जनकपुरधाम, २९ चैत । लोकतन्त्र प्राप्तिपछि सरकारी सेवामा संघीय सरकारले महिलालाई समेत अवसर प्रदान गरेसँगै लोकसेवा परीक्षाप्रति छोरी(बुहारीको आकर्षण बढ्दै गएको छ ।
पछिल्लो पुस्ताका युवाहरू मात्र जागिर खाने परम्परालाई चुनौती दिँदै तराई-मधेशका छोरी-बुहारीहरूमा लोकसेवा परीक्षाप्रति रुचि बढ्न थालेको छ । पुरुषप्रधान समाजमा पुरुषले मात्र जागिर खाने र महिलाहरू घुम्टोभित्र सीमित भई चुलोचौकोमा केन्द्रित रहने परम्परालाई चुनौती दिँदै मधेश प्रदेशका छोरी-बुहारीहरू पनि उल्लेख्य रूपमा सरकारी जागिरका लागि लोकसेवा आयोगको परीक्षा दिन थालेका छन् ।
“हिजोसम्म यो पुरुषप्रधान समाजले हामीलाई घुम्टोभित्र बस्न बाध्य बनाएको थियो,” नाम नखुलाउने सर्तमा एक महिलाले भनिन्, “तर अब त्यो समय रहेन । हामी पनि शिक्षित छौँ, पुरुषसरह काम गर्न सक्छौँ भन्ने विश्वासका साथ लोकसेवा कार्यालयमा फारम भर्न आएका हौँ ।”
आर्थिक वर्ष २०८१÷०८२ मा लोकसेवा आयोगको जलेश्वर कार्यालयमार्फत विभिन्न पदका लागि मधेश प्रदेशका आठ जिल्लाबाट ४५ हजार ४ सय २० जना महिलाले आवेदन दिएको सूचना अधिकारी विशाल घिमिरेले जानकारी दिनुभयो ।
कार्यालयबाट प्राप्त तथ्यांकअनुसार उक्त अवधिमा सबैभन्दा धेरै दरखास्त मधेश प्रदेशबाटै परेको छ । सो अवधिमा आन्तरिक, खुला प्रतियोगिता, महिला, मधेशी लगायत विभिन्न समूहअन्तर्गत फाराम भरिएका थिए । तीमध्ये राजपत्र अनंकित प्रथम र राजपत्र अनंकित द्वितीय श्रेणीका पदमा सबैभन्दा बढी दरखास्त परेको देखिन्छ ।
जिल्लागत रूपमा दरखास्त संख्या हेर्दा सर्लाहीबाट ६ हजार ६ सय ९२, धनुषाबाट ५ हजार ९ सय ३९, बाराबाट ५ हजार ९ सय ५२, महोत्तरीबाट ६ हजार ९८, रौतहटबाट ४ हजार ७ सय ८३, सप्तरीबाट ४ हजार ७ सय ४३, सिरहाबाट ४ हजार ५ सय ५३ र पर्साबाट ४ हजार ९२ महिलाले आवेदन दिएका छन् ।
लामो समयदेखि अधिकारको लडाइँ लड्दै आएका विभिन्न जातजातिका महिलालाई संघीय सरकारले अवसर प्रदान गरेसँगै उनीहरू चुलोचौकोबाट बाहिर निस्केर लोकसेवा आयोगको परीक्षा दिँदै आत्मनिर्भर बन्दै गएको देखिन्छ । एआईद्वारा निर्मित तस्वीर

