एजेन्सी/ सन् २०१८ को नोभेम्बरमा दक्षिण भारतीय कलाकार विजयले ‘सरकार’ नामक फिल्ममा अभिनय गरेका थिए । यही फिल्मले उनलाई राजनीतिक काल्पनिकीको संसारमा डोर्याएको थियो । फिल्ममा विजय ‘सुन्दर रामास्वामी’को भूमिकामा देखिन्छन् ।
गैरआवासीय भारतीय रामास्वामी सफल व्यापारी हुन्छन् । उनी एउटा मात्र उद्देश्य लिएर भारत फर्किएका हुन्छन्- मतदान गर्न । तर मतदान केन्द्रमा पुग्दा उनले आफ्नो नाममा अर्कैले मत खसालिसकेको थाहा पाउँछन् । त्यसपछि फिल्मको कथा यही घटनाको सेरोफेरोमा अघि बढ्छ ।
निर्वाचनमा हुने धाँधली, राजनीतिक भ्रष्टाचार तथा मतदातालाई केवल देखावटी साधनका रूपमा प्रयोग गरिने प्रवृत्तिमाथि फिल्म केन्द्रित छ । अन्त्यमा सुन्दर रामास्वामी केवल आफ्नो मतका लागि लडिरहेका हुँदैनन्, बरु स्थापित नेताहरूविरुद्ध उम्मेदवार बनेर निर्वाचन जित्छन् ।
त्यो केवल काल्पनिक कथा थियो । दर्शकलाई उद्वेलित पार्दै मनोरञ्जन दिने फिल्मी कथा । तर फिल्म प्रदर्शन भएको आठ वर्षपछि विजय स्वयं राजनीतिमा प्रवेश गरे । कलाकारका रूपमा कमाएको लोकप्रियतालाई उनले राजनीतिक पुँजीमा रूपान्तरण गरे ।
सन् २०२४ को फेब्रुअरीमा उनले फिल्म क्षेत्रलाई थाती राख्दै ‘तमिलागा वेत्रि कझगम’ (टिभीके) नामक पार्टी घोषणा गरे । उनको पछाडि कुनै राजनीतिक घराना वा वरिष्ठ नेताको साथ थिएन । त्यतिबेला दशकौँदेखि प्रभावशाली मानिएका द्रविड मुन्नेत्र कझगम (डीएमके) वा अल इन्डिया अन्ना द्रविड मुन्नेत्र कझगम (एआईएडीएमके) सँग पनि उनले कुनै गठबन्धन गरेका थिएनन् ।
पार्टी स्थापनादेखि चुनावसम्मको दुई वर्षमा टिभीकेले व्यापक संगठन विस्तार गर्यो । २ सय ३४ वटै निर्वाचन क्षेत्रमा बुथस्तरीय गतिविधि सञ्चालन गरिए । सन् २०२४ को अक्टोबरमा भएको पार्टी सम्मेलनले विक्रवन्दी क्षेत्रमा ठूलो जनसहभागिता जुटाएको थियो ।
महिला, विद्यार्थी, पहिलो पटक मतदान गर्ने युवा तथा दैनिक ज्यालादारी गर्ने श्रमिकका मुद्दा समेटेर घोषणापत्र तयार पारिएको थियो । साथै सरकारले गर्ने वाचा र नागरिकले नपाउने सेवा–सुविधाबीचको दूरी घटाउने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको थियो ।
सन् २०२६ मे ४ मा विधानसभा निर्वाचनको मतगणना सुरु हुँदा टिभीकेले सयभन्दा बढी क्षेत्रमा अग्रता लिएको देखियो । सन् २०२१ देखि सुविधाजनक बहुमतसहित सत्तामा रहेको डीएमके टिभीकेभन्दा धेरै मतले पछाडि परेको थियो । आठ वर्षअघि ‘सरकार’ फिल्म रोक्न खोज्ने एआईएडीएमके भने आफ्नो राजनीतिक अस्तित्व जोगाउने संघर्षमै सीमित देखियो ।
