन्ने विश्वासका साथ संघर्षमा उत्रिएँ।”
उनको यही अठोटले शैक्षिक यात्रामा उल्लेखनीय सफलता दिलायो । प्रवीणता प्रमाणपत्र तह र स्नातक तहमा उत्कृष्ट प्रदर्शन गर्दै छात्रवृत्ति प्राप्त गरे । स्नातकोत्तर तहसम्म पुग्दा उत्कृष्ट विद्यार्थीका रूपमा सम्मानित भए । अभावले घेरिएको जीवनमा यी उपलब्धि उनका लागि खुसीका क्षण मात्र थिएनन्, संघर्षको बाटो सही रहेको प्रमाण पनि थिए ।
जीवनमा उनले आर्थिक कठिनाइसँगै जातीय विभेदको पीडा पनि भोगे । गरिबी र दलित समुदायमा जन्मिएकै कारण समाजमा अपमानित हुनुपर्ने अवस्थाले उनलाई कहिलेकाहीँ आफ्नो जन्म नै अभिशाप हो कि भन्ने अनुभूति गराउँथ्यो । तर अध्ययनका क्रममा महान् व्यक्तित्वहरूको जीवन र संघर्षबारे पढ्दा उनको मनमा नयाँ साहस पलाउँथ्यो । विशेषगरी डा. भीमराव अम्बेडकर र नेल्सन मण्डेलाको जीवनबाट उनले अन्यायविरुद्ध लड्ने प्रेरणा पाए । उनीहरूको संघर्षले व्यक्तिगत पीडालाई सामाजिक परिवर्तनको शक्तिमा रूपान्तरण गर्न सकिने विश्वास जगायो । त्यसपछि उनले आफ्नो दुःखलाई कमजोरी होइन, परिवर्तनको प्रेरणाका रूपमा लिन थाले ।
गाउँमा गरिब तथा दलित महिलामाथि प्रभावशाली व्यक्तिहरूबाट हुने यौनशोषण र अन्यायविरुद्ध उनी आवाज उठाउँथे। तर अन्यायको प्रतिवाद गर्दा उल्टै आफू र आफ्ना साथीहरू कुटपिटको सिकार हुनुपरेको उनी बताउँछन् । स्थानीय प्रशासन र सुरक्षा निकायसमेत प्रभावमा पारिएको अवस्थामा आफू करिब दुई दिन हिरासतमा बस्नुपरेको र यातना भोग्नुपरेको उनको भनाइ छ । यी घटनाले उनलाई अन्यायविरुद्ध बोल्नुको मूल्य बुझाए, तर मौन बस्न सिकाएनन्। बरु, समाजमा व्याप्त शोषण, विभेद र असमानताविरुद्ध संगठित रूपमा आवाज उठाउनुपर्ने आवश्यकता महसुस गराए ।
दास शिक्षालाई चेतना, आत्मसम्मान र सामाजिक रूपान्तरणको आधार मान्थे । “शिक्षा शेरनीको दूध हो, जसले जति पिउँछ, उति नै गर्जन सक्छ” भन्ने विचारबाट प्रभावित उनी शिक्षालाई शोषण र विभेदविरुद्ध लड्ने शक्तिका रूपमा हेर्थे । प्रारम्भमा उनको रुचि प्रत्यक्ष राजनीतिमा थिएन । सामन्तवादी सोच र आर्थिक शोषणले जकडिएको समाजलाई शिक्षामार्फत जागरूक बनाउन सकिन्छ भन्ने उनको विश्वास थियो । त्यसका लागि संगठनलाई सामूहिक शक्तिका रूपमा उपयोग गर्नुपर्ने उनी ठान्थे ।
वि.सं. २०५३ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को सदस्य बनेपछि उनको राजनीतिक यात्रा सुरु भयो । विद्यार्थी राजनीतिमा सक्रिय हुँदै उनले संगठन, नेतृत्व र सामाजिक परिवर्तनको सम्बन्ध बुझ्ने अवसर पाए । शिक्षाले जनचेतना जगाउन सक्ने भए पनि समाजको संरचनागत परिवर्तनका लागि राजनीतिक शक्ति र निर्णय प्रक्रियामा सहभागिता आवश्यक हुन्छ भन्ने निष्कर्षमा पुगेपछि उनी सक्रिय राजनीतितर्फ थप आकर्षित भए ।
वि.सं. २०७४ मा नेकपा माओवादीको नगर कमिटी अध्यक्ष बनेसँगै उनको राजनीतिक जिम्मेवारी बढ्दै गयो । वि.सं. २०७५ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी गठन भयो । पछि पार्टी विभाजन भएपछि उनी नेकपा एमालेमा रहेर राजनीतिक गतिविधिलाई निरन्तरता दिँदै अघि बढे ।
दासका लागि जीवनका सबैभन्दा खुसीका क्षणमध्ये प्रवीणता प्रमाणपत्र तह र स्नातक तहमा छात्रवृत्ति प्राप्त गर्नु तथा स्नातकोत्तर तहमा उत्कृष्ट विद्यार्थीका रूपमा सम्मानित हुनु प्रमुख छन्। गरिबी र अभावबीच अध्ययनलाई निरन्तरता दिएर हासिल गरेका यी उपलब्धिले उनको आत्मविश्वास बढाए। संघर्षबाट प्राप्त सफलताले मानिसको जीवन मात्र होइन, समाजप्रतिको दृष्टिकोणसमेत बदल्न सक्छ भन्ने विश्वासलाई बलियो बनाए।

लामो संघर्षपछि मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याणमन्त्री बन्नु उनको राजनीतिक यात्राको महत्त्वपूर्ण उपलब्धि बन्यो । गरिबी, भोक र विभेदसँग जुध्दै अघि बढेको एउटा व्यक्तिले प्रदेश सरकारको जिम्मेवारीसम्म पुग्नु आफैँमा प्रेरणादायी घटना हो । यसले अवसर पाएमा पछाडि पारिएको समुदायका व्यक्तिले पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् भन्ने सन्देश दिएको छ ।
तर उनको राजनीतिक यात्रा अझै चुनौतीमुक्त छैन । नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलको गठबन्धन सरकारमा मन्त्री बनेका दासले केही दिनअघि पार्टीको निर्देशनअनुसार पदबाट राजीनामा दिएका छन् । अब बन्ने प्रदेश सरकारको नेतृत्वमा एमाले र मधेशकेन्द्रित दलहरूबीच सम्भावित समीकरणबारे चर्चा भइरहेका बेला उनी मुख्यमन्त्री पदका दाबेदारका रूपमा समेत प्रस्तुत भएका छन् ।
मधेश प्रदेशको करिब १८ प्रतिशत जनसंख्याको प्रतिनिधित्व गर्ने दलित समुदायलाई राजनीतिको निर्णायक तहमा पु¥याउनुपर्ने माग अहिले झन् सान्दर्भिक बनेको छ । समावेशिता केवल मन्त्री पदमा सीमित हुनुहुँदैन; नीति निर्माण, स्रोतसाधनको वितरण र विकासका अवसरमा पनि समान सहभागिता सुनिश्चित हुनुपर्छ। दलित समुदायको शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक सशक्तीकरणलाई प्राथमिकता दिन सके मात्र प्रदेशको समग्र विकासले गति लिन सक्छ ।



