जनकपुरधाम, १ जेठ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा जनकपुरधामस्थित मिथिला इन्स्टिच्यूट अफ टेक्नोलोजी (मिट) स्कूलका विद्यार्थीहरूले धनुषा जिल्लामै उत्कृष्ट नतिजा हासिल गरेका छन् । उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीलाई विद्यालयले बिहीबार एक समारोहबीच सम्मान गरेको छ ।
विद्यालयका अनुसार यस वर्ष एसईईमा १२३ जना विद्यार्थी सहभागी भएका थिए । तीमध्ये चार जना विद्यार्थीले ४.० जीपीए प्राप्त गरेका छन् । ४.० जीपीए हासिल गर्ने विद्यार्थीहरू अंकिता साह, सबिना शर्मा, संजना कुमारी भण्डारी र सृष्टि मण्डललाई विद्यालयले फूलमाला तथा दोसल्ला ओढाएर सम्मान गरेको हो ।

त्यसैगरी, ५७ जना विद्यार्थीले ए प्लस, ३९ जनाले ए र २३ जनाले बी प्लस ग्रेड प्राप्त गरेका छन् ।
विद्यालयले आधुनिक शिक्षा प्रणाली, प्रविधिमैत्री अध्यापन र अनुशासित शैक्षिक वातावरणका कारण हरेक वर्ष उत्कृष्ट नतिजा हासिल गर्दै आएको अभिभावकहरूको भनाइ छ ।
सम्मानित भएका विद्यार्थी संजना कुमारी भण्डारीले विद्यालयको अनुशासन, प्रभावकारी शिक्षा प्रणाली तथा दक्ष शिक्षककै कारण आफू ४.० जीपीए ल्याउन सफल भएको बताइन् । उनले भनिन्, “यस विद्यालयको शिक्षा प्रणालीबाट मधेश प्रदेशले सिक्नुपर्ने धेरै कुरा छन् । अन्य विद्यालयमा पनि यस्तै गुणस्तरीय पठनपाठन होस् भन्ने हाम्रो चाहना छ ।”
विद्यालयका प्रिन्सिपल तथा सञ्चालक मनोज साहले समयअनुसार विद्यालयको पठनपाठन प्रणालीमा निरन्तर सुधार गर्दै शिक्षालाई प्राथमिकतामा राखिएको बताए । उनले स्थापना कालदेखि नै विद्यालय तथा क्याम्पसले शिक्षा क्षेत्रमा छुट्टै पहिचान बनाउँदै आएको उल्लेख गरे ।
उनले भने, “हालसम्म प्राप्त तथ्यांकअनुसार मिट स्कूलका विद्यार्थी धनुषामै उत्कृष्ट नतिजासहित अगाडि रहेका छन् ।”
उनले शिक्षा समाज मात्र नभई राष्ट्रकै मेरुदण्ड भएको उल्लेख गर्दै विद्यालयलाई सफल बनाउन अभिभावक र समाजको महत्वपूर्ण योगदान रहेको बताए ।
जनकपुरधाममा शिक्षा क्षेत्रमा आफ्नो अलग पहिचान बनाएको मिट स्कूलले गुणस्तरीय शिक्षा र प्रविधिमैत्री सिकाइमार्फत विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको शिक्षकहरूको भनाइ छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा मधेश प्रदेशबाट परीक्षामा सहभागी ७६ हजार ३१७ विद्यार्थी मध्ये ४४ हजार ५९२ विद्यार्थी मात्र ग्रेडेड भएका छन् भने ३१ हजार ७२५ विद्यार्थी नन–ग्रेडेड भएका हुन् ।
यस वर्ष देशभर ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्, जुन गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बढी हो ।



