जनकपुरधाम, १५ जेठ । मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्माले अति विपन्न दलित तथा मुस्लिम समुदायका लागि आवास, स्वास्थ्य, खानेपानी र शौचालय निर्माणसम्बन्धी विशेष योजना अघि सारिएको बताएका छन् ।
राष्ट्रिय तत्मा समाज नेपाल द्वारा आयोजित सम्मान कार्यक्रममा बोल्दै मन्त्री दासले मधेश प्रदेशका १० हजारभन्दा बढी दलित तथा मुस्लिम परिवारलाई लक्षित गरी आवास तथा आधारभूत पूर्वाधार निर्माण कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका छन् ।
उनले युवा शक्तिलाई वैदेशिक रोजगारीतर्फ पलायन हुनबाट रोक्न सीपमूलक तालिम, व्यवसायिक दक्षता तथा सहुलियतपूर्ण ‘स्टार्टअप लोन’ उपलब्ध गराउने तयारीसमेत भइरहेको बताए । विशेषगरी महिला, दलित, पिछडिएका तथा आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गरी स्वरोजगारमूलक कार्यक्रम ल्याइने उनको भनाइ थियो ।
कार्यक्रममा मन्त्री दासले दलित, मुस्लिम तथा अति विपन्न परिवारका लागि पक्की आवास निर्माण, बालबालिकाको शिक्षा, स्वास्थ्य सेवा तथा खेलकुद क्षेत्रमा आकर्षक योजना समेटिएको उल्लेख गरे । उनले आवश्यक सरकारी प्रक्रिया पूरा गरी आगामी बजेट भाषणपछि कार्यान्वयन प्रक्रिया तत्काल सुरु गरिने स्पष्ट पारे ।
“कार्यविधि निर्माण, आवेदन फाराम खुलाउने र आवश्यक प्रक्रिया पूरा भएपछि योजनाहरू कार्यान्वयनमा लैजान्छौं । आवश्यक बजेट ‘रेडबुक’मा समावेश गरिसकिएको छ,” मन्त्री दासले भने ।
राष्ट्रिय तत्मा समाज नेपालका केन्द्रीय अध्यक्ष रामअशिष दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दलित समुदायका अगुवा व्यक्तित्वहरूले प्रदेशमा दलित समुदाय अझै पनि राज्यका विभिन्न निकायबाट वञ्चित रहेको गुनासो गरेका थिए ।

कार्यक्रममा सहभागी वक्ताहरूले मधेश प्रदेशमा करिब १८ प्रतिशत जनसंख्या रहेको दलित समुदायलाई संवैधानिक निकाय तथा राज्यका हरेक तहमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न सरकारसँग माग गरेका थिए ।
सम्मान कार्यक्रममा राजकुमार दास, शंकर दास, कैलास दास, राजदेव दास, रामेश्वर दास, रामपृत दास, पन्नालाल दास, पञ्चलाल दास, रघुनाथ दास, गंगाराम दास, सिकेन्द्र दासलगायतले शुभकामना मन्तव्य दिएका छन् ।



