जनकपुरधाम, २३ माघ । आसन्न आम निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरू टोल-टोल र बस्ती-बस्तीमा पुग्न थालेका छन् । मतदाता आफ्नो पक्षमा पार्न आश्वासन, प्रतिबद्धता र विभिन्न प्रलोभनसमेत देखिन थालेका छन् । तर, धनुषाका अधिकांश दलित बस्ती भने अझै पनि राजनीतिक पहुँचबाट टाढै छन् । अन्य समुदायसँग भोट माग्न पुग्ने नेताहरू दलित बस्तीमा नपुगेको गुनासो स्थानीयवासीले गरेका छन् ।
मुखियापुट्टी मुसहरनियाँ टोलकी कालासो देवी महराका अनुसार दलित बस्ती चुनावका बेला मात्र नेताहरूको प्राथमिकतामा पर्छ । “दलित बस्ती छुट्टै छ । नेताहरू अरू ठाउँमा गए पनि हाम्रो बस्तीमा आएको देखिँदैन,” उनले भनिन्, “चुनाव आउँदा भोट माग्न आउँछन्, दलितका लागि धेरै काम गर्ने आश्वासन दिन्छन् । मतदानको दिन केही पैसा पनि दिन्छन्, अनि फेरि बिर्सिन्छन् ।”
यो अवस्था कुनै एक गाउँ वा पालिकासम्म सीमित नभई समग्र दलित समुदायले भोग्दै आएको यथार्थ भएको उनीहरूको भनाइ छ । यही यथार्थलाई केन्द्रमा राख्दै दलित समुदायका अगुवाहरूले बिहीबार जनकपुरधाममा बैठक आयोजना गरी यसपटक कसलाई र किन मतदान गर्ने भन्ने विषयमा गम्भीर समीक्षा गरेका छन् ।
चमेली देवी दासको अध्यक्षतामा सम्पन्न बैठकमा सहभागीहरूले धनुषाका चारै निर्वाचन क्षेत्रमा रहेका दलित समुदायको अवस्था र उम्मेदवारहरूको भूमिका विषयमा समीक्षात्मक छलफल गरे । त्यसपछि दलित समुदायका साझा माग के(के हुनुपर्छ र ती मागलाई कसरी सार्वजनिक तथा प्रभावकारी रूपमा उठाउने भन्ने विषयमा निष्कर्षमा पुग्ने प्रयास गरिएको थियो ।
बैठकमा जनता समाजवादी पार्टी नेपालका दलित नेताहरूको उल्लेख्य उपस्थिति भए पनि सहभागीहरूले दलित अधिकारका सवालमा पार्टीभन्दा माथि उठेर सोच्नुपर्ने धारणा व्यक्त गरे । मधेश प्रदेशमा १८ प्रतिशतभन्दा बढी दलित जनसंख्या रहे पनि न्याय, सुरक्षा, राजनीति र राज्यका निकायमा उनीहरूको पहुँच न्यून रहेको सहभागीहरूको भनाइ थियो । तीन तहको सरकार भए पनि शिक्षा, स्वास्थ्य र रोजगारीमा दलित समुदाय अझै पछि परेको उनीहरूले औँल्याए ।
धनुषामा चारवटा निर्वाचन क्षेत्र भए पनि कुनै पनि दलले प्रत्यक्षतर्फ दलित समुदायबाट उम्मेदवार नबनाएकोप्रति बैठकले गम्भीर चिन्ता व्यक्त गरेको छ । समानुपातिकतर्फ दलितको नाम समावेश भए पनि सूचीको तल्लो क्रममा राखिएको र त्यो पनि केवल भोट माग्ने प्रयोजनका लागि मात्र भएको आरोप सहभागीहरूले लगाए ।
बैठकमा चन्देश्वर पासमान, रामो महरा, सुनिता राउत, कालासो देवी, गीता दासलगायत दुई दर्जनभन्दा बढी दलित अगुवाहरूको सहभागिता थियो । सहभागीहरूले निर्वाचनको बेला सजग नबने दलित समुदाय सधैँ दुरुपयोगमा पर्ने चेतावनी दिँदै यसपटक निर्वाचनअघि आफ्ना माग स्पष्ट र संगठित रूपमा सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

