जनकपुरधाम, २९ वैशाख । मधेश प्रदेशसहित देशका विभिन्न क्षेत्रमा आज मौसम बदली भई मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मधेश प्रदेशका केही स्थानमा आज रातिदेखि मौसम थप सक्रिय हुन सक्ने जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण मौसममा परिवर्तन आएको हो । साथै मध्य तथा पूर्वी भू–भागको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय रेखाले पनि मौसम प्रणालीलाई प्रभावित बनाइरहेको छ ।
हाल कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको मौसमविद्ले बताएका छन् ।
महाशाखाका अनुसार आज राति मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । तराईका एक–दुई स्थानमा हावाहुरीसहित वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
कृषि कार्यमा व्यस्त किसान, यात्रु तथा खुला स्थानमा काम गर्ने सर्वसाधारणलाई विशेष सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । रासस



