आर्थिक संकट, विज्ञापन बजारको संकुचन, डिजिटल माध्यमको तीव्र विस्तार र राज्यको नीतिगत उपेक्षाजस्ता अनेक चुनौतीका बीच समाचार दैनिक जनकपुर सात वर्ष सफलतापूर्वक पूरा गरी आज आठौँ वर्षमा प्रवेश गरेको छ । यो केवल एउटा पत्रिकाको वार्षिकोत्सव होइन, सत्य, विश्वसनीयता र उत्तरदायी पत्रकारिताप्रति पाठकले देखाएको विश्वासको उत्सव पनि हो ।
सूचना प्रविधिको तीव्र विकाससँगै समाचार उपभोग गर्ने माध्यम र शैलीमा व्यापक परिवर्तन आएको छ । आज समाचार पोर्टल, सामाजिक सञ्जाल, युट्युब र अन्य डिजिटल प्लेटफर्महरूले सूचनाको गति अभूतपूर्व बनाएका छन् । यसले प्रिन्ट मिडियासामु स्वाभाविक रूपमा चुनौती थपेको छ । तर सूचना छिटो प्राप्त हुनु र विश्वसनीय सूचना प्राप्त हुनु एउटै कुरा होइन । यही कारण आज पनि तथ्यमा आधारित, सम्पादकीय उत्तरदायित्व बोकेको र प्रमाणित समाचारका लागि प्रिन्ट मिडियाप्रतिको जनविश्वास कायम छ ।
नेपालमा २०७६ सालको कोरोना महामारीपछि सुरु भएको आर्थिक मन्दी अझै पूर्ण रूपमा हट्न सकेको छैन । मधेश प्रदेशजस्ता औद्योगिक आधार कमजोर भएका क्षेत्रमा यसको असर झन् गहिरो छ । व्यापार(व्यवसाय सुस्त छ, निजी क्षेत्रको विज्ञापन घटेको छ, उद्योग(कलकारखानाको अभावले स्थानीय अर्थतन्त्र चलायमान हुन सकेको छैन । त्यसमाथि स्थानीय तह र सरकारी निकायका विज्ञापनसमेत अधिकांश अवस्थामा केन्द्रीय सञ्चारमाध्यमतर्फ केन्द्रित हुने प्रवृत्तिले स्थानीय पत्रपत्रिकाको अस्तित्व नै संकटमा पारेको छ । यस्ता विषम परिस्थितिमा पनि निरन्तर प्रकाशन हुनु आफैंमा पत्रकारिताप्रतिको प्रतिबद्धताको प्रमाण हो ।
लोकतन्त्र र संघीयताको स्थापना तथा सुदृढीकरणमा स्थानीय सञ्चारमाध्यमको योगदान अस्वीकार गर्न सकिँदैन । जनताको आवाजलाई राज्यसम्म पु¥याउने, स्थानीय मुद्दालाई राष्टिूय बहसमा ल्याउने र जनप्रतिनिधिलाई जवाफदेही बनाउने काममा स्थानीय मिडियाले अग्रपङ्क्तिमा उभिएर भूमिका निर्वाह गरेका छन् । तर विडम्बना, लोकतन्त्रको चौथो अङ्ग भनिने सञ्चार क्षेत्रप्रति राज्यको व्यवहार भने अपेक्षित रूपमा जिम्मेवार देखिएको छैन । स्वतन्त्र प्रेसलाई सशक्त बनाउनु लोकतान्त्रिक शासनको आधारभूत दायित्व हो, तर व्यवहारमा सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने नीतिहरू नै हावी भएका छन् ।
सञ्चारमाध्यमको मुख्य आर्थिक आधार विज्ञापन हो । विज्ञापनबिना कुनै पनि सञ्चार संस्था दीर्घकालसम्म टिक्न सक्दैन । यस्तो अवस्थामा सरकारी विज्ञापन वितरणमा लगाइएका प्रतिबन्ध र विभेदपूर्ण अभ्यासले विशेषगरी स्थानीय तथा प्रिन्ट मिडियालाई गम्भीर संकटमा धकेलेको छ । आर्थिक स्रोतबाट वञ्चित गर्दै स्वतन्त्र पत्रकारिताको अपेक्षा गर्नु व्यवहारिक पनि होइन र लोकतान्त्रिक मूल्यसँग पनि मेल खाँदैन । प्रेस स्वतन्त्रताको संरक्षण केवल कानुनी अधिकारको सुनिश्चितताबाट मात्र सम्भव हुँदैन, त्यसका लागि समान अवसर र निष्पक्ष आर्थिक वातावरण पनि अपरिहार्य हुन्छ ।
यद्यपि चुनौतीका बीच पनि हाम्रो विश्वास डगमगाएको छैन । समाचार दैनिक जनकपुरले विगत सात वर्षदेखि सत्य, निष्पक्षता र जनसरोकारका विषयलाई केन्द्रमा राख्दै पत्रकारितालाई आफ्नो धर्म ठानेर अघि बढेको छ । यही प्रतिबद्धताका कारण हामी आज आठौँ वर्षको यात्रामा उभिएका छौँ । यो उपलब्धि कुनै एक संस्था वा व्यक्तिको मात्र होइन; हाम्रा पाठक, विज्ञापनदाता, शुभेच्छुक, लेखक, संवाददाता र सम्पूर्ण सहयोगीहरूको साझा विश्वास र साथको परिणाम हो ।
अब राज्यले पनि स्थानीय सञ्चारमाध्यमको महत्वलाई व्यवहारमा स्वीकार्नुपर्छ । स्थानीय मिडियालाई कमजोर बनाएर लोकतन्त्र बलियो बन्न सक्दैन । सशक्त, स्वतन्त्र र आर्थिक रूपमा सक्षम सञ्चारमाध्यम नै सुशासन, पारदर्शिता र उत्तरदायी लोकतन्त्रको आधार हुन् ।
आठौँ वर्षमा प्रवेशको यस ऐतिहासिक अवसरमा हामी सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभेच्छुक र सहयोगीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ । आगामी दिनमा पनि सत्य, विश्वसनीय र जनपक्षीय पत्रकारिताप्रतिको हाम्रो प्रतिबद्धता अझ दृढ रहने विश्वास दिलाउँदै यहाँहरूको निरन्तर साथ, विश्वास र सद्भावको अपेक्षा गर्दछौँ ।
ललिता दास
प्रकाशक



