जनकपुरधाम, ११ असार । मधेश प्रदेशमा समावेशी शिक्षाको अवस्था, चुनौती र सुधारका उपायबारे छलफल गर्न राष्ट्रिय शिक्षा अभियान (एनसीई) नेपाल र सञ्चारकर्मीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जनकपुरधाममा बिहीबार आयोजित ‘समावेशी शिक्षा योजना अध्ययन प्रतिवेदन सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम’ मा सहभागीहरूले शिक्षा क्षेत्रमा पर्याप्त लगानी, समान पहुँच तथा मातृभाषामा शिक्षण–सिकाइको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
एनसीई धनुषाका अध्यक्ष लालबाबु हाथीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले कुल राष्ट्रिय बजेटको कम्तीमा २० प्रतिशत तथा कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४ देखि ६ प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्न माग गरेका छन् ।
कार्यक्रममा सहभागीहरूले शिक्षा क्षेत्रमा अपेक्षित समावेशिता सुनिश्चित हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । उनीहरूले राज्यको शिक्षा नीतिमा देखिएको असंगति र दोहोरो दृष्टिकोणका कारण शिक्षा प्रणाली कमजोर बन्दै गएको बताए । विशेषगरी दलित, मुस्लिम तथा अन्य सीमान्तकृत समुदायका बालबालिका अझै पनि गुणस्तरीय शिक्षा र मौलिक अधिकारबाट वञ्चित रहेको उनीहरूको भनाइ थियो ।
वक्ताहरूले समावेशी शिक्षा सुनिश्चित गर्न छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने, स्थानीय तहमा मातृभाषामार्फत पठनपाठनलाई प्रभावकारी रूपमा लागू गर्नुपर्ने तथा सबै समुदायका बालबालिकाको शिक्षामा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरूले शिक्षा क्षेत्रका रणनीतिक प्राथमिकतामा शिक्षा रूपान्तरण, लगानी वृद्धि, निजीकरणको प्रभाव न्यूनीकरण तथा आपत्कालीन अवस्थामा समेत शिक्षाको निरन्तरता सुनिश्चित गर्ने विषयलाई समेट्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा मधेश प्रदेशमा करिब १८ प्रतिशत दलित समुदायको बसोबास रहेको उल्लेख गर्दै सहभागीहरूले दलित समुदायका बालबालिकाको प्राथमिक तहमा पहुँच केही बढे पनि उच्च शिक्षामा सहभागिता अझै न्यून रहेको बताए । यस्तो असमानता अन्त्य गर्न राज्यले लक्षित कार्यक्रम ल्याउनुपर्ने उनीहरूको माग थियो ।
एनसीई नेपालका मधेश प्रदेश अध्यक्ष लक्ष्मेश्वर मण्डलले समावेशी शिक्षासम्बन्धी अध्ययनका निष्कर्ष सार्वजनिक गर्नुका साथै सञ्चारमाध्यममार्फत शिक्षा क्षेत्रमा समावेशिताको मुद्दालाई प्रभावकारी रूपमा उठाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रममा एनसीई नेपालका उपाध्यक्ष रामप्रवेश साहले सार्वजनिक शिक्षाको सुदृढीकरण र त्यसको प्रभावकारितासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए। त्यसैगरी प्रकाश महर्जनले सञ्चारकर्मीहरूको भूमिका, कार्ययोजना, सफलताका कथा तथा घटना अध्ययन संकलनसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।
यस्तै पिंकी सुनिता बोहरा र नीता गुरुङ लगायतले पनि शिक्षा क्षेत्रमा गरेका अध्ययन तथा अनुभव प्रस्तुत गर्दै समावेशी शिक्षा प्रवद्र्धनका लागि नीतिगत तथा व्यवहारिक सुधार आवश्यक रहेको औँल्याएका थिए ।



