जनकपुरधाम, २४ वैशाख । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय, जनकपुरधामले शैक्षिक सत्र २०८२ का लागि हालसम्म १७ करोड २६ लाख ५४ हजार ८ सय ८ रुपैयाँ बराबरका १२ लाख १४ हजार २८ थान पाठ्यपुस्तक बिक्री गरेको जनाएको छ ।
केन्द्रले २०८२ चैत १६ गतेदेखि मधेश प्रदेशअन्तर्गतका पहाडी जिल्ला खोटाङ, ओखलढुंगा, उदयपुर तथा तराईका धनुषा, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट र सिन्धुली जिल्लामा रहेका आफ्ना थोक बिक्रेतामार्फत पाठ्यपुस्तक वितरण गरेको उपप्रबन्धक दीपक दासले जानकारी दिए ।
नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उक्त कार्यालयले सूचीकृत ८६ वटा बिक्रेतामार्फत सम्बन्धित जिल्लामा समयमै पाठ्यपुस्तक पठाउन सफल भएको जनाएको छ । पाठ्यपुस्तक समयमै उपलब्ध भएपछि पहाड तथा तराईका जिल्लाका करिब पाँच लाख विद्यार्थी लाभान्वित भएका छन् ।
लेखाअधिकृत रमेश यादवका अनुसार कुनै पनि विद्यार्थी पाठ्यपुस्तक अभावकै कारण पढाइबाट वञ्चित नहोस् भन्ने उद्देश्यले कक्षा ३, ५, ६, ७, ८, ९ र १० का पाठ्यपुस्तक सम्बन्धित जिल्लामा तीव्र गतिमा पठाउने काम भइरहेको छ ।
नेपालको संविधानले शिक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गरेअनुसार राज्यले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था गरेको छ । सोहीअनुसार केन्द्रले पुस्तक वितरणलाई प्राथमिकतामा राखेको जनाएको छ ।
यद्यपि, कतिपय विद्यालयले निःशुल्क वितरण गर्नुपर्ने पाठ्यपुस्तकका लागि अभिभावकबाट रकम लिने तथा नयाँ पुस्तकको सट्टा पुराना पुस्तक वितरण गर्ने गुनासो आउने गरेको छ । पीडित अभिभावकहरूका अनुसार केही विद्यालयमा यस्ता गतिविधि अझै रोकिएका छैनन् ।
पाठ्यपुस्तक वितरण प्रणालीमा बिक्रेताले विद्यालयसम्म पुस्तक पु¥याउने र विद्यालयले सम्बन्धित पालिकामार्फत भुक्तानी लिने व्यवस्था गरिएकाले पारदर्शितामा सुधार आएको दाबी गरिएको छ । तर, अन्तिम चरणसम्म प्रभावकारी निगरानी आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् ।
केन्द्रका अनुसार गत वर्ष असारसम्म २२ करोड ८८ लाख ४६ हजार ७०९ रुपैयाँ बराबरका १६ लाख ७० हजार ७४१ थान पाठ्यपुस्तक बिक्री गरिएको थियो । सरोकारवालाहरूले समयमै पाठ्यपुस्तक आपूर्ति हुनुले शिक्षाको गुणस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने बताएका छन् । तर, वितरण प्रक्रियामा देखिएका गुनासा सम्बोधन नगरेसम्म निःशुल्क शिक्षाको लक्ष्य पूर्ण रूपमा सफल हुन नसक्ने उनीहरूको भनाइ छ ।

