जनकपुरधाम, १ चैत । जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित गोगल प्रसाद नमूना माध्यमिक विद्यालयमा शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ। विद्यालयमा अध्ययनरत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूले विभिन्न शैक्षिक तथा वैज्ञानिक परियोजनासहित प्रदर्शनीमा सहभागिता जनाएका हुन्।

प्रदर्शनीको उद्घाटन गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले विद्यार्थीहरूले अध्ययन गरेको ज्ञानलाई व्यवहारमा उतार्ने अवसरका रूपमा यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले बदलिँदो समयअनुसारको शिक्षामा प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको उल्लेख गर्दै भन्नुभयो, “एआईको युगमा विद्यार्थीहरूले रोबोटदेखि विज्ञान र प्रविधिसम्बन्धी विभिन्न विषयमा बनाएका परियोजनाले उनीहरूको सिर्जनशीलता र प्रयोगात्मक ज्ञानलाई उजागर गरेको छ। यस्ता प्रदर्शनीले विद्यार्थी मात्र होइन, अभिभावकहरूमा समेत शिक्षाप्रतिको चासो बढाउने काम गर्छ।”

विद्यालयका प्रधानाध्यापक महावीर दासले प्रतिवर्षझैँ यस वर्ष पनि सयभन्दा बढी प्रदर्शनी स्टल राखिएको जानकारी दिनुभयो। विज्ञान, सामाजिक शिक्षा, वातावरण, कला–संस्कृति लगायतका विविध विषयमा विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू एउटै स्थानमा प्रदर्शित गरिएको उहाँले बताउनुभयो। उहाँका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै उनीहरूको प्रतिभा उजागर गर्न सहयोग पु¥याउँछ।

प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका विभिन्न प्रविधि र वैज्ञानिक मोडेलहरू विशेष आकर्षण बनेका थिए। कक्षा ८ का विद्यार्थीहरूको समूहले ‘नोभा रोबोट’ नामक रोबोट तयार पारेका छन्। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरिएको उक्त रोबोटलाई विद्यालयसम्बन्धी विभिन्न प्रश्न सोध्दा त्यसले स्वचालित रूपमा जवाफ दिने क्षमता राखेको देखाइएको थियो। कम्प्युटर प्रोग्राम, सेन्सर, मोटर तथा विभिन्न इलेक्ट्रोनिक उपकरणको सहायताले रोबोट सञ्चालन हुने व्यवस्था गरिएको विद्यार्थीहरूले बताएका छन्। आधुनिक युगमा रोबोटिक प्रविधिको प्रयोग उद्योग, चिकित्सा, अन्तरिक्ष अनुसन्धान तथा कृषि क्षेत्रमा व्यापक रूपमा भइरहेको तथ्यसमेत यस परियोजनामार्फत प्रस्तुत गरिएको थियो।

कक्षा ९ का विद्यार्थीहरूको अर्को समूहले ‘कार्बन प्युरिफायर’ परियोजना प्रस्तुत गरेका थिए। यस उपकरणले हावा वा पानीलाई शुद्ध बनाउने कार्य गर्ने देखाइएको थियो। सक्रिय कार्बनको प्रयोग गरी हावामा रहेका धूलो, दुर्गन्ध तथा विषालु ग्यासजस्ता तत्वलाई सोस्ने प्रणाली यसमा समावेश गरिएको विद्यार्थीहरूले बताएका छन्। बढ्दो वातावरणीय प्रदूषणको अवस्थामा यस्ता प्रविधिको महत्व झन् बढ्दै गएको भन्दै प्रदर्शनीमार्फत वातावरण संरक्षणप्रति सचेतना फैलाउने प्रयास गरिएको थियो।
त्यसैगरी, विद्यार्थीहरूले स्वचालित सडक बत्ती तथा जलविद्युत् उत्पादनसम्बन्धी मोडेल पनि प्रस्तुत गरेका थिए। सेन्सरको प्रयोग गरिएको स्वचालित स्ट्रीट लाइट प्रणालीमा दिनको उज्यालोमा बत्ती आफैँ बन्द हुने र राति अँध्यारो भएपछि स्वतः बल्ने व्यवस्था देखाइएको थियो, जसले विद्युत् बचत गर्न सहयोग पु¥याउने बताइएको छ। त्यस्तै जलविद्युत् मोडेलमा पानीको बहावले टर्बाइन घुमाएर जेनेरेटरमार्फत विद्युत् उत्पादन हुने प्रक्रिया प्रदर्शन गरिएको थियो।
प्रदर्शनीमा ‘विश्व तापक्रम वृद्धि’ अर्थात् ग्लोबल वार्मिङसम्बन्धी परियोजनाले पनि दर्शकको ध्यान तानेको थियो। विद्यार्थीहरूले पृथ्वीको बढ्दो तापक्रम, हरितगृह ग्यासको प्रभाव तथा त्यसले वातावरणमा पार्ने असरबारे मोडेलमार्फत जानकारी दिएका थिए। हिमनदी पग्लनु, समुद्री सतह बढ्नु, खडेरी र बाढी जस्ता समस्या ग्लोबल वार्मिङका कारण उत्पन्न हुने तथ्यसमेत प्रस्तुत गरिएको थियो।

