जनकपुरधाम, २९ वैशाख । मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजी (मिट) ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ । विद्यालयका ९७ प्रतिशत विद्यार्थी एसईई परीक्षामा उत्तीर्ण भएका छन् ।
विद्यालयका अनुसार शैक्षिक सत्र २०८२/०८३ को एसईई परीक्षामा सहभागी १२६ जना विद्यार्थीमध्ये करिब सय जना विद्यार्थी उत्तीर्ण भएका हुन् । क्याम्पस प्रमुख मनोज साहका अनुसार उत्तीर्ण विद्यार्थीमध्ये चार जनाले ४.० जीपीए प्राप्त गरेका छन् भने ५७ जनाले ए प्लस, ३९ जनाले ए र २३ जनाले बी प्लस ग्रेड हासिल गरेका छन् ।
आधुनिक शिक्षा प्रणाली, प्रविधिमैत्री अध्यापन र अनुशासित शैक्षिक वातावरणका कारण विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्दै आएको स्थानीय अभिभावक तथा शिक्षाप्रेमीहरूको भनाइ छ ।
जनकपुरधाममा शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको मिटले गुणस्तरीय शिक्षा र प्रविधिमैत्री सिकाइमार्फत विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताइएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा मधेश प्रदेशमा ३१ हजारभन्दा बढी विद्यार्थी अवर्गीकृत (नन–ग्रेडेड) भएका छन् । प्रदेशबाट परीक्षामा सहभागी ७६ हजार ३१७ विद्यार्थীমध्ये ४४ हजार ५९२ विद्यार्थी मात्र ग्रेडेड भएका छन् भने ३१ हजार ७२५ विद्यार्थी नन–ग्रेडेड भएका हुन् ।
यस वर्ष देशभर ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्, जुन गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष ६१.८१ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए । राष्ट्रिय रूपमा नतिजामा सुधार देखिए पनि मधेश प्रदेशमा ठूलो संख्यामा विद्यार्थी अवर्गीकृत हुनु भने चिन्ताको विषय बनेको छ ।



