काठमाडौं १९ चैत। इन्डोनेसियाको मोलुका सागर क्षेत्रमा आज बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ६:४८ बजे गएको भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको जोखिम बढेको भन्दै अधिकारीहरूले उच्च सतर्कता अपनाउन आह्वान गरेका छन् ।
अमेरिकी भौगर्भिक सर्वेक्षण (USGS)का अनुसार भूकम्पको केन्द्रविन्दु टेर्नेट शहरबाट करिब १२० किलोमिटर टाढा मोलुका सागरमा रहेको थियो । प्रारम्भमा भूकम्पको तीव्रता ७.८ म्याग्निच्युड मापन गरिए पनि पछि त्यसलाई परिमार्जन गरी ७.४ कायम गरिएको हो ।
भूकम्पलगत्तै हवाईस्थित सुनामी चेतावनी केन्द्रले केन्द्रविन्दुबाट एक हजार किलोमिटरभित्र पर्ने फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रमा समुद्री छालहरू आउन सक्ने सम्भावना रहेको जनाएको छ ।
स्थानीय खोज तथा उद्धार टोलीका अनुसार भग्नावशेषले थिचिएर ७० वर्षीया एक महिलाको मृत्यु भएको छ । ती महिला उत्तर सुलावेसीको मिनाहासा क्षेत्रकी बासिन्दा हुन् । भूकम्पका कारण मनाडो शहरमा एक भवन गम्भीर रूपमा क्षतिग्रस्त भएको भिडियो सार्वजनिक भएको छ, जहाँ भवनभित्रका सामग्री बाहिर छरिएका र संरचनाहरू बाङ्गिएको देखिएको छ ।
मुख्य भूकम्पपछि ५.५ र ५.२ म्याग्निच्युडका दुई पराकम्प पनि गइसकेका छन् । राष्ट्रिय भूगर्भ एजेन्सीले थप पराकम्प आउने सम्भावना रहेको चेतावनी दिँदै सर्वसाधारणलाई तटीय क्षेत्र तथा पहिरो जोखिमयुक्त स्थानबाट टाढा रहन र सुरक्षित निकासका संकेतहरू पालना गर्न आग्रह गरेको छ ।
जापानको मौसम विज्ञान एजेन्सीले समेत यस भूकम्पका कारण समुद्री सतहमा सामान्य परिवर्तन हुन सक्ने भन्दै अलर्ट जारी गरेको छ । शिजुओका, ओकिनावा र होक्काइडो क्षेत्रमा यस्तो प्रभाव देखिन सक्ने अनुमान गरिए पनि ठूलो क्षतिको सम्भावना भने कम रहेको जनाइएको छ ।
भूकम्पको केन्द्रविन्दु नजिक पर्ने मनाडो र टेर्नेट शहरहरू क्रमशः सुलावेसी टापु र मालुकु टापु समूहमा पर्दछन् । मोलुका क्षेत्र घना बस्ती भएको टापु क्षेत्र हो, जहाँ दुई लाखभन्दा बढी मानिसको बसोबास रहेको छ ।
‘रिङ अफ फायर’ भनिने उच्च भूकम्पीय जोखिम क्षेत्रमा पर्ने इन्डोनेसियामा यस्ता प्राकृतिक प्रकोपहरू बारम्बार हुने गरेका छन् । सन् २०२२ मा जाभा टापुको सियानजुरमा गएको भूकम्पमा कम्तीमा ६०२ जनाको ज्यान गएको थियो भने सन् २०१८ मा सुलावेसी क्षेत्रमा गएको भूकम्प र सुनामीमा ४ हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । सन् २००४ को हिन्द महासागर भूकम्पले पनि आचे प्रान्तमा ठूलो मानवीय क्षति पुर्याएको थियो ।