यसैगरी जलचक्रसम्बन्धी मोडेलमा पृथ्वीमा पानीको प्राकृतिक चक्र-वाष्पीकरण, संघनन र वर्षाको प्रक्रियालाई प्रयोगात्मक रूपमा देखाइएको थियो। वर्षा पानी संकलन प्रणाली (रेन वाटर हार्भेस्टिङ) सम्बन्धी परियोजनामा वर्षाको पानीलाई छानाबाट पाइपमार्फत ट्याङ्की वा भूमिगत संरचनामा संकलन गरी खेतीपाती, सरसफाइ तथा अन्य घरेलु प्रयोजनमा प्रयोग गर्न सकिने उपाय प्रस्तुत गरिएको थियो। यसले पानी अभाव भएका क्षेत्रमा पानी व्यवस्थापनमा सहयोग पुग्ने विद्यार्थीहरूले बताएका थिए।
प्रदर्शनीमा स्मार्ट स्वचालित पानी तान्ने प्रणाली, होलोग्राम प्रविधि, स्वचालित पानी वितरण यन्त्र तथा रिमोट कन्ट्रोल कारजस्ता आधुनिक प्रविधिमा आधारित परियोजनाहरू पनि प्रदर्शन गरिएका थिए। स्वचालित पानी प्रणालीमा सेन्सरको माध्यमबाट पानीको स्तरअनुसार मोटर आफैँ चल्ने र बन्द हुने व्यवस्था देखाइएको थियो भने होलोग्राम प्रविधिमा प्रकाशको परावर्तन प्रयोग गरी त्रि–आयामिक आकृति देखाउने प्रयोग प्रस्तुत गरिएको थियो।
त्यस्तै ज्वालामुखी र सौर्यमण्डलसम्बन्धी मोडेलमार्फत पृथ्वीको भौगोलिक तथा खगोलीय संरचनाबारे जानकारी दिइएको थियो। ज्वालामुखी विस्फोटको प्रक्रिया तथा सौर्यमण्डलका ग्रहहरूको संरचना र परिक्रमा प्रणाली विद्यार्थीहरूले प्रयोगात्मक रूपमा देखाएका थिए।
यसका साथै स्वचालित हात धुने डिस्पेन्सर र ग्यास चुहावट पत्ता लगाउने प्रणालीजस्ता परियोजनाहरू पनि प्रदर्शनीमा राखिएका थिए। सेन्सर प्रयोग गरिएको हात धुने उपकरणले हात नजिक ल्याउँदा साबुन वा स्यानिटाइजर स्वतः निस्कने व्यवस्था देखाइएको थियो भने ग्यास चुहावट पत्ता लगाउने प्रणालीले ग्यासको मात्रा बढेपछि अलार्म बजाएर दुर्घटना हुनबाट बचाउने प्रविधि प्रस्तुत गरिएको थियो।

विद्यालयले आयोजना गरेको उक्त शैक्षिक प्रदर्शनीमा अभिभावक, शिक्षक तथा स्थानीय समुदायका व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनात्मक सोच, अनुसन्धानात्मक क्षमता र व्यवहारिक ज्ञानको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