सन् २०१९ मा भारतको निर्वाचन आयोगले विजयको फिल्म ‘सरकार’को कथालाई उदाहरणका रूपमा प्रयोग गर्दै कसैले जालसाजीपूर्वक मतदान गरे मतदाताले आफ्नो मत पुनः प्राप्त गर्न सक्ने कानुनी अधिकारबारे जनचेतना फैलाएको थियो ।
त्यतिबेला केवल सन्दर्भका रूपमा प्रयोग गरिएको फिल्मी कथा सन् २०२६ सम्म आइपुग्दा वास्तविकताजस्तै देखिन थालेको छ ।
सन् २०१८ को फिल्ममार्फत विजयले तमिलनाडुका जनतालाई ‘जाऊ र भोट हाल’ भन्ने सन्देश दिएका थिए । उनले आफ्नो मताधिकार प्रयोग गर्न र आफ्नो अनुपस्थितिमा अधिकार खोसिन नदिन आग्रह गरेका थिए ।
तमिलनाडुका जनताले त्यो बेला केवल फिल्म हेरेका मात्र थिएनन्, सम्भवतः मनमनै केही अठोट पनि गरेका थिए । उनीहरूले हलमा ताली बजाए र घर फर्किए ।
आठ वर्षपछि भने तमिलनाडुमा अभूतपूर्व मतदान भयो । यसपटक मतदाता सहभागिता ८५ दशमलव १ प्रतिशत पुगेको थियो, जुन विधानसभा निर्वाचन इतिहासकै उच्च सहभागिता मानिएको छ । ३८ जिल्लामध्ये ३२ जिल्लामा ८० प्रतिशतभन्दा बढी मतदान भयो भने केही क्षेत्रमा ९० प्रतिशतभन्दा माथि मत खस्यो ।
निर्वाचनको दिन मतदान केन्द्र खुल्नुअघि नै मानिसहरू लाइनमा उभिएका थिए । विशेषगरी युवा मतदाताको उत्साह उल्लेखनीय थियो । यसअघि मतदानमा खासै चर्चा नहुने पश्चिमी जिल्लाहरूमा समेत उच्च सहभागिताले पर्यवेक्षकहरूलाई चकित बनाएको थियो ।
कुनै समय काल्पनिक कथामार्फत मताधिकार प्रयोग गर्न प्रेरित गर्ने व्यक्ति यसपटक स्वयं मतपत्रमा थिए । विजयको दुईवर्षे अभियानले नै मतदातालाई मतदानतर्फ आकर्षित गर्यो वा गराएन भन्ने ठोकुवा गर्न नसकिए पनि तमिलनाडुको इतिहासकै उच्च मतदान भएको चुनावमा विजय उम्मेदवार थिए भन्ने तथ्य स्पष्ट छ ।
मतगणनाका क्रममा टिभीके सयभन्दा बढी क्षेत्रमा अगाडि रहँदा सन् २०२१ मा १ सय ५९ सिट जितेको डीएमके यसपटक पछि परेको देखियो । दक्षिण भारतीय राजनीतिमा लामो समय प्रभुत्व जमाएको डीएमके अहिले आफ्नै राज्यमा सान्दर्भिकता जोगाउन संघर्षरत छ ।
फिल्ममा चमत्कार देखाएको आठ वर्षपछि विजयले वास्तविक जीवनमा पनि त्यस्तै कथा लेखेजस्तो देखिएको छ । तर उनका आगामी दिन सहज भने पक्कै हुने छैनन् ।
सिनेमा र वास्तविक राजनीति फरक हुन्छन् । फिल्ममा जस्तो मध्यान्तर र निश्चित अन्त्य राजनीतिमा हुँदैन । तमिलनाडुमा चुनाव जित्न जति सजिलो देखिए पनि शासन सञ्चालन गर्नु त्यसभन्दा कठिन छ । फिल्मी शैलीमा सफलता हासिल गरेका विजयलाई अब जनताले उनका हरेक निर्णय र कदमबाट मूल्यांकन गर्नेछन् ।
(यशस्विनी श्री/इन्डियन एक्सप्रेसबाट)

