जनकपुरधाम, ५ जेठ । मधेश प्रदेशमा बसोबास गर्ने महिला, दलित, आदिवासी जनजाति तथा यौनिक एवं लैङ्गिक अल्पसंख्यक समुदायका युवालाई अवसर, स्रोत र सुरक्षित कार्य वातावरण उपलब्ध गराउने उद्देश्यसहित “परिवर्तनको आवाज” कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ।
एफसीए नेपाल, दलित लाइभ्स म्याटर ग्लोबल अलायन्स तथा शान्ता फाउण्डेशनको साझेदारीमा आयोजित “परिवर्तनको आवाज ः सृजनशीलता, पहिचान र अभियानमार्फत भविष्य निर्माण” परियोजनाको मधेश प्रदेशस्तरीय शुभारम्भ कार्यक्रम बुधबार सम्पन्न भएको हो ।

युरोपेली संघको सात लाख युरो सहयोगमा सञ्चालन गरिएको उक्त परियोजनाले नेपालको सांस्कृतिक तथा सृजनात्मक क्षेत्रमा सक्रिय विशेषगरी महिला, दलित, आदिवासी जनजाति तथा यौनिक एवं लैङ्गिक अल्पसंख्यक समुदायका युवालाई अवसर, स्रोत तथा सुरक्षित कार्य वातावरण उपलब्ध गराउने लक्ष्य राखेको आयोजकले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका सभामुख रामआशिष यादवले परियोजनाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने ऐतिहासिक यात्रामा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । उनले संविधान संशोधनसम्बन्धी वर्तमान बहससँग समेत परियोजना सान्दर्भिक रहेको उल्लेख गर्दै यसको शुभारम्भलाई समयानुकूल र अर्थपूर्ण पहलको संज्ञा दिएका छन् ।
त्यसैगरी मधेश प्रज्ञा प्रतिष्ठान का अध्यक्ष रामभरोस कापडीले परियोजनाले समावेशिता, पहुँच र पहिचानका सवाललाई थप सशक्त रूपमा उठान गर्ने विश्वास व्यक्त गरेका छन् । उनले यस्ता कार्यक्रमले मधेश प्रदेशमा सांस्कृतिक तथा सामाजिक रूपान्तरणमा सकारात्मक प्रभाव पार्ने बताए।
त्यस्तै दलित विकास समितिका उपाध्यक्ष जितेन्द्र पासमानले भाषा, साहित्य, कला तथा पहिचानका सवालमा मधेश प्रदेशमा अझै विभेद कायम रहेको टिप्पणी गरेका छन् । उनले दलित समुदाय राज्यबाट निरन्तर उपेक्षित रहेको उल्लेख गर्दै दलित समुदायको सीप, क्षमता र रोजगारीका सवालमा राज्य गम्भीर नभएसम्म प्रदेशको समग्र विकास सम्भव नहुने धारणा राखे ।
जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुखले स्थानीय सरकारका तर्फबाट परियोजनालाई स्वागत गर्दै परियोजना अवधिभर आवश्यक सहयोग र सहकार्य जारी रहने प्रतिबद्धता जनाए ।
आयोजक पक्षले तीनवटा डिजिटल प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रस्तुत गरिएको प्रतिवेदनमा परियोजनाले काठमाडौं उपत्यकासहित मधेश र सुदूरपश्चिम प्रदेशमा कला, साहित्य तथा शिल्प संरक्षण र प्रवद्र्धनमा सक्रिय युवालाई आत्मनिर्भर बनाउँदै समग्र सांस्कृतिक तथा सृजनशील क्षेत्रको विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा प्रदेश सरकार, स्थानीय तह, नागरिक समाज, कलाकार, युवा समूह, सञ्चारकर्मी तथा सांस्कृतिक क्षेत्रमा कार्यरत विभिन्न सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो। सहभागी युवा कलाकारहरूले नेपालको सृजनात्मक क्षेत्रलाई रोजगारी, सामाजिक रूपान्तरण तथा पहिचानको सशक्त माध्यमका रूपमा विकास गर्न राज्य, निजी क्षेत्र र नागरिक समाजबीच थप सहकार्य र लगानी आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।



